बालेनदेखि ट्रम्पसम्म एआई दुरुपयोगको मारमा

बालेनदेखि ट्रम्पसम्म एआई दुरुपयोगको मारमा
सांकेतिक तस्बिर

 काठमाडौं :

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलको फोटो भएको एक भिडियो केही दिनअघि सामाजिक सञ्जालमा ‘भाइरल’ भयो। साह र डंगोलको चरित्रहत्या हुने गरी भिडियोमा क्लोज दृश्य राखिएको छ। एआई प्रविधि दुरुपयोग गरेर बनाइएको यो भिडियोविरुद्ध उपमेयर सुनिता डंगोलले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्। ब्युरोले घटनाको अनुसन्धान गरिरहेको छ।
  • सामाजिक सञ्जाल एक्समा अमेरिकी पूर्वराष्टपति डोनाल्ड ट्रम्प र राष्ट्रपतिका प्रत्याशी कमला ह्यारिसको भिडियो भाइरल छ। उक्त भिडियोमा फोटो जोडेर अपाच्य दृश्य समेटिएका छन्। प्रविधिको दुरुपयोग गरेर बनाइएको यो भिडियोमा कुनै सत्यता छैन।
  • यो भिडियो हेरिसकेपछि वरिष्ठ साहित्यकार तथा लेखक खगेन्द्र संग्रौलाले एक्समा लेखेका छन्, ‘कृत्रिम बुद्धिको यसरी दुरुपयोग हँुदै जाँदा समाज र संस्कृतिको दुर्गति कतिसम्म होला ? 

एआई प्रविधि दुरुपयोग गर्ने बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हो। साइबर ब्युरोका अनुसार उनले विभिन्न राजनैतिक व्यक्तिका चरित्रहत्या हुनेगरी अडियो भिडियो सामग्री सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा विशिष्ट व्यक्तिहरूप्रति गाली बेइज्जती गर्दै, भिडियो पोस्ट गरेका थिए। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।

बाजुराका रावत सिन्धुपाल्चोकको एक फार्मेसी पसलमा काम गर्थे। उनले फार्मेसीमा बस्दै गर्दा विभिन्न उच्चपदस्थ व्यक्तिहरूको फोटो पठाउँदै एआई प्रविधिलाई निर्देशन दिने गर्थे। ब्युरोका एक प्रहरी अधिकृतका अनुसार मेयर उपमेयरको गलत भिडियो बनाएर सार्वजनिक गरेको हुन सक्ने अनुमान छ। उनको मोबाइलमा अन्य उच्च पदस्थ व्यक्तिको फोटोसमेत फेला परेको छ। 

फार्मेसी पढेका रावतले मोबाइलमा एआई प्रयोग गरेर बनाएका अन्य फोटोहरू पनि राखेका थिए। उनले पछिल्लो डेढ महिनादेखिमात्रै एआई प्रविधि दुरुपयोग गरेर फोटो भिडियो बनाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

प्रविधिको गलत प्रयोग

प्रविधिको प्रयोग गरेर तपाईंले कसैको फोटो दुरुपयोग गर्दै हुनुहुन्छ ? वा बनाउँदै गरेको भिडियोमा काटकुट पारेका अरूका तस्बिर जोड्दै हुनुहुन्छ ? ख्याल गर्नुस् है कानुनी झमेलामा पर्नुहोला। नेपाल प्रहरीको साइबर ब्युरोले एआई प्रविधिको दुरुपयोग गर्नेविरुद्ध निगरानी बढाएको छ।

ब्युरोका उपनिर्देशक दीपकराज अवस्थीका अनुसार सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स ‘एआई’ प्रविधिको दुरुपयोग गर्ने घटना बढिरहेको छ। यसले गर्दा सामाजिक सञ्जालमा व्यक्तिगत विषयहरू छरपस्ट भइरहेका छन्। राजनैतिक नेता, कलाकार, सामाजिक अभियन्ता तथा विभिन्न व्यक्तिहरू निसानामा पर्ने गरेका छन्।

अवस्थी भन्छन्, ‘प्रविधिको विकाससँगसँगै नयाँनयाँ सामाजिक प्लेटफर्महरू बनिरहेका छन्। एआई, च्याट जीपीटीलगायतका प्लेटफर्महरू सीप सिक्न तथा ज्ञानआर्जन गर्न अति उपयोगी छन्। तर गलत मानसिकताका व्यक्तिहरूले यसको दुरुपयोग गरी कुनै संगठन वा व्यक्तिलाई विशेष लक्षित गरी चरित्रमा निर्मम आघात पुर्‍याउने काममा सक्रिय भएका छन्। अतिरञ्जित तवरबाट कपोलकल्पित, भ्रामक विषयमा श्र्रव्यदृश्य सामग्री उत्पादन तथा प्रचारप्रसार गरी, पारिवारिक, सामाजिक, राजनैतिक चरित्रहत्या गर्ने गराउनेजस्ता कार्य बढिरहेका छन्।

साइबर ब्युरोका अनुसार एउटाको टाउकोमा अर्कोको शरीर जोड्ने, सामाजिक सञ्जालमा अपलोड गरेका भिडियोहरूमा गलत मनशाय राखी दुरुपयोग गर्ने र चरित्रहत्या गर्नेजस्ता कार्यहरू धेरै बढेका छन्। यस्ता कार्यविरुद्ध ब्युरोमा उजुरी आउने क्रम पनि बढिरहेका छन्। यस्तै प्रविधिको दुरुपयोग गरेर ठगी तथा अन्य अपराध गर्नेको संख्या पनि बढ्दै छ। ब्युरो प्रवक्ता अवस्थी भन्छन्, पछिल्लो समय हाम्रो समाज पनि नकारात्मक बाटोमा गएको देखिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.