किन बनेन नेपाल ?
नहुनुपर्ने काम धेरै भएका छन् नेपालमा तर हुनुपर्ने कम। यसरी कसरी बन्छ नेपाल ?
देशमा निराशा अलि बढी भएको छ। विकासको चाहना धेरै छ तर स्रोतसाधन कम छ। अनुदानमा भए पनि विकास चाहियो। सजिलो तरिकाले आर्थिक उपार्जनमा भन्दा पनि ‘इजी मनी’ कसरी प्राप्त हुन्छ ? त्यतातिर ध्यान केन्द्रित भएको छ। राज्यलाई तिर्नुपर्ने रकम अर्थात् राजस्व वा कर सकेसम्म तिर्नै नपरे हुन्छ भन्ने मानसिकताले पनि केहीलाई गाँजेको छ। राज्यको सम्पत्ति लुट्न पाए आफूलाई बहादुर सम्झनेहरू पनि छन्। सुशासनलाई हरेक कुराबाट अप्ठ्यारो बनाउनेहरूको पनि कमी छैन।
जसले केही गर्दैन, त्यसले सबैभन्दा चर्को स्वरमा मैले पाए गर्थें भनेर फूर्ति हाँक्ने गर्छन्। गर्न केही नगर्ने र विरोध मात्र गर्ने। यसमै मेरो उच्च कलाकौशल प्राप्त विशेष व्यक्ति हुँ भन्ने ठान्ने अहम् देखिन्छ। सकारात्मक नसोच्ने र नकारात्मक रूपमा बढी प्रस्तुत गर्ने र असम्भव कुराको पछाडि लागेर भड्काउलाई प्रश्रय दिने अर्को नमज्जाको विषय समाजमा छ। अर्कोतर्फ, विचार र व्यवहारमा नमिलाउने तर मैले जे गर्छु त्यो नै अन्तिम सत्य होे भन्ने हठ पनि छ। म नै न्यायाधीश, म नै कानुन, ममात्रै एक स्वघोषित जनप्रतिनिधि, यस्तै मानसिकताले घेरेको अवस्था छ। जनताको कुरा म मात्रै बोल्छु भनेर आत्मगौरव गर्ने यस्तै जनप्रतिनिधिले हो।
समस्या पर्यो भने भाग्ने अनि सजिलो भयो भने यति जाबो त मै गरिहाल्छु नि भन्ने प्रवृत्तिको विकासले सबैजसो क्षेत्रमा समस्या निम्तिएको छ। यसभित्र धेरैले आफ्नो कला प्रस्तुत गरिरहेका छन्। नेता जो देश हाँक्नुपर्ने छन्, उनीहरूले यसो गरिरहेका छन्। जसले दुःख भोगेकै छैन, मेहनत गरेकै छैन, त्यसले चाहिँ सबैभन्दा पहिला परिणामको ‘जश’ पनि मैले पाउनुपर्छ भन्छ। र, अपजश जति अर्काको टाउकोमा बोकाइदिन्छ। सजिलो भयो भने भाग्न सजिलो ! केही अप्ठ्यारो आइलाग्यो भने पनि भाग्न सजिलो ! सजिलो भइन्जेल गन्थनमा लागेर समयको बर्बादी गर्ने यो परिपाटी के कति उचित होला ?
दालभात खाने तर काम नगर्ने बेरोजगारहरूको जत्थाले यस्तै अनेक तिकडम गर्ने गरेका उदाहरण हामीले देखेसुने अनि भोगेकै हो। चाहे त्यो नागरिक जुनसुकै उमेरमा किन नहोस्। युवा बेरोजगार छन् भन्छौं। युवा बेरोजगारभन्दा पनि यस्ता खाले बेरोजगार बढी देख्छु म। युवाले त आफ्नो भविष्यका बारेमा सोच्छ। तर नकारात्मक पस्किनेले आफ्नो भविष्य त यस्तै हो अब अरूको भविष्य बिगार्न पाए हुन्थ्यो भनेर अनेक गलफत्ती गरेको भेटिन्छ। त्यति गरिसकेपछि ठान्छ, यो नै मेरो देन हो, उपलब्धि हो।
अब एउटा कुरा त हामी हेर्नु छ– चाहे अमेरिकी विकासको कुरा, चाहे चिनियाँ विकासको अथवा ब्रिटिस विकासको कुरा। सपनाको देश भनेर भनिएको अमेरिका पनि एक दिनमा बनेको त हैन। त्यस्तै चीन। चाहे जापान बन्या विषय होस् वा ब्रिटेन। अस्ट्रेलियाकै कुरा गरौं वा युरोपियन मुलुककै। लाग्दैन, कुनै पनि यी देश एक दिन वा रातारात बनेका होऊन्। सर्वप्रथम त उनीहरूले बनाउने संस्कार सिकेको हुनुपर्छ। संस्कारको कुरा गर्दा नेपालमा ठ्याक्कै उल्टो लाग्छ।
