सुत्केरीको मृत्यु, बच्चा सिकिस्त

सुत्केरीको मृत्यु, बच्चा सिकिस्त

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा शुक्रबार साँझ सुत्केरीको मृत्यु भएको छ। अस्पतालका अनुसार सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-२ की २५ वर्षीया सवना खातुनको मृत्यु भएको हो। परिवारका सदस्यले खातुनलाई प्रसूतिका लागि गत बिहीबार साँझ भर्ना गरेका थिए। अस्पतालका अनुसार शुक्रबार दिउँसो भ्याकुमको सहायताले प्रसूति गराइयो। 

सवनाले छोरा जन्माएकी थिइन्। तर, आमा र बच्चाको स्वास्थ्य अवस्था बिग्रिएको भनेर शुक्रबार साँझ ५ बजेतिर आईसीयूमा भर्ना गरियो। केहीबेरमै आमाको मृत्यु भएको जानकारी अस्पतालले आफन्तलाई दियो। शिशु सिकिस्त छन्। उपचार जारी रहेको र केही सुधार भएजस्तो देखिएको अस्पतालले जनाएको छ।  

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्य र आफन्तले होहल्ला र नाराबाजी गर्न थालेपछि अस्पतालको अवस्था तनावपूर्ण बनेको थियो। उनीहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, बच्चाको पालनपोषण गर्नुपर्ने र घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्दै होहल्ला गरेका थिए।

घटनाका बारेमा शनिबार छलफल गरेर निष्कर्ष निकाल्ने सहमति मृतक पक्ष र अस्पताल प्रशासनबीच भएपछि भीड तितरबितर भएको थियो। शनिबार बिहानैबाट अस्पतालमा ५०/६० जनाको संख्यामा मृतकका आफन्त भेला भएर दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेका थिए। सुत्केरीको शवलाई अस्पतालकै शवगृहमा राखिएको छ। 

अस्पतालमा तोडफोड हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मुख्य गेट बन्द गरिएको थियो। मुख्य गेटमा ताला लगाएर आवतजावतमा रोक लगाइएको हो। भेला भएकाहरूले बाहिरैबाट नाराबाजी गरिरहेका छन्। कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आक्रोसित बनेको भीडलाई सुरक्षाकर्मीले सम्झाइबुझाइ गरिरहेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सम्भावित घटना हुन नदिन अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए। 

समस्या समाधानका लागि अहिले मृतक पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ। मृतक सवनाका पति कुरसिद आलमले डाक्टरको लापरबाहीका कारण पत्नी गुमाउनु परेको गुनासो गरे। ‘अस्पताल भर्ना गरेदेखि नै लापरबाही गरिएको थियो। गर्भवती श्रीमतीलाई डाक्टरले राम्रोसँग हेरेननन्,’ उनले भने, ‘सुत्केरी भइसकेपछि आमा र बच्चाको अवस्था बिग्रियो भनेर आईसीयूमा लगियो। एक्कासि आमाको मृत्यु भयो भनेर जानकारी गराइयो।’ सुत्केरीको उपचारमा लापरबाहीले सीमा नाघेको कुरसिद बताउँछन्। 

अस्पतालका संयोजक सुनील देवले उपचारमा लापरबाही नभएको बताए। ‘भ्याकुमबाट प्रसूति गराइएको थियो। एक्कासि मुटुमा समस्या आयो,’ उनी भन्छन्, ‘तत्काल आईसीयूमा भर्ना गरेर उपचार सुरु गरियो। तर, सुत्केरीलाई बचाउन सकिएन।’ देवले छानबिन गरेपछि मात्रै घटना हुनुको कारण पत्ता लाग्ने जानकारी दिए।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.