सम्पत्ती राखेर ऋण दिँदा बैंकहरू साहुजीजस्ता भए : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूको ऋण प्रहाव गर्ने प्रणालीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार स्टार्टअप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परियोजनाको मूल्याकंन गरेर मात्रै ऋण प्रहाव गर्नुपर्ने बताए।
उनले सम्पत्ती राखेर ऋण दिँदा बैंकहरू साहुजीजस्ता भएको भन्दै टिप्पणी समेत गरे। 'सम्पत्ती राखेर ऋण दिने होइन, परियोजना धितो राखेर ऋण दिनुपर्यो,'प्रधानमन्त्री ओलीले भने,'साहुजी बैंक होइनन् परियोजनाको मूल्यांकन गरेर ऋण प्रवाह गर्नुपर्यो।'
प्रधानमन्त्री ओलीले स्टार्टअपका लागि अनुकूल वातावरण बनेको भन्दै साना-साना पुजीबाट उत्पादन वृद्धि हुने उद्योगहरूमा लगानी र विस्तार गर्न आग्रह गरे।
सहकारी आफैमा राम्रो भएको बताउँदै प्रधानमन्त्री ओलीले गैरसहकारी तत्वहरू भित्रिदा देशभरका सहकारी डुब्ने अवस्थामा पुगेको बताए। उनले सहकारीलाई वित्तीय अनुशासनमा ल्याउन सरकारले नयाँ ढंगले काम गर्ने बताए।
प्रधानमन्त्री ओलीले भने,' सहकारीमा गैरसहकारी तत्वहरू भित्रिएपछि सहकारी डुब्यो। सहकारी आफैमा राम्रो हो। सरकारले अब सहकारीलाई नयाँ ढंगले अगाडि बढाउँछ। '
प्रधानमन्त्री ओलीले साना-साना पुँजीबाट उत्पादन वृद्धि हुने उद्योगहरूमा लगानी गरेर युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर दिनुपर्नेमा जोड दिए। उनले युवाहरूलाई विदेश पलायन रोक्न उद्यमशीलताको विकास गर्नुपर्ने बताए।