ग्रामीण क्षेत्रमा पनि अब्बल सामुदायिक विद्यालय
सिन्धुली : कुनै बेला सामुदायिक विद्यालय भन्नासाथ नाक खुम्च्याउने अभिभावक र विद्यार्थीका लागि पश्चिम सिन्धुलीको कपिलाकोट माध्यमिक विद्यालय आकर्षणको केन्द्र बन्दै गएको छ। मरिण गाउँपालिका—७ महेश्वता छापमा रहेको कपिलाकोट माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अब्बल भएपछि अभिभावक र विद्यार्थीको आकर्षण बढेको हो।
बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको कपिलाकोट माध्यमिक विद्यालय सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमध्येको अब्बल विद्यालयको रूपमा चिनिन थालेको छ।
केही वर्षअघिसम्म सरकारी विद्यालयमा आफ्ना छोराछोरी अध्ययन गर्छन् भन्न हिचकिचाउने अभिभावक अहिले टाई, बेल्ट र जुत्तामा सजिएर विद्यालय जानआउन थालेपछि खुसी देखिन्छन्।
विद्यालयका प्रधानाध्यापक अमृतसिंह घिसिङका अनुसार हरेक दिन बिहानको १० बज्नै लाग्दा विद्यालयको प्रवेशद्वारमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित लामबद्ध हुन्छन्। विद्यालय आउने विद्यार्थी र अभिभावकलाई प्रवेशद्वारमै दुई हात जोडेर शुभप्रभातसहित स्वागत गर्छन्। विद्यार्थीहरू मुस्कानसहित नमस्कार फर्काउँछन् र कक्षाकोठमा प्रवेश गर्छन्।
‘बिहानीले दिनको संकेत गर्दछ’, भने झैं ठूलालाई आधार सत्कार र सानालाई माया र ममता दर्शाउने संस्कार विद्यालयको गेटबाटै सिकाउने गरिएको छ।
विद्यालयमा संस्कारसहित सीप युक्त शिक्षा, खेलकुद, व्यायामदेखि अतिरिक्त क्रियाकलाप नियमित हुँदा विद्यार्थीको आकर्षण थेगी नसक्नुको छ। कपिलाकोट माविमा हरेक विद्यार्थीको गतिविधि कम्प्युटर प्रविधिद्वारा अध्यावधिक गरिन्छ। विद्यालयमा आफ्नै स्वास्थ्यकर्मी छन्।
‘विद्यालयको शैक्षिक अवस्था सुधार, भौतिक पूर्वाधार विकास, सुशासन र पारदर्शिता विद्यालय सुधारको मुलमन्त्र हो। हामीले विद्यालयको बृहत्तर विकासलाई ध्यानमा राखेर योजना बनाउने र त्यसलाई कार्यान्वयन गर्ने कामको थालनी गर्दा अहिले विद्यार्थी र अभिभावकको आकर्षण बढ्न थालेको छ,’ उनले भने।
विद्यालयमा हाल बाल कक्षादेखि कक्षा १२ सम्म १ हजार १ सय ५० विद्यार्थी भर्ना भएका छन्। नयाँ भर्नामा धेरैजसो निजी विद्यालय छाडेर आएका विद्यार्थीहरू छन्। ‘सरकारी विद्यालयमा शैक्षिक गुणस्तर हुँदैन भन्ने भ्रमलाई हामीले केही हदसम्म चिर्ने कोसिस गरेका छौं,’ उनले भने, ‘हाम्रो भौतिक संरचनाले नै धान्न नसक्ने गरेर विद्यार्थीको संख्या वृद्धि भएको छ।’
विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा वाणिज्य, शिक्षा विषयमा पढाइ हुने भएकाले १० किलोमिटर दूरीमा रहेको कमलामाई र हरिहरपुरगढी गाउँपालिका सीमावर्ती क्षेत्रबाट समेत विद्यार्थीहरू पढन आउँछन्। विद्यालयले यस वर्षबाट संख्याभन्दा पनि गुणस्तर वृद्धिका लागि वार्षिक नीति तथा कार्यक्रम र बजेटसमेत सार्वजनिक गरेको छ।
केही वर्षअगाडिसम्म विद्यार्थी अभावमा घरघरमा पुगेर अभिभावक रिझाउने अवस्थामा रहेका सरकारी विद्यालयहरूको हविगत कपिलाकोटमा अन्त्य भएपछि शिक्षक र व्यवस्थापन समिति पनि अन्य विद्यालयको तुलनामा अब्बल व्यवस्थापनमा लागि परेका छन्।
मरिण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि भन्दै चालु शैक्षिक शत्र २०८१/०८२ मा सरकारी कर्मचारी, जनप्रतिनिधि, सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने नीतिगत निर्णय गरेको थियो। त्यसको विरोध भइरहँदा कपिलाकोट माविमा भने सरकारी कार्यालयमा कार्यरत कर्मचारी, सामुदायिक विदालयका शिक्षक तथा जनप्रतिनिधिका छोराछोरी उत्साहका साथ भर्ना गर्न थालिएको छ।
