संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डे भारत प्रस्थान
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारत प्रस्थान गरेका छन्। भारतको गुजरतामा शुक्रबारबाट हुने तीन दिने आठौं धर्म-धम्ब सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
भारत फाउन्डेसनको पहल एवं गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा हुन लागेको धर्म-धम्म सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताहरूबीच निकट रहेका विचारहरूमाथि विमर्श हुने जनाइएको छ।
सम्मेलनमा भूटान, श्रीलङ्का र नेपाललगायतका देशका मन्त्रीहरूको सहभागिता रहनेछ। यसपटकको धर्म-धम्म सम्मलेनको नारा ’धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ। सम्मेलनले शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म-धम्म बीचको साझा विचारहरूलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म-धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ। उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने भएका छन्। आठौं अन्तर्राष्ट्रिय धर्म-धम्म सम्मेलन २०२४ मा १८ देशका तीनसय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।