‘४–५ वर्ष धाउँदा पनि नागरिकता पाइनँ’

‘४–५ वर्ष धाउँदा पनि नागरिकता पाइनँ’

अछाम : भत्किने अवस्थामा पुगेको सानो जीर्ण घर। २०७९ कात्तिकमा गएको भूकम्पले घर चिराचिरा परेको छ। हिउँदमा पर्ने पानीले समेत घर चुहिन्छ। वर्षायामको पानीको त कुरै नगरौं। घरभित्रै पनि राम्रोसँग ओत लाग्ने ठाउँ छैन। घरमा भए जतिका भाडाहरू चुहिने ठाउँमा थापिएका छन्। गाउँभन्दा पर जंगलमा एक्लो घर छ। घरमा बिजुलीसमेत छैन। राति पारि गाउँमा बल्ने झिलिमिली बत्ती हेरेरै बस्नुपर्ने अवस्था छ।

यो घर साँफेबगर नगरपालिका–३ डिक्रेनीकी पवि रावतको हो। घरमा पवि एक्लै बस्न थालेको वर्षौं भइसक्यो। १५ वर्षको उमेरमा दीपेन्द्र रावतसँग मागी विवाह गरेर पवि भित्रिएकी थिइन्। घर संसार राम्रै चलेको थियो। पविले १६ वर्षमा पहिलो सन्तान छोरा जन्माइन्। सानै उमेरमा बिहेका कारण घरायसी जिम्मेवारीलगायतका विषयले श्रीमान्सँगको सम्बन्ध बिग्रिँदै गयो। भारत कमाउन गएका श्रीमान् पविबाट सम्पर्कविहीन भए। श्रीमान्बाट बेवास्ता गरिएकी पवि घरपरिवार समाजबाट पनि बहिष्कारजस्तै भइन्। जसोतसो सुखदुःख गरेर उनले छोरालाई हुर्काइन्। छोरा सुरेश १५ वर्षको भयो अहिले। पवि ३१ वर्षकी भइन्। आर्थिक अभावका कारण छोरालाई पढाउन सकिनन् पविले। कक्षा २ मै पढाइ छोडिसकेका सुरेश कमाउन भारत गए।

पविले अहिलेसम्म पनि नागरिकता पाउन सकेकी छैनन्। नागरिकताका लागि उनी भौंतारिन थालेको ४÷५ वर्ष भयो। नागरिकता बनाइदिन आग्रह गर्दै उनी नगरपालिका, वडा कार्यालयसम्म पटक–पटक धाइरहेकी छन्। तर, कसैले पनि अहिलेसम्म उनको कुरा सुनुवाइ गरेका छैनन्। नागरिकता बनाउन कुनै पनि कागजात छैन भन्दै फर्काउने गरेको उनले दुःखेसो गरिन्। श्रीमान्को नागरिकता ल्याएपछि मात्र नागरिकता बन्ने भनेर फर्काउने गरेको उनले बताइन्। उनले भनिन्, ‘नागरिकता बनाउन के–के चाहिन्छ, मसँग त केही छैन। जन्मदर्ता ल्याउनु भनेका थिए। मैले माइतबाट जन्मदर्ता गरेर ल्याए। विवाह दर्ता छैन मेरो। छोराको जन्म दर्ता पनि छैन। श्रीमान् सम्पर्कविहीन भएको १५/१६ वर्ष भइसक्यो।’ नागरिकता नहुँदा चुनावको बेला भोट हाल्न नपाउँदा पनि जनप्रतिनिधिहरूले आफ्नो समस्या नसुनेको उनको बुझाइ छ। 

नगरपालिकाको न्यायिक समितिमा गएर जानकारी गराउँदासमेत कसैले वास्ता नगरेको उनले बताइन्। श्रीमान् भारतबाट आएपछि नागरिकता बनाइदिने भन्दै जनप्रतिनिधिहरूले आश्वासन दिने गरेको उनको भनाइ छ। उनले भनिन्, ‘आफ्नोभन्दा छोराको चिन्ता लाग्छ। छोराले नागरिकता बनाइदेऊ आमा भनेर भनिरहन्छ। आफ्नो नागरिकता छैन। छोराको कसरी बनाउनु, नागरिकता नभएर बिजुलीको मिटर पनि नपाइँदो रहेछ, हामीजस्ता बेसहारा, विपन्न महिलाहरूको दुःख पीडा बुझिदिने सरकार कहिले आउँला।’ वडाध्यक्ष कुलबहादुर कुँवरले पविको नागरिकताका लागि उनका सासू, ससुरासँग कुराकानी भइरहेको बताउँदै आएका छन्। उनले भने, ‘भारतबाट उनको श्रीमान् आएपछि नागरिकता बनाउने भन्ने कुरा भएको छ, केही समय पर्खिनुपर्छ।’ वडा अध्यक्ष कुँवरले विभिन्न बहाना बनाएर टार्ने गरेका छन्।

पविको नागरिकता बनाउने विषय जनप्रतिनिधिको प्राथमिकतामा भने छैन। नागरिकता प्राप्तिका लागि जनप्रतिनिधिहरूले कसैले पनि सहजीकरण गरेको देखिँदैन। २०७४ मा स्थानीय तहको निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँगाउँ पुग्यो। २०७९ दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भए तर पविको समस्या भने सधैं उही नै रह्यो। स्थानीय तहको भएको दुवै निर्वाचनमा पविकै वडाबाट नगर प्रमुख बने। २०७४ मा साँफेबगर नगरपालिकाको मेयरमा कुलबहादुर कुँवर र २०७९ को निर्वाचनमा राजेन्द्रबहादुर कुँवर निर्वाचित भए। तर, पविको समस्या भने कसैको प्राथमिकतामा पर्न सकेन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.