नेतृत्वबारे अहिल्यै बहस गर्ने बेला भएको छैन : माओवादी प्रवक्ता सापकोटा
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टीको विचारलाई सशक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सम्पन्न बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठकमा उनीहरूले पार्टीभित्र उन्नतस्तरको बहस सिर्जना गर्दै त्यसलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए।
काठमाडौं उपत्यकामा नयाँ कार्यक्रम विकास गर्नुपर्ने, सूचना प्रविधिका साथै युवाहरूलाई जोड दिँदै कार्यकर्तालाई आत्मनिर्भर बनाउनुपर्ने लगायतका सुझाव आएको उनले बताए। उनले पार्टी फुटको तरंग हल भइसकेको भन्दै अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताए।
सापकोटाले सदनलाई प्रभावकारी बनाएर आवश्यक परे सडक संघर्षको कार्यक्रम तय गर्नुपर्ने लगायतका सुझाव आएको पनि बताए। उनले सबै परामर्शको सुझावका आधारमा केन्द्रीय समितिले नयाँ योजनाका साथ निर्णय गर्ने उल्लेख गरे।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई-दुई दिन परामर्श बस्ने निर्णय हालै बसेको स्थायी समिति बैठकले गरेको थियो। सोहीअनुसार क्रमशः उपत्यका विशेष तथा सम्पर्क समन्वय, गण्डकी प्रदेश, सुदुपश्चिम प्रदेशलगायतको परामर्श बैठक बैठक बस्ने माओवादीले जनाएको छ।