प्रधानमन्त्रीको निर्देशन पालना गरी प्रतिफल देखिने गरी काम गर्नुपर्छ : मन्त्री यादव
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले कामको प्रतिफल देखिने गरी काम गर्नुपर्ने बताएका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को आयोजना कार्यान्वयनसम्बन्धी दुई दिने खरिद क्लिनिक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्।
मन्त्री यादवले प्रधानमन्त्रीको निर्देशन अक्षरस पालना गरी काम गर्नुपर्ने बताए। 'यो सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नु भएको सरकार हो। अब हामीले प्रधानमन्त्रीज्युको निर्देशन अक्षरस पालना गरी हाम्रो कामको प्रतिफल देखिने गरी काम गर्नुपर्छ,' उनले भने।
उनले विभागले आयोजना गरेको उक्त गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको र अब उक्त कुराहरू कार्य सम्पादनमा देखिने बताए। 'विभागले आयोजना गरेको उक्त गोष्ठीमा विभिन्न विषयमा प्रशिक्षण, अनुभव आदानप्रदान भएको छ, यसले तपाईँहरूको काम गर्ने शैली तथा क्षेत्रमा थप ऊर्जा थपिएको मैले विश्वास लिएको छु,' उनले भने।
मन्त्री यादवले विगतमा खुल दिशामुक्त क्षेत्रको घोषणा गरिएको भए पनि अझै सत प्रतिशत नपुगेकाले हामीले कामको प्रतिफल देखिने गरी काम गर्न जरुरी भएको बताए। जनताका विकासका काममा कुनै पनि ढिलासुस्ति नगर्न समेत मन्त्री यादवले आग्रह गरे।