तानसेनमा मंगलबार विजयोत्सव तथा भगवती रथयात्रा

तानसेनमा मंगलबार विजयोत्सव तथा भगवती रथयात्रा

तानसेन : नेपालले पाल्पा नुवाकोट बुटवल जितगढी युद्धमा तत्कालीन इष्ट इण्डिया कम्पनीको अग्रेज फौजलाई हराएको सम्झनामा भदौ ११ गते मंगलबार तानसेनमा २०५ औ विजयोत्सव तथा भगवती रथयात्रा हुँदै छ। 

१८७१ र ७२ सालमा भएको युद्धमा तत्कालीन कर्णेल उजिर सिंह थापाले दुवै पटक अंग्रेज फौजलाई पराजित गरेर बुटवलबाट धपाएका थिए। युद्धमा जानुअघि तत्कालीन कर्णेल थापाले ‘हे भगवती माता हामीलाई युद्ध जित्ने आत्मविश्वास, हौसला दिनुहोस्, लडाइँ जितेपछि तपाईंको महिमा चारैतिर फैलाउने छु, मन्दिर बनाउने छु, सिन्दुरजात्रा गर्ने छु’ भनी भाकल गरेका थिए। 

युद्धमा अंग्रेज फौजलाई हराएपछि कर्णेल उजिर सिंह थापाले १८७६ सालसम्म ३ तले भगवती मन्दिर निर्माण गरी १८७७ साल भाद्र कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव सहितको भगवती रथयात्रा मनाउन थालिएको हो। 

विजयोत्सव राष्ट्रपतिले अवलोकन गर्ने 

२०५ औ विजयोत्सव एवं भगवती रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्ने भएका छन्। राष्ट्रपति पौडेलबाट विजयोत्सव अवलोकन गर्दै भगवती मन्दिर पूजाआजा गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताए। 

विजयोत्सवमा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, रक्षामन्त्री मानविर राई, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीनाथ पाण्डे, नेपाली सेनाका उच्च पदस्थ व्यक्तिहरू, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश अर्थमन्त्री धनेन्द्र कार्की, स्वास्थ्यमन्त्री खेम बहादुर सारु, प्रदेश सभामुख तुलाराम घर्तीमगर लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरूको सहभागी रहने समितिले जनाएको छ। पहिलो पटक विजयोत्सवमा राष्ट्रप्रमुख सहभागी हुने भएका हुन। 

विजयोत्सवमा सहभागी हुने यात्रुहरूलाई ५० प्रतिशतसम्म भाडा छुट 

विजय उत्सवलाई व्यापक जनसहभागिता जुटाउन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बस भाडा छुट दिइएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालि र श्रीनगर यातायात प्राली तानसेनको विजय उत्सव भगवती रथ यात्रामा रहभागी हुने यात्रुहरूका लागि आउने जाने यात्रुहरूका लागि ५० प्रतिशत छुट गरेको हो। अहिले तानसेन बुटवलको एकतर्फी भाडा १५० रुपैयाँ रहेकोमा ११ गते बुटवलबाट तानसेन आउने यात्रुहरूका लागि ७५ रुपैयाँमा एकतर्फी यात्रा गर्न पाउने छन्। श्रीनगर यातायात सेवा प्रालिले ग्रामीण क्षेत्र तथा जुनसुकै स्थानबाट पनि तानसेन यात्रा गर्ने यात्रुहरूका लागि १० प्रतिशत भाडा छुट सुविधा प्रदान गरिएको कार्यालय प्रमुख भविन्द्र गौतमले बताए। 

विजयोत्सवको अवसरमा खान बस्न २५ प्रतिशतसम्म छुट 

अंग्रेज सेनालाई लडाइँको मैदान हराएर धपाउनु वीर नेपालीहरूका लागि गौरवको विषय बनेको छ। अंग्रेज सेनालाई नेपाली सेनाले युद्ध हराएको कुरा सबै नेपालीहरूको जनमासमा फैलाउन सरकारी, गैरसरकारी संघ संस्थादेखि व्यक्तिहरू सक्रिय भएर लागेका छन्। 

विजयोत्सव भगवती रथयात्राको अवसरमा सहभागी हुने पर्यटकहरूका लागि पाल्पाली होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले खाना नास्तामा १५ प्रतिशत र बास बस्न २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। 

विजयोत्सवको अवसरमा पाल्पामा सार्वजनिक बिदा

विजयोत्सव भगवती रथ यात्रामा सबै पक्षको सहभागिता बढाउन लुम्बिनी प्रदेश सरकारले भदौ ११ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला मन्त्रालयले पाल्पामा मनाइने विजयोत्सव भगवती रथ यात्रा राष्ट्रियता जगेर्ना गर्ने राष्ट्रिय दिवस भएकोले विगत केही वर्षदेखि नै सार्वजनिक बिदा दिँदै आएको छ। 

चिटिक्क पारियो विजयोत्सव भगवती रथयात्रा स्थल 

विजयोत्सवमा राष्ट्रपति पौडेल सहितका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता हुने भएपछि विजयोत्सव स्थल वरिपरि सरसफाई गरी चिटिक्क बनाइएको छ। विभिन्न स्थानमा रंगरोगन देखि विशिष्ट व्यक्तिहरूको अवलोकन स्थल, निःशुल्क वाइफाइको व्यवस्था, सुरक्षा प्रबन्ध मिलाइएको छ। 

विजयोत्सवको भगवती रथलाई भदौ ११ गते मंगलबार १२:४५ बजेको शुभ साइतमा उठाइने र दिनभरी तानसेन बजार घुमाउने बेलुका ६ बजे भित्र विसर्जन गर्ने कार्यक्रम रहेको भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.