ओमानका विदेशमन्त्री आज आउँदै
काठमाडौं :ओमानका विदेशमन्त्री सइद बदर बिन हमाद बिन हमुद बल्सुसैदी नेपाल आउँदैछन्। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उनी सोमबार बेलुकी काठमाडौं आइपुग्नेछन्। आठ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै ओमानका विदेशमन्त्री नेपाल आउन लागेका हुन्।
नेपाल बसाइँका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी राणासँग भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलबार बिहान ओमान र नेपालबीच द्विपक्षीय बैठक बस्नेछ। सो बैठकमा नेपाल र ओमानबीचको सम्बन्ध,श्रमलगायत द्विपक्षीय हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुई दिने औपचारिक भ्रमण सकेर उनी भोलि साँझ स्वदेश फर्किनेछन्।