कोशीमा मन्त्रालय नफुटाउने पक्षमा मुख्यमन्त्री

कोशीमा मन्त्रालय नफुटाउने पक्षमा मुख्यमन्त्री

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशमा मन्त्रालय नफुटाउने पक्षमा उभिएका छन्। 

आन्तरिक भागबन्डा मिलाउन नसकेर सरकारमा जान ढिलाइ गरिरहेको नेपाली कांग्रेसले मन्त्रालय विभाजनका लागि दबाब दिइरहेका बेला मुख्यमन्त्री भने त्यसको विपक्षमा उभिएका हुन्। सत्ता साझेदार दल कांग्रेसलाई उनले प्रदेशमा मन्त्रालय नफुट्ने स्पष्ट सन्देश दिएका छन्। 

काठमाडौंबाट आइतबार विराटनगर फर्किएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइकन सरकार विस्तार गरिने जानकारी दिए। सत्तारुढ कांग्रेसले पार्टीको आन्तरिक विवाद मिलाउने क्रममा मन्त्रालय थपेर भएपनि आफूलाई भाग पुर्‍याउनुपर्नेमा जोड दिइरहेको छ। नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता कार्की नेतृत्वकै सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेस आन्तरिक भागबन्डा मिलाउन नसक्दा अहिलेसम्म सरकारमा गएको छैन।  

कांग्रेसले मन्त्रालय विभाजनका लागि अनेक हिसाबले जोडबल गरिरहेका बेला मुख्यमन्त्री कार्कीले भने विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोशीमा मन्त्रालय ‘फुट्दैन’ भनेर स्पष्ट पारेका हुन्। उनी बिहीबार काठमाडौं गएका थिए। सरकार विस्तारका लागि मन्त्रालय फुटाउनु उपयुक्त नहुने उनको बुझाइ छ। 

गठबन्धनको शीर्ष नेतृत्व तहमा मन्त्रालय नफुटाउने सहमति भएको कार्की बताउँछन्। कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालय नफुटाउने विषयमा कुराकानी भएको उनको भनाइ छ। कार्कीले प्रदेशमा कांग्रेसका नेताहरूसँग पनि मन्त्रालय नफुटाउने विषयमा कुराकानी भएको बताए। 

‘हामी मन्त्रालयको संख्या बढाउँदैनौं। अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ,’ कार्की भन्छन्, ‘एक दुई दिनभित्रैमा मन्त्रिपरिषद् विस्तार हुन्छ। कांग्रेसले नाम दिने बित्तिकै हुन्छ।’ भदौ १४ गते प्रदेशसभा बैठक बस्दैछ। त्यसअघि नै सरकार विस्तार गर्ने तयारी छ। मन्त्रालय विभाजन नगरे पनि राज्यमन्त्री भने केही थप हुनसक्ने संकेत उनले गरेका छन्। 

प्रदेशमा हाल ९ वटा मन्त्रालय छन्। तीमध्ये एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति साउन १२ गते भएको थियो। तर, आन्तरिक भागबन्डा मिलाउनका लागि मन्त्रालय फुटाउनुपर्ने पक्षमा उभिएको कांग्रेसले मन्त्रीको नाम नदिँदा सरकार विस्तार अन्योलमा परेको छ। 

कांग्रेसले २ वटा मन्त्रालय थप गर्ने प्रस्ताव गरेको थियो। तर, त्यसलाई एमालेले अस्वीकार गरेको छ। जसका कारण सरकार विस्तार रोकिएको हो। कांग्रेस र एमालेबीच गठबन्धन भएको २ महिना हुन लागेको छ। नयाँ गठबन्धनका लागि मार्ग प्रशस्त गर्न नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले कोशी प्रदेशमा सरकार छाडेको पनि १ महिना हुन लाग्यो। तर, कांग्रेसको आन्तरिक किचलो सरकार विस्तारमा बाधक बनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.