अन्नपूर्णले थाल्यो स्टार्टअप अभियान
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले ‘स्टार्टअपसँग अन्नपूर्ण’अभियान सुरू गरेको छ । स्टार्टअप व्यवसाय गरिरहेका युवा उद्यमीहरूसँग सहकार्य गरी उनीहरूको व्यवसाय प्रवर्द्धन गराउन अन्नपूर्ण मिडियाले अभियान सुरू गरेको हो।
अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सुरू गरिएको बताए। ‘अहिले स्टार्टअप व्यवसाय गर्ने युवाहरू भोलिका ठूला उद्यमी र मुलुकको आर्थिक विकासको अति महत्वपूर्ण हिस्सा हुन्,'अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले भने,‘ती युवा उद्यमीहरूको हौसला बढाइ उनीहरूका प्रोडक्टहरूको बजारीकरणका लागि प्रोडक्टको ब्रान्डिङ एवं केयरिङ गरी व्यावसाय प्रवर्द्धन गराउन हामीले यो अभियान सञ्चालन गरेका हौं ।’
उनका अनुसार यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन् । नेटवर्कले हाल नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक,अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम,एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ ।
बस्नेतका अनुसार यो अभियानमा सहकार्य गर्ने स्टार्टअप कम्पनीहरूले अन्नपूर्ण पोस्ट्मा प्रोडक्ट परिचय,द अन्नपूर्ण एक्सप्रेसमा कम्पनी सञ्चालकको प्रोफाइल,रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जमा ३० मिनेट प्रोडक्ट र कम्पनी परिचय,नेटवर्कको सोसियल साइडमा प्रोडक्ट भिडियो म्यागेजिन,स्टार्टअपको अन्तर्राष्ट्रिय बजारीकरणलगायतका सुविधाहरू पाउनेछन्।