प्रदेश रंगशालाको निर्माण ९२ प्रतिशत सकियो
असोजमा सम्पन्न गर्ने लक्ष्य, हालसम्म १ अर्ब ४३ करोड रकम खर्च
सुर्खेत : कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिताको १०औं संस्करण आयोजना हुँदै छ। आगामी मंसिरमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन मुख्य मेरुदण्ड मानिएको प्रदेश रंगशालाको निर्माणको काम तीव्र गतिमा भइरहेको छ। कर्णालीको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाको अहिलेसम्म ९२ प्रतिशत काम सम्पन्न भएको छ। बाँकी निर्माणको काम असोजभित्रै सक्ने लक्ष्य छ।
कर्णालीमा अहिलेसम्म एउटा पनि गतिला रंगशाला छैनन्। त्यसकारण पनि प्रदेश सरकारले यो रंगशालालाई गौरवको आयोजनाका रुपमा लिएको छ। यो रंगशालाको हालसम्म ९२ प्रतिशत भौतिक काम सम्पन्न भइसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ। परिषद्का अनुसार असोजभित्र बाँकी काम सक्नेगरी धमाधम काम भइरहेको छ। रंगशालामा केही फिनिसिङ र कभर्डहलको छानो निर्माणको काम मात्र बाँकी छ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर रंगशाला निर्माणको काम भइरहेको हो। १०औं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर २ देखि ९ गतेसम्मको मिति तोकिएको छ। कर्णालीमा खेलकुदका भौतिक पूर्वाधारको अभावले हालसम्म यहाँ राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन सकेको छैन। यसकारण पनि कर्णालीले १०औं खेलकुद आयोजना हुनुलाई प्रतिष्ठाको रुपमा लिएको छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्याल भन्छन्, ‘भौतिक पूर्वाधारको अभावमा अब १०औं खेलकुद प्रतियोगिता रोकिन्न। हामीले आवश्यक पूर्वाधार तयार पारिसकेका छौं। प्रतियोगिता सञ्चालनका लागि मुख्य मेरुदण्ड प्रदेश रंगशाला नै हो। यसको पनि ९२ प्रतिशत काम सकिएको छ।’
उनले अब बाँकी रहेको ८ प्रतिशत काम पनि असोजभित्र सम्पन्न गर्नेगरी काम भइरहेको बताए। उनका अनुसार रंगशाला निर्माणमा हालसम्म १ अर्ब ४३ करोड रकम खर्च भइसकेको छ। सम्झौता अनुसारको बाँकी रकम भने रंगशाला निर्माण सम्पन्न भएपछि मात्र भुक्तानी हुनेछ।
सदस्यसचिव सन्ज्याल भन्छन्, ‘१०औं राष्ट्रिय खेलकुदका लागि नै हामीले दिनरात लगाएर काम गरिरहेका छौं। अब कर्णालीका कारण प्रतियोगिता रोकिँदैन।’ १०औं राष्ट्रिय खेलकुद सञ्चालन गर्न मिल्नेगरी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माणको काम सुरु गरिएको हो। यो रंगशाला निर्माणका लागि २०७८ कात्तिक २८ गते सम्झौता भएको थियो। एमएसी एन्ड जीएसएल जेभी कम्पनीले रंगशाला निर्माणको जिम्मा लिएको छ।
यो रंगशालामा १० हजार दर्शक अट्ने छन्। यही रंगशालामा अन्तर्राष्ट्रिय स्तरको भलिबल, स्वीमिङ पुल, फुटबल, ह्यान्डबल, बास्केट बल र एथलेटिक्सलगायतका प्रतियोगिता सञ्चालन गर्नेगरी भौतिक संरचना बनेका छन्। १ अर्ब ५९ करोड रुपैयाँमा रंगशाला निर्माणका लागि ठेक्का सम्झौता भएको हो। त्यसमा हालसम्म १ अर्ब ४३ करोड रकम बराबरको काम सम्पन्न भइसकेको परिषद्ले जनाएको छ।
ठेक्का सम्झौता अनुसार आगामी फागुन २ गतेभित्र रंगशाला निर्माणको काम सक्नुपर्ने छ। तर, १०औं राष्ट्रिय खेलकुदका लागि धमाधम काम गरिएका कारण सम्झौता मिति अगाडि नै रंगशाला निर्माणको काम पनि सम्पन्न हुन लागेको सदस्यसचिव सन्ज्यालले जानकारी दिए।
कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा जम्मा २४ वटा खेल सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई यो प्रस्ताव गरेको हो। कर्णालीमा उपलब्ध भौतिक संरचना र क्षमताका आधारमा २४ वटा खेलको मात्र प्रतियोगिता गराउन सम्भव हुने भन्दै परिषद्ले यो प्रस्ताव गरेको हो।
गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा भने विभिन्न ३६ वटा खेल सञ्चालन भएका थिए। तर, कर्णालीमा सबै खेल खेलाउन सम्भव नभएकाले २४ वटा खेलमा मात्र प्रतियोगिता गर्न प्रस्ताव गरिएको परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालले बताए। कर्णालीमा हाल उपलब्ध भौतिक पूर्वाधार र संरचनाले नधान्ने भएकाले बाँकी खेलहरू सञ्चालन गर्न नसकिने जानकारी राखेपलाई गराइसकेको उनले बताए।
‘स्वर्णको संख्या दुई अंकको हुन्छ’
अघिल्लो वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले दुई वटा मात्र स्वर्ण पदकमा चित्त बुझाएको थियो। तर, आफ्नै प्रदेशमा हुन लागेको १०औं राष्ट्रिय खेलकुदमा भने स्वर्ण पदकको संख्या बढाउने लक्ष्य कर्णालीको छ। कम्तिमा पनि दुई अंकको स्वर्ण पदक हात पार्नेगरी तयारी भइरहेको कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
परिषद्का सदस्यसचिव सन्ज्याल भन्छन्, ‘नवौं राष्ट्रिय खेलकुदमा हामीले दुई वटा मात्र स्वर्ण जितेका थियौं। अब त्यो संख्या बढाउने हाम्रो लक्ष्य छ। यसका लागि खेलाडीलाई तयार गरिरहेका छौं। कर्णालीमा हुने प्रतियोगितामा दुई अंकको स्वर्ण जित्ने छौं।’ दुई अंकको अर्थात कम्तिमा १० वटाभन्दा बढी स्वर्ण पदक जित्ने लक्ष्यसहित कर्णालीले तयारी गरिरहेको उनको भनाइ छ।
उनका अनुसार यसका लागि प्रदेश सरकारसँग आवश्यक बजेटसमेत माग गरिएको छ। खेलाडी तयार गर्नका लागि आफूहरूले प्रदेश सरकारसँग १६ करोड बजेट माग गरेको उनले बताए।