संविधान संशोधन सम्भव छैन : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कसैले भनेकै भरमा संविधान संशोधन सम्भव नरहेको बताएका छन्।
आइतबारबाट काठमाडौंमा सुरु पार्टीको पहिलो पूर्ण पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै दलले मात्रै संविधान संशोधन गर्न सम्भव नरहेको बताए। उनले सबै दलसँग सहकार्य र सहमति गरेर राष्ट्रिय आवश्यकताका आधार संविधान संशोधन हुनुपर्ने बताए। अध्यक्ष नेपालले विद्रोह गरि नयाँ पार्टी बनाउने कदम ठीक रहेको भन्दै पार्टीको भविष्य राम्रो रहेको बताए।
उनले आफूहरूले विद्रोह गरेका कारण राजनीति ठीक दिशामा आएको र संविधान बच्न सफल भएको उल्लेख गरे। कम्युनिष्ट आन्दोलनमा धेरै गुटबन्दी धेरै देखापरेको भन्दै वस्तुनिष्ट समीक्षा गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए। अध्यक्ष नेपालले पार्टी नीति विपरीत कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिए।
त्यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनालले तीन वर्षमा पार्टीले गरेको प्रगतिको ठोस र व्यवस्थित ढंगले समीक्षा गर्दै आगामी तीन वर्षको रणनीति बनाउनुपर्ने बताए। उनले विभिन्न जनचासोका मुद्दालाई उठाउँदै सडक आन्दोलन गर्नुपर्ने बताए।
बैठकमा केन्द्रीय संरचनाको गठन, पदाधिकारी छनोटलगायत विविध विषयमा छलफल हुने समाजवादीले जनाएको छ। गत असरमा सम्पन्न महाधिवेशनले पार्टीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो।