यो मुद्दाको फैसला
वर्तमानलाई पैसा तिरिरहनुपर्छ मलाई किन
के मैले यो समय
भाडामा लिएको हुँ ?
मैले हेर्न खोजेको मान्छेले हाँसेको
किन विज्ञापनजस्तो छ यस बेला ?
म मरेको छैन
किन मैले खोजी रहनुपर्छ आफूलाई अहिले ?
फेरि कुन बेला ह्याक हुन्छ मेरो फेसबुक थाहा छैन
आमाले जन्म दिएको माटो हातैमा छ
किन देश खोजी रहनुपर्छ मलाई अहिले
अपरिचित छ अगाडिको मान्छे
युद्ध गर्न झैं खडा छ –
भर्खर परिचित भएको सहर
रोकेको छु देखाउन आफ्नै अनुहार
प्रकाशित गरेर
भर्खर प्रतिबन्धित भएको पुस्तक झैं छु
सायद यो शताब्दीलाई ‘फ्रिडम’ चाहिँदैन –
हराएका मान्छेहरू खोज्ने
एकान्तमा छु
सायद यो मलाई युगले दिएको
‘गिफ्ट’ हो
छयहत्तरचोटि अपराध गरिसकेको छ
युगले
खबरदार ! मेरो मृत्युको खबर कोही
प्रकाशित गर्न पाउनेछैन यस बेला
‘सेल्फ डेटिङ’मा छु
हेर्न बसेको छु
बाँकी जिन्दगीको पहिलो दिन
मेरो जीवन ह्याक गर्न सक्दैन
यस बेला मृत्यु
मेरो मृत्युमा हाँसेर बसेकाहरूलाई
म बाँचेको सूचना दिन्नँ
मरेको दिन
मरेको पनि सूचना दिन्नँ
सीधा हमला सुरु छ
बदलाको शपथ लिन्नँ ।