विराटनगरमा रथयात्रा लक्षित सुरक्षा

विराटनगरमा रथयात्रा लक्षित सुरक्षा

विराटनगर : विराटनगरमा प्रत्येक वर्ष निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। 

विराटनगरको प्रतिष्ठासँग जोडिएको रथयात्राको ९३ औं संस्करण मंगलबार निकालिँदै छ। प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकालिन्छ। रथयात्रा हेर्न पूर्वी नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आउने गरेका छन्। 

मानवीय चहलपहल अत्यधिक हुँदा सुरक्षा चुनौती पनि बढ्ने गरेको छ। रथयात्रालाई भव्य, सुरक्षित र मर्यादित बनाउन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सादा पोसाकका र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको बताए। 

विशेष गरेर यात्राका क्रममा हुनसक्ने चोरी, पकेटमारी र लुटपाट केन्द्रित गरेर प्रहरी सक्रियता बढाइएको हो। डीएसपी बस्नेतका अनुसार शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको छ। विगतमा अवाञ्छित गतिविधिमा संलग्न र केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने काम भइरहेको उनले बताए। 

सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन र भक्तजनको सुरक्षामा प्रहरी चनाखो रहेको उनी बताउँछन्। ‘सम्भावित असुरक्षालाई मध्यनजर गरेर रथयात्राको रुट अनुसारको सुरक्षा व्यवस्था मिलाएका छौं। भक्तजनको सुरक्षामा प्रहरी केन्द्रित छ,’ बस्नेत भन्छन्, ‘मद्दतका लागि विभिन्न युनिटबाट थप प्रहरी ल्याएर परिचालन गरिएको छ। जनचेतनाका लागि ‘माइकिङ’को व्यवस्थासमेत मिलाइएको छ।’

रथयात्राको सुरक्षा तयारी स्वरुप ‘फिल्ड’मा खटिने प्रहरी ‘कमान्डर’लाई मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले सोमबार आवश्यक निर्देशनसमेत दिएका छन्। एसपी कार्कीले सादा पोसाकमा मात्रै १३ वटा टोली परिचालन गरिएको जानकारी दिए। 

‘शंकास्पद व्यक्तिलाई निगरानी गर्न र कुनै घटना भएमा तत्काल नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ,’ उनी भन्छन्, ‘विशेष गरेर भीडभाडमा चोरी, लुटपाट, पकेटमारीको सम्भावना धेरै हुन्छ।’ विगतका वर्षमा भएका घटनाका आधारमा केही व्यक्तिहरु प्रहरीको निगरानीमा रहेका छन्। 

प्रहरीले करिब १ महिना अघिदेखि नै रथयात्रा लक्षित सुरक्षा तयारी थालेको थियो। मोरङ प्रहरीको हिरासतमा अहिले रहेका ६१ जना थुनुवामध्ये सबैभन्दा बढी चोरी मुद्दाका छन्। हिरासतमा रहेकामध्ये २१ जनाविरुद्ध चोरी मुद्दामा अनुसन्धान भइरहेको हो। चोरीपछि दोस्रोमा १० जना अभद्र व्यवहार मुद्दाका थुनुवा छन्। 

चोरी र अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेकाहरुलाई प्रहरीले ‘होल्ड’ गरेर राखेको छ। प्रहरीका अनुसार मुद्दा चलाइएकाहरुको अनुसन्धान अवधि बाँकी नै छ। अनुसन्धान अवधि बाँकी नै रहेको र सुरक्षाको दृष्टिकोले पनि उनीहरु विरुद्धको मुद्दा रथयात्रा सम्पन्न भइसकेपछि मात्रै बुझाउने प्रहरीको तयारी छ। 

एसपी कार्कीले विगतमा चोरी तथा लुटपाट मुद्दा चलेर छुटेकाहरुमाथि पनि सूक्ष्म निगरानी भइरहेको बताए। प्रहरीले आइतबार राति पनि ४ भारतीयसहित ५ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर राखेको छ। चोरी गर्ने उद्देश्य देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 
सोमबार सार्वजनिक बिदा थियो। रथयात्रालाई लक्षित गरेर मंगलबार कोशी प्रदेशमा बिदा दिइएको छ। २ दिन सार्वजनिक बिदा परेका कारण पक्राउ परेकाविरुद्ध बुधबारबाट कानुन अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। 

रथयात्रालाई शान्त, सभ्य, सुरक्षित र भव्य बनाउन प्रहरीले सबैमा अपिल गरेको छ। ‘भीडभाड धेरै हुने भएकाले भक्तजनको सुरक्षाका लागि त्यही हिसाबको योजना बनाएर अघि बढेका छौं,’ एसपी कार्की भन्छन्, ‘सबै जनालाई ढुक्क भएर रथयात्रामा सहभागी हुन अनुरोध गर्दछु।’ उनले भीडभाडमा आउँदा बहुमूल्य गरगहना नलगाउन, बहुमूल्य वस्तु नल्याउन तथा स्वयं आफू पनि सचेत र चनाखो हुन आग्रह गरेका छन्। चोरी हुने सम्भावना रहेकाले आफू बसेको स्थान वा घरको सुरक्षामा पनि ध्यान दिन प्रहरीले सबैमा आग्रह गरेको छ। 

उनका अनुसार कतै केही भएमा तत्काल उद्धार गर्नलाई ‘रिजर्भ’ टोली तयारी छ। कुनै किसिमका अपराधिक गतिविधि हुन लाग्यो वा भइहाल्यो भने तत्कालै प्रहरीलाई खबर गर्न एसपी कार्कीले आग्रह गरेका छन्। ‘रथयात्रालाई भयरहित र सुरक्षितसाथ सम्पन्न गर्न सबै सुरक्षा निकाय सक्रिय भएर लागेका छौं,’ उनी भन्छन्, ‘सुरक्षाका लागि सीसी क्यामेरा जडान गरेर सबै ठाउँमा निगरानी गर्न थालिएको छ।’ 

कुनै अपराधिक र उच्छृङ्खल गतिविधि भएमा तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाउने प्रहरीको तयारी छ। रथयात्रालाई भव्य, सुरक्षित र मर्यादित बनाउन सुरक्षा निकायलाई सबैले साथ दिनुपर्ने एसपी कार्की बताउँछन्। 

रथयात्रामा अपराधिक गतिविधि हुन नदिन विराटनगरमा नगर प्रहरीले समेत सीसी क्यामेराबाट निगरानी गर्ने भएको छ। महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रामा हुने आपराधिक गतिविधिको निगरानी गरिने नगर प्रहरी प्रमुख राजन पौडेलले बताए। उनका अनुसार राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सीसी क्यामेराबाट सूक्ष्म रुपमा निगरानी गरिने छ। 

रथयात्रामा हुने भीडको फाइदा उठाउँदै चोरी, पकेटमारी, महिलामाथि हुने दुव्र्यवहारलगायत घटना हुनसक्ने सुरक्षा विश्लेषण छ। रथयात्राको सबै तयारी पूरा भएको छ। रथयात्रामा नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने अपेक्षा गरिएको राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए। उनका अनुसार यो नेपालको सबैभन्दा ठूलो र पुरानो रथयात्रा हो। 

रथयात्राले विराटनगर बजारभित्रको ९ किलोमिटर यात्रा तय गर्नेछ। रथयात्रा सम्पन्न हुन करिब ६ घण्टा लाग्ने रेग्मीको भनाइ छ। यात्रा अवधिभर ४३ स्थानमा रथलाई विश्राम गराइने छ। १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको यसलाई २०२५ सालदेखि रथयात्राको रूप निकाल्न थालिएको हो। रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.