‘बाघ ...मारेसँगै सकियो गाईजात्रा’
स्याङ्जा : स्याङजामा आइतबार राति बाघ (प्रतिकात्मक) मारेसँगै यसवर्षको गाईजात्रा पर्व सकिएको छ। राजाको आज्ञा पाएका शिकारीले बाघ मारेसँगै जनैपूर्णिमाको दिनदेखि सुरू भएको जात्रा सकिएको हो। कला,संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पुतलीबजारमा बसोबास गर्ने नेवार समुदायले गाइजात्रा पर्व अवधिभर दैनिक नृत्यु प्रर्दशन गरे। गाईजात्राको अन्तिम दिन आइतवार साँझ बाघलाई मारेपछि यसवर्षको गाईजात्रा पनि समापन गरिएको हो।
प्रगति नेवा झिगु छें प्रगति नगर र नेवारी धर्मद्वार नाँच समिति स्याङ्जाले जनैपूर्णिमाका दिनदेखि छुट्टाछुट्टै समूहगत गाईजात्रा अन्तर्गतका लाखे नाच, पुतली नाच, रोपाईं जात्रा, तायमचा, छोकडा, बाघजात्रा, जोगीजात्रालगायत कुमारी नृत्य समेत प्रर्दशन गरेर स्थानीय कलासंस्कृतिका बारेमा अन्य समुदायलाई पनि जानकारी गराएका थिए।
बाघजात्रा सुरू हुनुपूर्व दिउँसै जात्रा हेर्नका लागि आमन्त्रण गरिएको थियो। जंगलमा रहेको बााघ बजारमा पसेको र मानिसलाई समेत आक्रमण गर्न सक्ने जनाउँदै स्थानीयबासीलाई सुरक्षित एवं सर्तक रहन माइक मार्फत् सूचित गराइएको थियो।
मुख्य बजारबाट सुरू भएको जात्रा विभिन्न टोलटोलमा पुग्छन्। यी जात्राको अन्तिम दिनभन्दा अघिल्लो दिन बाघ मार्ने गरिन्छ। जसलाई जात्राभरिकै आकर्षणका रुपमा मानिन्छ। अन्य दिनमा भन्दा बाघ जात्राका दिन उल्लेख्य दर्शकको उपस्थिती थियो।
जात्राका अघिअघि तायमचा नाच त्यसपछि मुख्य शिकारी, गाउँलेहरू, कुकुर, बाघ अनि राजारानी, सेनापती, सुरक्षागार्डको वेषभूषामा सजिएका मानिसहरू हुन्छन्। बाघ, डाक्टर, नर्स, सिकारी, गार्ड, राजा र रानीको भूमिकामा अभिनय गरिएको हुन्छ।
गाउँमा बाघको आतंक हुन्छ। बाघले पहिलो पटक कुकुरलाई खान्छ। अर्को पटक मानिसलाई मार्छ। बाघ बस्तीमा पसेर पुनः आतंक मच्चाउन थालेपछि सबैले घेरामा पारेर मार्छन्। अनि बाघ जात्रा सकिन्छ। बाघ मार्न पनि निकै मेहनत गर्नुपरेको देखाइएको हुन्छ।
बाघले बस्तीमा पसेर जनावर र मानिसलाई आक्रमण गरेपछि बाघ मारिदिन गरेको जनताको आग्रहलाई राजा नै उपस्थित भएर सबैजना मिलेर चारैतिरबाट घेरा हालेर बाघलाई मारिन्छ। विगतदेखिको निरन्तरताका रुपमा रहेको यस्ता जात्राकथामा मात्र सीमित छ।
कला संस्कृति, रितिरिवाज लोप हुन दिनु हुँदैन,यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यसहित बाघजात्रा प्रदर्शन गरिएको नेवारी धर्मद्धारा नाच समितिका अध्यक्ष युगनारायण श्रेष्ठको भनाइ छ। पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गरेपछि भक्तपुरका नेवारहहरू विभिन्न जिल्लामा प्रवेश गरेको इतिहास छ।
व्यापार गर्न अन्य जिल्लामा छिरेका नेवारहरूकै कारण यहाँ आजसम्म विभिन्न जात्राको परम्परा चलेको र पर्व तथा संस्कृतिको संरक्षणका निम्ति नेवार समुदाय जुटेको प्रगति नेवा झिगु छें का अध्यक्ष गणेश श्रेष्ठले बताए। जहाँजहाँ नेवार समुदायको बाक्लो बस्ती छ। त्यहाँत्यहाँ यस्ता पर्वले निरन्तरता पाएको भेटिन्छ।
पुतलीबजार नगरपालिकास्थित प्रगतिनगर र स्याङ्जा बजारलाई लक्षित गर्दै यी दुबै नेवार समुदायले जनैपूर्णमाका दिनदेखि दिनहुँ विभिन्न नामका नृत्य, बाजागाजासहित श्रृंगारिएर नाच प्रर्दशन गर्दै आ-आफना संस्कृति संरक्षण गर्दै आएका छन्।
अन्य जात्राको तुलनामा बाघजात्रा खर्चिलो हुन्छ। बाघजात्रा हेर्नका लागि गाउँगाउँबाट समेत मानिसहरू बजार झर्ने गर्दछन्।