व्यावसायिक पशुपालनमा कर्णालीका किसान
कर्णालीमा चरन क्षेत्र र घाँस पाउन सहज छ । प्राविधिक सेवा, उपचार र बजारीकरणमा सहयोग हुन थालेपछि किसान व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन् ।
सुर्खेत : कर्णालीका किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक रूपमा पशुपालन गर्ने क्रम बढेको हो । अधिकांश कर्णालीवासी कृषिमा निर्भर रहेका छन् ।
यहाँका किसानले विगतमा जीविकोपार्जनका लागि मात्र पशुपालन गर्दै आएका थिए । तर पछिल्लो समय सरकारी तथा गैरसरकारी निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाउन थालेपछि किसानहरू व्यावसायिक पशुपालनतर्फ तानिएका हुन् । प्रदेशका हिमाली जिल्लामा किसान भेडा र चौंरीपालनमा आकर्षित छन् । यस्तै पहाडी जिल्लामा भने भैंसी र बाख्रापालनमा किसानको आकर्षण बढ्दो छ । पशुपालनतर्फ किसानको आकर्षण बढेसँगै विस्तारै कर्णाली प्रदेश दूध र मासुमा आत्मनिर्भर बन्न थालेको प्रदेश सरकारको दाबी छ ।
विगतमा गुजराका लागि मात्र एक/दुईवटा भैंसी पाल्दै आएका किसानले हिजोआज व्यावसायिक रूपमा पाल्न थालेका हुन् । सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेका किसान टोपेन्द्र रानासँग हाल ३१ भैंसी छन् । दूधबाटै मासिक एक लाख रुपैयाँ आम्दानी भित्र्याउँछन् । टोपेन्द्र भन्छन्, ‘भैंसीबाट त मालामाल नै भयो, दूधसँगै गोबर पनि बिक्री हुन थाल्यो । अचेल दूधमात्र होइन, भैंसीको गोबर किन्न आउने पनि उत्तिकै छन् ।’ स्थानीय किसान भूमिका रानाका अनुसार गाउँका सबैले अचेल व्यावसायिक रूपमै भैंसी पाल्न थालेका छन् । गाउँमा भैंसी नभएको कुनै घर छैन । यो गाउँका प्रत्येक किसानसँग कम्तीमा पाँचदेखि बढीमा ३१ वटासम्म भैंसी छन् ।
केही वर्षयता हिमाली क्षेत्रमा पनि व्यावसायिक भैंसीपालन हुन थालेको छ । कुनैबेला दूधको अभाव हुने हिमाली क्षेत्र विस्तारै दूधमा आत्मनिर्भर बन्न थालेको हो । हिमाली जिल्ला जुम्ला र कालीकोटका गाउँमा अहिले व्यावसायिक रूपमै भैंसीपालन भइरहेको छ । जुम्लाको गुठीचौर गाउँपालिका–४ बिगारे गाउँ हिजोआज दूध उत्पादन हुने गाउँको रूपमा परिचित छ । स्थानीय लक्ष्मीकान्त देवकोटासँग हाल ६ वटा भैंसी छन् । उनी भन्छन्, ‘भैंसी पालेपछि हाम्रा दिन पनि फेरिए, दूध बेचेरै महिनामा ५० हजार रुपैयाँ आम्दानी भइरहेको छ । कमाउनका लागि भारत जान छोडेको ८ वर्ष भयो, अब भैंसी पालेरै गाउँमा दुःख गर्ने हो ।’ व्यावसायिक भैंसीपालनबाट किसानको जीवनस्तर नै बदलिएको छ ।
सरकारबाट घाँस व्यवस्थापन, नश्ल सुधार, प्राविधिक सेवा, पशुलाई औषधि र उपचार, उत्पादन भएको उपजको बजारीकरण र प्रोत्साहनबापत रकम पाउन थालेपछि किसानले पशुपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउन थालेका हुन् । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिममा पछिल्लो समय व्यावसायिक रूपमा भैंसीपालन र बाख्रापालन गर्ने किसानको संख्या बढ्दो छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले हिमाली जिल्लामा भने भेडा र चौंरीपालन बढ्न थालेको बताए । उनका अनुसार हुम्ला, जुम्ला, मुगु र डोल्पामा भेडापालनतर्फ किसान व्यावसायिक बन्दै गएका छन् । भेडा र चौंरीपालन पनि बढ्दै
