नाच हो नाच हो लोली गमरा...!

नाच हो नाच हो लोली गमरा...!
फाइल तस्बिर।

गौरा पर्व नेपालको सुदूरपश्चिम र कर्णाली (केही भाग) को एउटा महत्त्वपूर्ण एवं उत्कृष्ट सांस्कृतिक पर्व हो। भदौ महिनामा पर्ने यो पर्व कर्णालीको केही भाग र सुदूरपश्चिममा विशेष रूपले मनाइन्छ। यो पर्व भारतको कुमाउ गढवाल खण्डमा पनि मनाइने गरिन्छ। यस पर्वमा शिव र पार्वतीको विशेष पूजा अर्चना गरिन्छ। प्रायजसो भाद्र शुक्ल पञ्चमीदेखि नवमीसम्म पाँच दिन मनाइने यस चाडको ठूलो धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व छ। यस पर्वमा विभिन्न किसिमका गीतहरू गाएर र देउडा नाचेर रमाइलो गरिन्छ। हिमालय पुत्री पार्वतीको अर्को नाम गौरी भएको र हाम्रो समाजमा परम्परादेखि गौरीलाई गौरा वा गमरा वा शुद्ध डोटेली भाषामा गोरा भन्ने गरेका कारण यस पर्वको नाम परापूर्वकालदेखि नै गौरा पर्वको नामले यस क्षेत्रमा धूमधामका साथ मनाउने गरिएको छ।

यस पर्वमा गौरा अर्थात् पार्वती र महेश्वर अर्थात् महादेवको पूजा गरिन्छ। महिला उपवास बसी स्नान गरी, शुद्ध पवित्र र नयाँ वस्त्र लगाएर शिव पार्वतीको पूजाआजा गरिन्छ। महिला परिवारका सदस्यको सुस्वास्थ्य तथा दीर्घायुको कामनाका लागि व्रत बस्छन्। त्यसकारण यस पर्वको माध्यमले देवाधिदेव महादेव र गौरीको पूजा आराधना गरेर आत्मालाई परमात्मासँग जोड्ने माध्यम हो, गौरा पर्व। भाद्र शुक्ल पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन महिलाले घरघरमा तामाको भाँडामा बिरुडा भिजाउँछन्। बिरुडा पाँच प्रकारका अन्न (मास, केराउ, गहत, गहुँ र गुराँस) मिलाई बनाइन्छ। भोलिपल्ट (षष्टीका दिन) भिजाएका बिरुडा नजिकैको पवित्र धारा, मुहान, न्वालोमा लगेर धोइन्छ। सामूहिक रूपमा धोएको बिरुडालाई घरको पूजा कोठा वा मठमन्दिरमा केराको पातमा फिजाएर राखिन्छ र त्यही बिरुडालाई सप्तमीको दिन गोरा भित्र्याउने बेला प्रसादको रूपमा चढाइन्छ। जसलाई अष्टमीको दिन गोरा र महेश्वरको जन्मदेखि विवाहसम्मको लीलालाई फाग र गीतको माध्यमबाट पूजाआराधना गरिन्छ। सप्तमीमा धानको खेतबाट साँवाको बोट र बलबोसहित सञ्जा गौरा ल्याएर त्यस घाँसलाई मिलाएर सुन्दर देवीको रूपमा पहिरन र गहनासमेतले शृंगारपटार गरेर गौराको आकृति दिइन्छ। गौरा देवीलाई नजिकको गौरा घर (मठमन्दिर) मा भित्र्याउने चलन छ। व्रत बसेका महिलाले गौरालाई गौराघर तथा मन्दिरमा राखी कन्याको रूपमा पूजा गर्ने चलन छ।

‘तृतीयैका दिन इजु बिरुडी खोजेया

चौंथीका दिन इजु बिरुडी निकेया...।’

अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थलमा (गौरा खला) पार्वती र शिवको पूजा गर्ने परम्परा छ। यसलाई स्थानीय भाषामा अठेवाली भनिन्छ। शिव र पार्वतीको प्रेम र विवाहको स्मरण गर्दै व्रत बसी विधिपूर्वक शिव र पार्वतीको यसमा विशेष पूजा गरिन्छ। गौरापर्वमा व्रतालु तथा तथा        श्रद्धालु महिलाद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। यस पर्वमा विशेषगरी अष्टमीको दिन अठेवाली गाएर शिव–पार्वतीको पूजाआराधना गरिन्छ भने रमाइलोका लागि घमारी, फाग, देउडाजस्ता गीत गाउने तथा देउडा खेल्ने चलन छ। प्रायःजसो महिलाले घमारी फागजस्ता गीत गाउँछन्। पुरुष भने देउडा खेली रमाइलो गर्छन्। अठेवाली (अष्टमी)को दिन दिनभरि शिव पार्वतीको पूजाआजा गर्ने र बिरुडालाई पूजापछि घरघरमा ल्याएर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ। पञ्च बिरुडा घरपरिवार तथा सबै आफन्त प्रसादको रूपमा व्रतालु महिलाको हातबाट शिरमा धारण गर्ने र शुभाशिष लिने गरिन्छ। यसलाई स्थानीय भाषामा मुन्डो पुज्ने भनिन्छ। पञ्चमीको दिन भिजाएका बिरुडा टुसाएका हुन्छन् र तिनै बिरुडालाई भुटेर प्रसादको रूपमा खाने गरिन्छ जुन स्वास्थ्यको दृष्टिकोणले पनि पौष्टिक हुनुका साथै स्वादिष्ट पनि हुन्छन्। गौरा पर्वको अन्तिम दिनमा गौरा सेलाउने गरिन्छ।

गौरा पर्वमा व्रत बसी गौरा पूजन गर्ने महिलाले दूबधागो (पवित्र धागो) धारण गर्छन्। जसरी पुरुषले पवित्र धागोको रूपमा जनै धारण गर्छन्, त्यसैगरी महिलाले धारण गर्ने पवित्र धागोलाई दूबधागो भनिन्छ। सामान्यतया भाद्र शुक्लपक्षमा पर्ने गरेता पनि कहिलेकाहीँ भाद्र कृष्णपक्षमा पनि पर्छ यो चाड। पहिलो चोटी गौरा व्रत बस्ने महिलालाई शुक्लपक्षको गोरा उत्तम मानिन्छ। शुक्ल पक्षको गोरालाई उजेली र कृष्ण पक्षको गोरालाई अनेरी गोरा भन्ने गरिन्छ।

नाच हो नाच हो लोली गमरा धैं तमरो कसो नाच।
नाच हो नाच हो महेश्वरौ तमरो कसो नाच।।

गौरा भिœयाइसकेपछि बिसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैतलो, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी बिसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउँछ। यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ।

गौरा सेलाउँदा गौराघरकी देवीलाई डोलीमा वा डालोमा राखी मंगल धुन बजाउँदै र फूलपाती चढाउँदै पवित्र ठाउँमा लगेर सेलाउने गरिन्छ। वरपीपलको रुखको वा अन्य मठ मन्दिरको नजिकको रुखको हाँगामा सेलाइन्छ। देवीलाई चढाएको फलफूल र प्रसाद चाहिँ सफा कपडामा राखी दुई जनाले दुवैतिरबाट समातेर आकाशतिर पारी फाल्ने गरिन्छ, जसलाई फल फट्काउने भनिन्छ। यसरी फालिएको फलफूल पक्रन भिड लाग्छ। राम्रो फलफूल पक्रनेको भाग्य राम्रो हुन्छ भन्ने भनाइ छ। आफन्तलाई बिरुडा प्रसादको रूपमा पठाउने चलन छ। गौरा पर्व शान्ति र सद्भावको पर्व हो। पहिलेपहिले यसै पर्वमा नयाँ लुगा किन्ने चलन हिजो थियो, आज पनि छ।

गौरा पर्व डोटी समुदायमा परम्परादेखि चल्दै आएको नारीप्रधान मौलिक पर्व हो। यस पर्वलाई यो क्षेत्रमा दसैंभन्दा पनि बढी महŒव दिएर प्राचीन कालदेखि मनाइँदै आएको पाइन्छ। यस पर्वको कहिले, कहाँ र कसबाट मनाउन सुरु गरियो भन्ने खासै तŒवगत प्रमाण भेटिएका छैनन् तर पनि भागवत् र पुराणमा गौराष्टमीको विषयमा उल्लेख भएको आधारमा गौरा पर्वलाई पौराणिक पर्वका रूपमा पनि मान्न सकिन्छ। गौराष्टमीको विषयमा भागवत पुराणमा भविष्य पुराण र स्कन्द पुराणको मानस खण्डमा वर्णन गरिएको कुरा देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.