गोसाइँकुण्ड र पार्वतीकुण्डमा मेला सम्पन्न
रसुवा : वर्षेनि जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँ कुण्ड पुगेका भक्तजन मेला सकेर फर्केका छन्। यस वर्ष पार्वतीकुण्ड र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ।
जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाले बताए। नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको खनालले बताए।
लाङ्टाङ राष्ट्रिय निकुञ्जले २४सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका थिए। तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुन्चे, हिमालय उद्धार संघ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा बढी असुलेका कारण आफूहरू ठगिएको यात्रुको गुनासो गरे। समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्यात पार्वतीकुण्डमा जनैपूर्णिमा मेला भर्न ४ हजार तीर्थयात्रीहरू पुगेका थिए।
पार्वतीकुण्डमा रसुवाको नौकुण्ड, कालिका, हाकु, ग्रे, टिमुरे, स्याफ्रु, वृद्विम, धुन्चे भार्खु, चिलिमेलगायत गत्लाङबासी, धादिङ, काठमाडौँ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक स्थानबाट तीर्थयात्री पुगेका थिए। आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त कुण्ड पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेपछि पानीको खोजी गर्ने क्रममा पार्वती गोसाईंकुण्ड नजिकैको यही कुण्ड पुगेर स्नान गरेको किंवदन्ती रहेको छ।
जनैपूर्णीमाको दिन प्रकृतिको पूजा गर्ने र धामी झाँक्रीहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पूजा गरे। कालिकाबाट कलश यात्रा टोली कुण्डमा पुगेर भजन तथा छत्रनाच गरेका थिए। स्थानीय वडा अध्यक्ष सुरेन्द्र तामाङका अनुसार हामीले जनैपूणिर्मा मेला आउनु एक सातादेखि नै कुण्ड लगायत वरपर सरसफाइदेखि मेलामा आउने तिर्थालुका लागि सहज होस भनेर गाँस वासको व्यवस्थापन चुस्तदुरूस्त बनाएका थियौ । पुर्णिमाको दिन र रातभर गीत गाएर नाच्ने चलन रहेको छ।
यसवर्ष कालिका गाउँपालिकाबाट कलश यात्रा सहित छत्र भजन टोली उत्तरगयादेखि कालिका, गोसाइकुण्डहुँदै पार्वतीकुण्ड यात्रा गरे। उनीहरुले कुण्डमा पुजाआजा र तथा छत्र भजन र नाच प्रस्तुत गरेका थिए। पर्यटकीय क्षेत्र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ । वरिपरिका गाउँबाट त्यहाँ पनि १ हजार भन्दा धेरै यात्री पुगेको स्थानीयले बताए।