कर्णालीका हिमाली जिल्लामा हिजोआज भेडा र चौंरीको व्यावसायिक पालन बढ्दो छ । प्रदेश सरकारले भेडा र चौंरीगाईको व्यावसायिक पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएसँगै किसानले पनि व्यावसायिक रूपमा पाल्न थालेका हुन् । सरकारले प्रोत्साहन रकम दिन थालेपछि त्यस क्षेत्रमा लोप हुने अवस्थामा पुगेका चौंरीगाई र भेडापालनमा किसान आकर्षित भएका हुन् । कृषि तथा सहकारी मन्त्रालयले गएको आर्थिक वर्षमा मात्र प्रोत्साहनबापत भेडा र चौंरी पाल्ने किसानलाई ८३ लाख रुपैयाँ रकम वितरण गरेको थियो । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले भेडा र चौंरीको व्यावसायिक पालनमा मन्त्रालयले प्रोत्साहन गरेको बताए ।
उनका अनुसार ५० वटाभन्दा बढी भेडा र १० भन्दा बढी चौंरी पाल्ने किसानलाई यस्तो प्रोत्साहन गर्न थालिएको हो । यो नीतिले विगतको भन्दा हिमाली क्षेत्रमा भेडा र चौंरीपालन गर्ने किसानको संख्या वृद्धि भएको मन्त्रालयको भनाइ छ । उनले भने, ‘एकजना किसानले वर्षमा १८ हजार रुपैयाँका दरले रकम पाउँछन्, किसानलाई भेडा र चांैरीपालनमा प्रोत्साहन गर्न यो रकम दिने गरको हौं । प्रोत्साहन रकम पाउन थालेपछि किसानले पनि भेडा र चौंरीपालनलाई व्यावसायिक बनाउन थालेका छन् ।’ गत आर्थिक वर्षमा मन्त्रालयले ४ सय ६३ भेडापालक किसान र ४१ चौंरीपालकलाई प्रोत्साहन स्वरूप रकम वितरण गरेको थियो ।
निर्यात भयो २ अर्बको पशुजन्य उत्पादन
विगतमा आयात गर्दै आएको कर्णालीले पछिल्लो समय पशुजन्य उत्पादन निर्यात गर्न थालेको छ । प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीबाट पछिल्लो एक वर्षको अवधिमा ४ अर्बको कृषिजन्य वस्तु निर्यात भएको छ । त्यसमध्ये १ अर्ब ८४ करोड ९० लाख ७० हजार मूल्यबराबरको पशुजन्य उत्पादन निर्यात भएको हो । व्यावसायिक पशुपालन बढेसँगै गत आर्थिक वर्षमा कर्णालीबाट खसी, दूध, माछा, राडीपाखी र छुर्पीलगायतका पशुजन्य उपज निर्यात भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पनि व्यावसायिक मासु उत्पादनका लागि बाख्रा र कुखुरा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा कर्णालीमा बाख्राको संख्या १७ लाख ६२ हजार ९ सय ७७ थियो । त्यो संख्या बढेर आर्थिक वर्ष २०८०/२०८१ मा १७ लाख ९८ हजार ९ सय ५७ पुगेको छ । त्यसैगरी पशुपन्छीजन्य उत्पादन दूध, मासु, माछा र अन्डा उत्पादन पनि बढेको छ । मन्त्रालयको तथ्यांक विश्लेषण गर्दा आर्थिक वर्ष २०७९/०८० को तुलनामा दूध ६८ हजार ५ सय ३६, मासु ३० हजार १ सय ३३, माछा १ सय ९९ र अन्डा १४ हजार १ सय ४९ टनबाट वृद्धि भएर आर्थिक वर्ष २०८०/२०८१ मा दूध ६९ हजार ४ सय ५३, मासु ३० हजार ९ सय ३, माछा २ सय र अन्डा १४ हजार ४ सय १० टन पुगेको छ ।
फोटो क्याप्सन ः सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेका किसान टोपेन्द्र रानाले व्यावसायिक रूपमा पालेका भैंसी ।