बागमतीमा विज्ञान प्रविधि नवप्रवर्तन सम्बन्धी विधेयक प्रमाणीकरण
हेटौंडा : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहीबार विज्ञान प्रविधि नवप्रवर्तन सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। २०८१ साउन १६ गते प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुख समक्ष पेश भएको विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक देवकोटाले प्रमाणीकरण गरेका हुन।
प्रमाणीकरण भएपछि अब यो विधेयक ‘विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१’ को नाममा रहनेछ। विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा गरिने लगानीबाट विकसित, प्रविधियुक्त, गुणस्तर र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउँदै प्रदेशको समृद्धिमा योगदान पुर्याउने मूलभूत उद्देश्यले यो विधेयक निर्माण गरिएको हो।