धार्मिक पर्यटनका लागि अन्तरदेशीय पूर्वाधार र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न पर्यटनमन्त्री पाण्डेको आह्वान
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटनका लागि अन्तरदेशीय पूर्वाधार र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न आह्वान गरेका छन्।
भारतको गुजरतामा आयोजित आठौं धर्म–धम्ब सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै उनले संस्कृति,पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका हुन्। उनले विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्नसमेत आह्वान गरे।
उनले नेपालका पशुपतिनाथ हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदाहरु रहेको उल्लेख गर्दै नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभुति गर्न सकिने उल्लेख गर्दै सम्मेलनका सहभागीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो दिएका थिए।
भूटान श्रीलङ्का लगायतका देशका मन्त्रीहरु र अन्य देशका धार्मिक विचारकहरुको ठूलो संख्यामा सहभागिता रेहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताउँदै शान्ति र करुणको प्रतिकको रुपमा नेपालमा धर्म र धम्बका सिद्धान्तहरु सदियौंदेखि व्यवहारमा रहेको कुरामा जोड दिए ।
उनले भने, “हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरु तथा सांस्कृतिक सम्पदाहरुले ब्रम्हाण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो ।”
इण्डिया फाउन्डेसनको पहलमा भारतको गुजरातमा आयोजित सम्मेलनमा धर्म–धम्म हिन्दू र बौद्ध सभ्यक्रताहरूबीच सदियौंदेखि स्थायी निरन्तर रुपमा निकट रहेका विचारहरु भएको बताइएको थियो । अहिलेको बदलिदो विश्यमा यी दुई विचार बीचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो । आठौं अन्तर्राष्ट्रिय धर्म धम्म सम्मेलनमा १८ देशका तीनसय भन्दा बढी प्रतिनिधि सहभागी रहेको अनुमान छ ।