राजधानीमै माओवादी ‘महाकमजोर’
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सम्पन्न बैठकमा पार्टी अध्यक्ष प्रचण्डको चर्को आलोचना गरिएको छ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टी नेतृत्वलाई उपत्यकाका लागि विशेषखालको कार्यक्रम बनाउन माग गरेका छन्। युवापुस्ताका मुद्दालाई सम्बोधन गर्न चुक्दा संघीय राजधानीको केन्द्र काठमाडौं, ललितपुर र भक्तपुरमा माओवादी ‘महाकमजोर’ भएकोे माओवादीको बागमती प्रदेशस्तरीय बैठकले निष्कर्ष निकालेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार सम्पन्न बैठकमा पार्टी अध्यक्ष प्रचण्डको चर्को आलोचना गरिएको छ। पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले उपत्यकाको पार्टी सबालमा बैठकमा गहिरो छलफल भएको पुष्टि गरे। उठाइएका विचार, विमर्श र परामर्शलाई केन्द्रीय समितिको बैठकबाट समेटेर नयाँ कार्यक्रम र कार्यदिशा लागिने छ।
प्रवक्ता सापकोटाले बैठकमा विचार, राजनीतिक कार्यदिशामा अपग्रेड गर्नु मुख्यजोड दिइएको थियो। उनले भने,‘काठमाडौं उपत्यकामा विशेष ढंगले सोचेर नयाँ कार्यक्रम विकास गर्नुपर्ने, आइटी र युवालाई ध्यान दिए उत्पादनको अभियान चलाउनुपर्ने माग उठेको छ।’
बैठकमा ८५ जनाले धारणा राखेका थिए। पार्टी नेतृत्वको सवालमा उठेका विवाद समाधान भइसकेको प्रबक्ता सापकोटाले दावी गरे। ‘पार्टी नेतृत्व हस्तान्तरणको सवालले तरंग पैदा भएको थियो। त्यो हल नै भइसक्यो। सहमति भइसक्यो’, उनले भने, ‘त्यो विषयमा आगामी बैठकमा पनि छलफल चल्दै जान्छ। पार्टी फुटाउँछ भन्ने भ्रम खारेज नै भइसक्यो भन्ने कुरा अध्यक्षजीले भन्नुभएको छ।’
माओवादी केन्द्रको स्थायी समिति बैठकबाट पार्टीलाई एक ढिक्का बनाउने निर्णय भएको प्रवक्ता सापकोटाले बताए। ‘अन्तरसंघर्षको समय होइन् यो, वर्ग संघर्षको समय हो’, उनले भने, ‘बरु सदन र सडकलाई प्रभावकारी बनाउनुपर्छ त्यसमा सबैको सहमति भइसक्यो। पार्टी एकताबद्ध हुनुपर्छ। नेतृत्वका बारेमा छलफल बहस गर्नुपर्छ।’