दुग्ध उत्पादक किसानले पाएनन् १४ करोड भुक्तानी
डीडीसीले धनकुटा र तेह्रथुमका १७ दुग्ध संकलक सहकारी संस्थालाई १३ करोड ९३ लाख २९ हजार भुक्तानी दिन बाँकी
धनकुटा : दुग्ध विकास संस्थान (डीडीसी)बाट धनकुटाका दुग्ध उत्पादक किसानले विगत ९ महिनादेखि भुक्तानी पाएका छैनन्। दुग्ध उत्पादक जिल्ला सहकारी संघ धनकुटाको तथ्यांकअनुसार गत वर्षको मंसिर १ गतेदेखि २०८१ असार मसान्तसम्ममात्रै डीडीसीले धनकुटा र तेह्रथुमका १७ दुग्ध संकलक सहकारी संस्थालाई १३ करोड ९३ लाख २९ हजार रुपैयाँ भुक्तानी दिन बाँकी छ।
यी दुग्ध संकलक सहकारी संस्थाले धनकुटा र तेह्रथुमका करिब पाँच हजार किसानले उत्पादन गरेको दूध संकलन गरी डीडीसीलाई बिक्री गर्दै आइरहेको छ। डीडीसीले बक्यौता रकम भुक्तानी नगर्दा दुग्ध उत्पादक किसान पेसावाटै विस्थापित हुने अवस्थामा पुगेको दुग्ध उत्पादक जिल्ला सहकारी संघ धनकुटाका सचिव रोमबहादुर बाजिम्पाकले बताए।
१७ वटा दुग्ध सकलक सहकारीमध्ये धनकुटाका १५ र तेह्रथुमका दुई सहकारी संस्था छन्। डीडीसीबाट भुक्तानी नपाउँदा ती सहकारीहरूले किसानलाई भुक्तानी दिन पाएका छैनन्। पछिल्लो साउन महिनाको समेत संस्थानले सहकारी संस्थालाई भुक्तानी गरेको छैन। यो तथ्यांक जोड्दा बक्यौता रकम बढेको सचिव वाजिम्पाकले बताए।
विगत ९ महिनाको अवधिमा भुक्तानीको लागि विभिन्न चरणमा आन्दोलनसँगै सम्झौता गरे पनि भुक्तानी नपाएको उनी बताउँछन्। डीडीसीबाट सगरमाथा चिस्यान केन्द्र सिधुँवाले असार मसान्तसम्म २ करोड ३३ लाख १० हजार, सल्ले दुग्ध उत्पादक संकलन सहकारी सस्थाले १ करोड ७६ लाख ९ हजार, हात्तीखर्क बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १ करोड ६७ लाख ९१ हजार रुपैयाँ भुक्तानी लिन बाँकी छ।
त्यस्तै, चञ्चलादेवी बहुउदेश्यीय सहकारी संस्थाले १ करोड १० लाख २० हजार, पाथीभरा दुग्ध उत्पादक सहकारी संस्थाले ६७ लाख ३५ हजार, श्रीकृष्ण सहकारी संस्था लिमिटेडले ३६ लाख ५ हजार, मकालु दुग्ध उत्पादक सहकारी संस्थाले ९३ लाख ५९ हजार, दुग्ध उत्पादक सहकारी संस्थाले १६ लाख ५३ हजार, कामधेनु दुग्ध उत्पादक सहकारी संस्थाले २ लाख ४७ हजार, सरस्वती दुग्ध उत्पादक सहकारी संस्थाले ५५ लाख २२ हजार, कालिकादेवी दुग्ध उत्पादक सहकारी संस्थाले २ लाख ५ हजार, आरती दुग्ध उत्पादक सहकारी संस्थाले १ लाख ९४ हजार, जलशिद्ध दुग्ध उत्पादक सहकारी संस्थाले ३४ लाख २९ हजार, लक्ष्मी दुग्ध उत्पादक सहकारी संस्थाले १३ लाख ६० हजार, पौडेलटोल गाई फर्मले ७१ लाख ५३ हजार रुपैयाँ भुक्तानी लिन बाँकी छ।
यसैगरी, तेह्रथुमको छथर शुक्रबारे सहकारी संस्थाले १ करोड ४८ लाख ५ हजार, तीनजुरे दुग्ध उत्पादक सहकारी संस्थाले १ करोड ६३ लाख २४ हजार रुपैयाँ दुग्ध विकास संस्थानबाट भुक्तानी लिन वाँकी छ।