विद्यालयलाई राजनीतिक दलदलबाट टाढा राखेर ज्ञानको मन्दिरको रूपमा हेर्दा पनि सामुदायिक विद्यालयको पठनपाठन र व्यवस्थापनमा राम्रो गर्न सकिने अनुभव भएको कपिलाकोट माविका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ ‘उत्साह’ को भनाइ छ।
‘पहिलो कुरा त विद्यालयमा सुन्दर र शान्त वातरण भयो भने, त्यहाँ अनुशासन, मेहनत, लगनशीलताजस्ता ऊर्जाहरू पैदा हुने रहेछन्। शिक्षक र विद्यार्थीमा सिक्ने र सिकाउने उत्प्रेरणा जाग्यो भने सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन सहज हुने रहेछ,’ श्रेष्ठले थपे।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पठनपाठन तथा मूल्यांकन विधि, विद्यालयको भौतिक पूर्वाधारको निर्माण, ल्याब तथा कक्षाकोठाको व्यवस्थापन, पुस्तकालय, खेलमैदानका साथै विद्यार्थी भर्नालगायतको व्यवस्थापनमा शिक्षक र व्यवस्थापन समिति मात्र नभएर स्थानीय समुदायमा समेत जागरण अभियान सञ्चालन गरेपछि शैक्षिक गुणस्तरमा सुधार आएको श्रेष्ठले थपे।
नेपाली र अंग्रेजी दुवै भाषमा कक्षा सञ्चालन गरिएको विद्यालयको सबै कक्षा कोठामा कम्प्युटरका माध्यमबाट डिजिटल बोर्डमार्फत पठनपाठन हुने गरेको छ। पछिल्ला केही वर्षयता विद्यालयको व्यवस्थापन र प्रशासनिक नेतृत्वमा अब्बलता देखिएपछि विद्यालयको समग्र शैक्षिक विकासमा सुधार आएको कपिलाकोट माविका पुराना शिक्षक कैलाश मोचीको भनाइ छ।
‘केही वर्षअघिसम्म सामुदायिक विद्यालयको अवस्था नाजुक देखेर चर्को मूल्य तिरेर निजीमा पढाउने अभिभावकहरू अहिले सामुदायिक विद्यालयमा निजीको भन्दा गुणस्तर, प्रविधिको प्रयोग र नयाँ पुस्ताका अब्बल शिक्षकको प्रवेशले गुणस्तर सुधार भएसँगै धमाधम सामुदायिक विद्यालयमा फर्कन थालेका छन्,’ उनले भने। ०१८ सालमा स्थापना भएको मावि कपिलाकोटमा ८९ प्रतिशतभन्दा बढी गरिब, दलित, आदिवासी जनजाति समुदायका विद्यार्थीहरू अध्ययनरत छन्। विद्यालयमा ४३ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
विद्यालयको वार्षिक नीति
विद्यालय सुधारका लागि गुरुयोजनासमेत तयार गरेर काम गरिरहेको उक्त माविले विद्यालयले सुधार योजनासहित वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। विद्यालयले चालु शैक्षिक सत्र २०८१/०८२ को लागि शैक्षिक सुधारका रणनीतिक योजनासहित नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो।
यो सम्भवत : विद्यालयहरूले एक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने नेपालकै पहिलो सामुदायिक विद्यालय हो। विद्यालयले आम्दानी तर्फ ३ करोड ६४ लाख ३८ हजार ७ सय ७४ रुपैयाँ र खर्चतर्फ ३ करोड ३४ लाख १९ हजार १ सय ३५ रुपैयाँ प्रस्ताव गरेको छ। चालु खर्चतर्फ जम्मा २ करोड ९९ लाख १४ हजार ६ सय ७ रुपैयाँ र पुँजीगत तर्फ ६५ लाख २४ हजार १ सय ६७ रुपैयाँ रहेको जनाएको छ।
यो विद्यालयको शैक्षिकस्तर गुणस्तरीय बनाउन तथा आर्थिक पारदर्शिता र सुशासनका लागि विद्यालयले नयाँ कार्यको सुरुवात गरिएको प्रअ घिसिङको भनाइ छ। ‘हामीले बजेट र कार्यक्रममात्र ल्याएका छैनौं विद्यालयको शैक्षिक अवस्था थप सदृढ गर्न स्पष्ट नीति तथा कार्यक्रम पनि ल्याएका छौं। यसले सार्वजनिक सस्थाको आर्थिक पादरर्शिता पनि सहयोग पुर्याउँछ,’ घिसिङले भने। यो केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट भौतिक निर्माण भएको १९ वटा नमुना विद्यालयमध्येको एक हो।
शैक्षिक सुधारका लागि ७२ बुँदे नीति