अर्थात्, नेपालमा बिगार्ने र भत्काउने संस्कार सिकेका छन् जस्तो लाग्छ। चलिआएको चलन हेर्दा जसले बिगार्ने वा भत्काउने संस्कार सिकेको हुन्छ, उसले बनाउने संस्कार सिकेकै हुँदैन। नेपाल यसकारण पनि बनेको छैन भन्न सकिन्छ।
नहुनुपर्ने काम धेरै भएका छन् देशमा तर हुनुपर्ने कम। जसले बनाउने संस्कार सिकेको हुन्छ, उसले परिमार्जन गर्ने संस्कार पनि सिकेको हुन्छ। तपाईं–हामीले देख्छौं नि गरिबले महँगो लुगा लगाउँछ, सम्पन्नले ठिक्कको लगाउँछ। जोसँग हुँदैन, उसले फुइँ छोड्नु पर्ने (देखाउनु पर्ने) हुन्छ कि क्या हो। किनकि यस्ता उदाहरण हजारौं छन् नेपालमा। नेपालको विकास नेपालीले गर्ने हो। नेपालको स्रोतसाधनले भ्याएसम्म गर्ने हो। अलिअलि अरूसँग जसले नेपाललाई माया गर्छ, उसको साथ लिएर गर्ने हो। तर हामी नेपाली सबै कुरा विदेशीबाट पाए हुन्थ्यो भनेर आश गर्नेमा पर्यौं कि कसो ? कहिलेकाहीँ यस्तै लाग्छ। हुँदाहुँदा उत्पादन पनि सबै विदेशबाटै आयात गर्ने हो कि ? भन्ने पनि लाग्छ।
विकास निर्माणको काम पनि सबै विदेशीबाट आश गर्ने हो भने नेपालीले आफ्नो भविष्य बनाउन सक्दैनन्। यसरी त न व्यक्ति बन्छ, न देश। किनकि मगन्तेले आफ्नो भविष्य बारेमा कहिल्यै सोच्दैन। दिनका दिन माग्ने कुरा मात्र सोच्छ। त्यसैले भन्छु, सोच सबैभन्दा ठुलो कुरो हो। हामी नागरिक र देश चलाउनेहरू कुन कुरालाई कसरी सोच्छौं ? यो महत्त्वपूर्ण विषय हो। यसकारण भन्छु, नेपालीले सिर्जनात्मक रूपमा नेपाल निर्माणका निम्ति आफ्नो
क्षमताले भ्याएसम्म मेहनत गरेर अनि पसिना बगाएर देश निर्माण गर्न सकिन्छ। तपाईं जापान जानुभयो भने बूढापाकाहरूले बसमा चढ्दा अथवा सार्वजनिक सवारीसाधनमा चढ्दा सकेसम्म दुईटा सिट ढाक्नेगरी बस्छन्। त्यो युवालाई देखाउँछन्। ‘यो जापान मैले बनाएको हो, तिमीहरूले बनाउन बाँकी छ। त्यसैले जति तिम्रो हिसाब, त्यतिमा तिमी बस। हामी गौरव गर्छौं।’, वृद्धवृद्धाको भनाइ युवालाई यही सन्देशका साथ हुन्छ।
हाम्रा नेपाली युवा कतिसम्म छन् भने स्वदेशमा रहँदा अरूले पकाएको अनि पस्किदिएको भात पनि खान नसक्ने जस्ता हुन्छन्। तर, जब विदेश पुग्छन्, त्यहाँ अर्काको जुठोपुरो सोर्नका निम्ति तयार हुन्छन्। घर पुछपाछ त सामान्य होला, त्यहाँ पुगेपछि चर्पी नै सफा गर्नका निम्तिसमेत तयार हुन्छन्। जब कि उसलाई नेपालमा हुँदा बाबुआमाले हजारचोटि शौचालय सफा गर न बाबु भनेर मायाले भन्दा पनि टेरपुच्छर लगाउँदैनथे। उता पुगेपछि त गाली खानमात्र हो र ? कोर्रा खान पनि तयार हुन्छन् बा ! उल्टै, यही नै मेरो जीवन हो, कर्म हो भन्ने ठान्छन्। यस्तो सोच भएका जोकोहीको विकास कसरी होला ? कस्तो होला ? उसको जीवन कस्तो होला ? यसकारण राष्ट्रप्रति गौरव कामप्रति गौरव र समयलाई सदुपयोग गरेर अघि बढ्नेतर्फ अब चाहिँ सोच्ने कि ?
- पण्डित, पूर्वसामान्य प्रशासनमन्त्री हुन्।