गृह मन्त्रालयले गर्यो भारतीय राज्य मन्त्रीलाई बस दुर्घटनाबारे ब्रिफिङ
काठमाडौं : गृह मन्त्रालयले भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई शुक्रबार मर्स्याङ्दीमा भएको बस दुर्घटनाबारे ब्रिफिङ गरेको छ। २७ जना भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान गृहमन्त्री रमेश लेखकले ब्रिफिङ गरेका हुन्।
गृहमन्त्री लेखकले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार भएको यात्रुबाहक बस दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराए। पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका थिए।
गृहमन्त्री लेखक र भारतीय राज्य मन्त्री खड्सेले त्रिभुवन शिक्षण अस्पतालमा रहेका घाइतेहरूको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए। भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरेकी छन्। उनले घाइतेहरूको उपचारमा चिकित्सकहरूले देखाएको सक्रियताको प्रशंसा गरिन।
गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आइसियु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ। शुक्रबार घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । सो बसमा ४३ जना यात्रु सवार थिए ।
गृहमन्त्री लेखकसँगको भेटपछि भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्से चितवनस्थित भरतपुर अस्पताल जाने कार्यक्रम तय भएको छ। शव परीक्षणपछि शवहरू भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ।