बाढीपहिरो विस्थापितलाई गरियो स्थानान्तरण
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ पिस्कर बुस्लुङखोला बाढी पीडितलाई स्थानान्तरण गरिएको छ। बुस्लुङखोलाको बाढीले दर्जन घर जोखिममा परेका छन्। अविरल वर्षासँगै आएको बाढीका कारण घरहरू जोखिममा परेका हुन्। त्यसमध्ये उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा टेन्ट हालेर स्थानान्तरण गरिएको छ।
बाढी पहिरोबाट उच्च जोखिममा परेका मनमाया थामी, बबिन्द्र थामी, बालकुमार थामी र सुवास थामीको परिवारलाई पाटेडाँडाको सुरक्षित जग्गामा टेन्ट हालेर सारिएको वडा अध्यक्ष टेकबहादुर गुभाजुले जानकारी दिए। गाउँपालिका, वडाका जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय जनताका सहभागितामा विस्थापित परिवारलाई उद्धार गरी टेन्ट निर्माण गरेर सारिएको हो।
विस्थापित परिवारको त्यहाँ बाहेक अन्यत्र कत्तै जग्गाजमीन नभएकाले पाटेडाँडामा अरुको जग्गाको बाली काटेर टेन्ट हालेर सारिएको गुभाजुले बताए। विस्थापित परिवारलाई हिउँदमा सुरक्षित स्थानमा जग्गा खरीद गरी स्थानीय सरकारले स्थायी आवास निर्माण गरिदिने अध्यक्ष गुभाजुको भनाइ छ।
विस्थापित परिवारलाई चार वटा टेन्ट हालेर राखिएको छ। बाढीपहिरोबाट पिस्कर उच्च जोखिममा रहेको वडा हो। गत वर्ष पनि ठाडोखोलाको पहिरोले एक युवकको ज्यान गएको थियो।