क्यानडामा नेपाली साहित्योत्सव

क्यानडामा नेपाली साहित्योत्सव

विन्डसर (क्यानडा) : नेपाली भाषा–साहित्यको मोह र महत्व प्रवासमा कति धेरै हुन्छ भन्ने यहाँको एउटा साहित्य उत्सवले देखाएको छ। साहित्य परिषद् भुटानको ३०औं वार्षिकोत्सव विभिन्न साहित्यिक एवं सम्मानपूर्ण गतिविधिसाथ क्यानडाको विन्डसर, ओन्टारियोमा दिनभर भव्यतापूर्वक सम्पन्न भयो।

नेपालीभाषी विद्वान् एवं साहित्य अनुरागीहरूको बाक्लो सहभागिता रहेको कार्यक्रममा नेपाली भाषा–साहित्यमाथि विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै तिनमा विस्तृत विवेचनासमेत गरिएको थियो। 

कार्यक्रममा डा. लक्ष्मीनारायण ढकालले ‘भाषाको समस्या र समाधानको दिशा’, भक्त घिमिरेले ‘देश सम्झने प्रस्तावना’ र भोला सुवेदीले ‘हाम्रो भाषा संस्कृति र पहिचानको लक्ष्य चिन्तन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। बाल प्रतिभा क्षितिज गौतम र निकुञ्ज आचार्यले कविता वाचन गरेका थिए। रिया र रिदम रिजालले ‘फूलको आँखामा’ गीत प्रस्तुत गरेका थिए। 

स्व. देविभक्त लामिटारेकृत ‘दन्किँदो भुटान’, बीपी शर्माकृत ‘म सिंगै हराउन लागिरहेको छु एउटा शहरभित्र’, तुम्बेहाङ लिम्बूकृत ‘आगोको बिउ’ र हेम गुरगाईंद्वारा अनुदित पुस्तक ‘दी प्लेग– विटनेस’ को विमोचन गरिएको थियो। लेखक र प्रकाशकहरूले भुटानी साहित्यको विकास र संरक्षणमा नेपाली भाषी भुटानी पाठकको महत्वबारे प्रकाश पारेका थिए।

कार्यक्रममा प्रहेलिका उपन्यासका लागि जेएन दाहाललाई ‘हिमटीका आख्यान पुरस्कार’ प्रदान गरिएको थियो। जसमा एक हजार एक सय डलर नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा भुटानी समुदायका विभिन्न क्षेत्रका योगदानकर्तालाई सम्मानित गरिएको थियो।

अर्जुन प्रधानलाई पत्रकारिता, केशव बैरागी माइलोलाई साहित्य तथा भाषा सम्पादन, अर्जुन रसाइलीलाई सांगीतिक क्षेत्र, कृष्ण दंगाल र गोमा अधिकारीलाई नेपाली कक्षा संचालन तथा आरबी खड्का र डीपी वस्तीलाई गीत, संगीत र साहित्यमा योगदान पुर्‍याएकामा परिषद्ले सम्मान गरेको हो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) की पूर्वअध्यक्ष गीता खत्री र संस्थाका अध्यक्ष खगेन्द्र गौतमले सम्मानपत्र प्रदान गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.