विद्यालयका प्रअ घिसिङले विद्यालयको शैक्षिक सुधारतर्फ ३०, भौतिक पूर्वाधारतर्फ १६, आर्थिकतर्फ ८ र आर्थिक प्रणाली व्यवस्थापनतर्फ १८ गरी जम्मा ७२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गरे। यो नीति तथा कार्यक्रम विद्यालयका प्रअ तथा शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक र सरकारसमेतले कार्यान्वयन गर्नु पर्नेछ।
यस्ता छन् नमुना विद्यालयका शैक्षिक कार्यक्रमहरू
हालसम्म मरिण गाउँपालिकाको कुनै पनि विद्यालयमा विज्ञान विषयको कक्षा सञ्चालन नरहेको हुँदा चालु शैक्षिक सत्र २०८१ देखि कक्षा ११ मा विज्ञान विषयको कक्षा सञ्चालन गरिने, प्राविधिक धार बालीविज्ञान अध्ययन गर्ने विद्यार्थीको वृत्ति र विकासका लागि प्रयोगशालाहरूको निर्माण र मर्मतका साथै आवश्यक सामग्रीहरू व्यवस्थापनका लागि विशेष पहल गरिने विद्यालयले नीति बनाएको छ।
अनिवार्य अतिरिक्त कक्षा सञ्चालन, दिवा तथा रात्रिकालीन आवासीय सञ्चालन, कक्षा १० र १२ को वार्षिक परीक्षामा आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकलाई पुरस्कारको व्यवस्था गरिने बताइएको छ। विद्यार्थीको बृहत्तर विकासका लागि एक शैक्षिक सत्रमा एक पटक सांस्कृतिक महोत्सव, खेलकुद महोत्सवको साथै गणित एवं विज्ञान प्रदर्शनीको आयोजना गरिने छ।
विद्यालयमा पढ्दै कमाउँदै
विद्यालयले आफ्ना बालबालिकाहरूलाई बढ्दै कमाउँदै नीतिको अवलम्बन गरेको छ। प्राविधिक धार बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रममा जोड दिनका लागि आवश्यक व्यवस्थापन गरिएको छ। प्राविधिक धारका विद्यार्थीलाई विद्यालयले नै लगानी गरेर कृषि उत्पादनमा सहयोग गर्ने र त्यसबाट भएको आम्दानीमा लगानी कटाएर हुने मुनाफा विद्यार्थीलाई नै दिने गरिएको प्रअ घिसिङले बताए।
विद्यालयको पाँच कठ्ठा जमिनमा विद्यार्थीले तरकारी, धान, मकै, फलफूल खेती गर्दै आएका छन्। त्यसबाट हुने आम्दानीले विद्यार्थीलाई कपी, कलमलगायतका शैक्षिक सामग्री खरिदमा मद्दत पुग्ने गरेको छ।
विद्यालय तहमै प्राविधिक पढाइ
प्राविधिक तथा जीवनोपयोगी शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएपछि गाउँका सामुदायिक विद्यालयमै कृषि प्राविधिक पढाइ हुन थालेको छ। त्यसले विद्यार्थीलाई गाउँमा नै सुविधासँगै जीवनोपयोगी शिक्षा हासिल गर्न सहज भएको कपिलाकोट माविका प्रअ अमृतसिं घिसिङको भनाइ छ।
कपिलाकोट माविले मरिण गाउँपालिकाकै पहिलो विद्यालयका रूपमा सीटीईभीटीको स्वीकृतिमा बाली विज्ञान डिप्लोमा तहको पठनपाठन हुँदै आएको छ। कक्षा ९ देखि कक्षा १२ सम्ममा १०६ जना विद्यार्थीहरू बाली विज्ञान अध्ययन गर्दै छन्।
प्राविधिक धारतर्फ विद्यार्थीको चाप बढेको छ। विद्यालयले कक्षा ११ र १२ मा व्यवस्थापन तथा वाणिज्य र शिक्षा विषय पढाउँदै आएकोमा यसै शैक्षिक सत्रबाट विज्ञान विषयसमेत थप गरेर पठनपाठन थालेको छ।
टोल भेलामार्फत अभिभावक शिक्षाको थालनी
आफ्ना बालबालिका र उनीहरू अध्ययन गर्ने विद्यालयप्रति अभिभावकको चासो र चिन्तन बढाउन विद्यालय सेवा क्षेत्रलाई ६ वटा टोलमा विभाजन गरी एक शैक्षिक सत्रमा कम्तीमा पनि दुईपटक टोल भेलाको आयोजना गरिने विद्यालयले जनाएको छ।
अभिभावकहरूसँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने अभ्यासको थालनी गरेको छ। यस्ता कार्यले अभिभावकहरूमा विद्यालयप्रतिको चासो बढ्दै गएको छ। विद्यालयमा उपस्थित भई आफ्ना बालबालिकाहरूको शैक्षिक अवस्था बुझ्ने र आफ्नो जिम्मेबारी वहन गर्ने बानीको विकास हुँदै गएको छ।