लाटोकोसेरोका लागि कृत्रिम गुँड
पोखरा : पहिले–पहिले ढुंगा माटोका घर हुन्थे। घरको पछाडि खोपीहरू बनाइन्थे। तिनै खोपी चराका घर हुन्थे। विभिन्न प्रजातिका चराले गुँड बनाएर बचेरा हुँर्काउँथे। घर वरपरै विभिन्न स्थानीय प्रजातिका रूखहरू पनि हुन्थे। ती रूखहरू पनि चराका घर हुन्थे। चराहरूले अन्यत्र बासस्थान खोज्न जानै पर्दैनथ्यो। तर, सहरीकरण सँगै पुराना चरा मैत्री घरहरू हराउँदै गएका छन्।
आधुनिक आरसीसी घरहरू चरामैत्री छैनन्। त्यति मात्र होइन, चरामैत्री स्थानीय जातका गिदरी, पाखुरी, सिमललगायतका रूखहरू मासिँदै गएपछि चराका लागि बासस्थान संकट पर्दै गएका छन्। चरामैत्री घर र वातावरण नभएपछि लाटोकोसेरो हराउँदै गएको छ। त्यसैकारण कास्की र स्याङ्जामा लाटोकोसेरोका लागि कृत्रिम गुँड बनाउन थालिएको छ।
तीन दशकदेखि लाटोकोसेरोलगायत वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्दै आएको प्रकृतिका साथीहरू नामक संस्थाले पछिल्लो समयमा सहरबाट लाटोकोसेरो मैत्री घर र बासस्थान हराउँदै गएपछि लाटोकोसेरोका लागि गुँड बनाएको हो। लाटोकोसेरो संरक्षणका लागि गुँड बनाउनुको साथै लाटोकोसेरोलगायत अन्य चरा, वन्यजन्तु संरक्षणका लागि जनचेतना कार्यक्रम पनि गरिने छ।
चरा संरक्षणका लागि स्थानीय स्तरमा जनचेतना जगाउन गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणदूत पनि छनोट भइसकेको छ। लाटोकोसेरो संरक्षणका लािग यसअघि नै केशव सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढुंगाना, ज्योति शर्मा र दीपा गुरुङलाई संरक्षणदूतको कार्यभार दिइएको छ। संरक्षणदूतले एक वर्षसम्म स्वयंसेवकका रूपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जनाइएको छ।
यसअघि उनीहरूको क्षमता अभिवृद्धिका लागि तालिमसमेत दिइएको थियो। प्रकृतिका साथीहरू नामक संस्थाको सक्रियतामा कास्कीमा ९० र स्याङ्जामा १० गरी १ सय गुँड बनाएर लाटोकोसेरो बढी सक्रिय हुने क्षेत्रमा राखिने संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए।
सहरी क्षेत्रमा चराका लागि बासस्थान मात्र होइन शुद्ध आहाराको पनि कमी हुँदै गएको छ। चरालाई पर्दै गएको विभिन्न संकटमध्ये बासस्थान अभाव झेलेका लाटोकोसेरोका लागि लक्षित गरेर १ सय गुँड बनाएर कास्की र स्याङ्जाका बिभिन्न ठाउँमा राखिने भएको हो।
लाटोकोसेरोको बढी गतिविधि हुने क्षेत्रमा स्थानीयसँग अनुमति लिएर गुँड राखिने प्रकृतिका साथीहरू नमक संस्थाका निर्देशक आचार्यले बताए। यसरी बनाएर राखिएका गुँडमा लाटोकोसेरो आएर बसून् भन्ने हो। अरू चरा आएर बसे पनि खुसीको कुरा रहने निर्देशक आचार्यले बताए। संरक्षणदूतकै समन्वयमा दुई साताभित्र गुँडहरू राख्ने गरी तयारी गरिएको आयोजकले बताएका छन्।
जनचेतना कार्यक्रमअन्तर्गत बुढा रूखहरूको संरक्षण, गुलेली प्रयोग गरी चरा मार्न रोक्न स्थानीय, विद्यार्थी र समुदायमा संरक्षण शिविर सञ्चालन गरिने छ। वन्यजन्तु, चराचुरुंगी चोरीसिकारी नियन्त्रणको साथै सरोकारवालाहरूको क्षमता अभिवृद्धिका लागि सहजीकरण गरिने संरक्षणकर्मीले बताएका छन्।