देउवाले बोलाए उपसभापति र महामन्त्रीद्वयलाई छलफलमा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको प्रस्तावमाथि छलफल गर्न बुढानीलकण्ठमा बोलाएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा सभापति देउवाले आज बिहान उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मालाई छलफलका लागि बुढानीलकण्ठमा बोलाएका हुन् ।
देउवाले केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउनका लागि आवश्यक तयारीका लागि बोलाइएको कांग्रेसका एक पदाधिकारी जानकारी दिए। उनीहरुसँग छलफलपश्चात पदाधिकारी बैठक बोलाउने तयारी छ।
कांग्रेसको केन्द्रीय समिति बैठक भोली बस्दैछ। गत साउन २३ गतेदेखि प्रारम्भ भएको बैठक २८ गतेसम्म चलेको थियो। त्यसपश्चात भदौ ७ गते बैठक बसेर भोलीसम्मका लागि स्थगित भएको हो। बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माले दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने भनी पार्टीमा राखेको प्रस्तावले संस्थापक पक्ष झस्किएको छ। संस्थापन पक्ष मध्यमार्गी बाटो अपनाएर महामन्त्री शर्माको प्रस्ताव पारित गर्ने तयारीमा छ। महामन्त्री शर्माको परिमार्जित प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ।
शर्माको प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटक हुन पाउने पद्धति बसाल्नुपर्छ। कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ।’
कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर महासमिति बैठकदेखि नै विवाद छ। महामन्त्री थापाको प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं।’
संस्थापन पक्ष मध्यमार्गी बाटो अपनाएर महामन्त्री शर्माको प्रस्ताव पारित गर्ने तयारीमा छ।