बेलायतमा आप्रवासी विरोधी समूहबाट नेपालीको रेस्टुरेन्टमा आगजनी
लन्डन : पछिल्लो समय बेलायतमा फैलिएको जातीय घृणाप्रेरित अपराधको निसानामा यहाँका नेपालीसमेत परेका छन् । जातीय घृणा फैलाएर देशैभर अराजक हूलदंगा एवं प्रदर्शन गरेका कट्टर दक्षिणपन्थीहरूले एक जना नेपाली व्यवसायीको रेस्टुटेन्ट तथा पबमा आगजनी गरिदिएका छन्् ।
नर्दन आयरल्यान्डको बालीक्लेयर रोड, न्युटाउन आबीस्थित रेलवे बार एन्ड स्टिम डाइनिङमा बुधबार मध्यरातमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको सञ्चालक अब्जन आचार्यले जानकारी दिए ।
रेस्टुरेन्ट बन्द रहेको बिहान करिब १ः५० बजेको समयमा गरिएको आगजनीबाट रेस्टुरेन्ट जलेर पूर्ण रूपमा क्षतिग्रस्त बनेको उनले बताए । आगजनीपछि पबको भित्तामा ‘मुस्लिम आउट’ लेखिएको पाइएको छ । प्रहरीले घटनालाई जातीय उत्प्रेरित घृणाजन्य अपराध भनेको छ । दक्षिणपन्थी समूहले आगजनी गरेको बताउँदै यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बागलुङ स्थायी घर भएर सन् २००६ देखिदेखि नै बाबुआमासँग बेलायत बस्दै आएका आचार्यले झन्डै ६ महिनाअघि उक्त व्यवसाय सञ्चालनमा ल्याएका थिए । पब तथा रेस्टुरेन्ट गरी झन्डै १ सय ८० जना ग्राहक क्षमताको उक्त व्यवसायमा आफ्नो करिब १ लाख पाउन्ड लगानी परेको उनले सुनाए ।
आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि अहिले आफ्नो पब र रेस्टुरेन्ट बन्द गर्नुपरेको आचार्यले बताएका छन् । भवनसमेतमा ठूलो क्षति भएका कारण अब सोही ठाउँमा पुनः सञ्चालन गर्न असम्भव रहेको उनको भनाइ छ ।
आफूलाई व्यक्तिगत रूपमा निसाना गरिएको भन्दा पनि समुदायप्रतिको जातीय घृणाको सिकार आफू बनेको अनुभव आचार्यले गरेका छन्् । मेरो छालाको रंग, जात, धर्म आदिलाई आधार बनाएर आफैंमाथि यति ठूलो हिंसा होला भन्ने त कल्पनासमेत थिएन, नर्दन आयरल्यान्डमै हुर्किएका आचार्यले अन्नपूर्ण पोस्ट््सँग भने, घटनाले निकै दुःखी बनाएको छ । तर आफ्नो नियन्त्रणभन्दा बाहिरको घटना भएकाले धेरै चिन्तित वा विचलित नबनी अगाडि बढ््नुपर्छ भन्ने सोंच बनाएको छु ।
नेपाली कम्युनिटी नर्दन आयरल्यान्डका पूर्वअध्यक्षसमेत रहेका आचार्यको व्यवसायीमाथि भएको जातीय घृणाप्रेरित घटनाले स्थानीय नेपालीहरू स्तब्ध बनेका छन्। आगजनी गरिएको आचार्यको रेस्टुरेन्ट नजिकै अर्को रेस्टुरेन्ट सञ्चालन गर्दै आएका गुल्मीका तुल्सीराम पौडेल असुरक्षित महसुस भएको बताउँछन्। हाम्रो नजिककै साथीले सञ्चालन गरेको रेस्टुरेन्टमा भएको घटनाले हामीलाई निकै दुःखी बनाएको छ । त्यसमाथि अब कतै हामीहरू र हाम्रो व्यवसायमाथि पनि यस्तै हुने हो कि भन्ने भय पनि सिर्जना भएको छ, उनले भने ।
नर्दन आयरल्यान्डमा अहिले झन्डै एक सय परिवार हाराहारीमा नेपालीको बसोबास छ । यसअघि नेपालीमाथि नै सिधा प्रहार हुने गरी कुनै पनि जातीय घृणाका घटना नभएको स्थानीय नेपालीहरू बताउँछन् ।
बेलायतमा यसअघि पनि पूर्वगोर्खा परिवारका वृद्धवृद्धाहरूमाथि जातीय घृणा उत्प्रेरित गालीगलौज तथा दुव्र्यवहारका केही घटना भएका थिए । तर पछिल्लो केही सातादेखि फैलिएको दंगाका क्रममा भएका आक्रमणहरूमा भने कोही नेपाली परेको जानकारी थिएन । यसअघि उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा गत जुलाई २९ मा एक १७ वर्षीय युवाले छुरा प्रहार गरी तीन बालिकाको हत्या गरेपछि दक्षिणपन्थी समूहले जातीय हिंसा फैलाएको थियो ।
एक साता लामो हिंसात्मक दंगाका क्रममा आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर आक्रमण गरिएको थियो । हिंसात्मक दंगामा संलग्न १ हजार २४ जनालाई पक्राउ गरिएको र ५ सय ७५ लाई अभियोग लगाइएको प्रहरीले जनाएको छ ।
बालिका हत्यामा संलग्न युवा शरणार्थी र मुस्लिम भएको गलत हल्ला फैलिएपछि आप्रवासी र मुस्लिमविरोधी हिंसात्मक प्रदर्शनहरू भएका थिए ।