मधेसमा काजकिस्तानकी कालिनोभा
काठमाडौं : एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली मधेस युनाइटेडले पहिलो विदेशी खेलाडीका रूपमा काजकिस्तानकी स्पाइकर कालिनोभा यभजिनियालाई अनुबन्ध गरेको छ । ३५ वर्षीया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै त्यहाँको लिग खेलेको अनुभव छ । उनको उचाई १८० सेन्टिमिटर छ ।
कालिनोभाले मधेस युनाइटेडसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै प्रतियोगिता खेल्न उत्साहित रहेको बताइन् । ‘मधेस प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग खेल्न म नेपाल आउँदैछु र मधेस युनाईटेडबाट खेल्दैछु । हाम्रो टिमलाई समर्थन गर्नुहोला’, उनले भनेकी छन् । मधेस युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोभालाई स्वागत गर्दै उनको अनुभव टोलीका लागि धेरै फाइदा पुग्ने बताइन् ।
मधेस युनाइटेडको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् । यस्तै नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टोलीकी संगम महतो र शान्तिकला तामाङ तथा यू–२० की एलिशा मानन्धर र आशिका क्षत्री छन् । यस्तै हीरा केसी, पूजा थारु र जसना महतो पनि मधेस युनाइटेडको टोलीमा छन् ।
पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउने छन् । इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग आयोजना हुन लागेको हो ।