श्रीकृष्ण : भगवान् एक, लीला अनेक
व्यासदेवका पिता परासर मुनिका अनुसार भगवान् शब्दको अर्थ जोसँग समस्त धनसम्पत्ति, सम्पूर्ण यश, सम्पूर्ण सुन्दरता, सम्पूर्ण ज्ञान र सम्पूर्ण त्याग छ भने उक्त परमपुरुषलाई भगवान् भनिन्छ । यसरी श्रीकृष्णलाई हेर्दा यो पूर्णता देख्न सकिन्छ ।
ब्रह्मसमितामा स्वयं ब्रह्माण्डका सृष्टिकर्ता ब्रह्मजी (जसको ९९ प्रतिशत शरीर बुद्धिले बनेको छ) ले पनि भगवान् श्रीकृष्णको गुणगान गरेको पाइन्छ । त्यस्तै, श्रीमद्भागवत् महापुराण (१.३.२८) मा भगवान्का अवतारहरूको सूची या भगवान्का अंश कला हुन् या पूर्णकला तर भगवान् श्रीकृष्ण भने स्वयं भगवान् हुनुका साथै उहाँ परमशक्ति परमात्मा र निराकार ब्रह्म दुवैका स्रोत पनि भएको उल्लेख छ ।
श्रीमद्भागवत् गीता ( १४.४) मा स्वयं भगवान् श्रीकृष्णले यो भौतिक जगत्मा जे जति पनि जीवयोनीहरूको जन्म लिन सम्भव भएको देखिएका छन् ती सबैको बीचदाता पिता म नै हुँ भनेर भनेको पाइन्छ । साथै भागवद् गीतामा भगवान्ले बोलेका श्लोकहरूमा श्रीभगवानुवाच भनेर उल्लेख गरिएको छ न कि अर्जुन, सञ्जय, धृतराष्ट्रले बोलेको वाक्यमा अर्जुनुवाच, सञ्जय उवाच, धृतराष्ट्र उवाच भनेर उल्लेख गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तमा यसलाई अनुमोदन यसरी गरेको पाइन्छ,
संसार रहेछ निशा समान
नभो जिउँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
नभो ज्ञान न भक्ति नभो विवेक ।।
यसबाट हामीले जीवनमा श्रीकृष्णको भक्ति (कृष्ण प्रेम) प्राप्त गर्नु नै एकमात्र सार्थक जीवनलाई सार्थक बनाउने उपाय हो ।
श्रील रूपको स्वामीले भक्ति र शान्ति सिन्धुमा भगवान् श्रीकृष्णका धीरोदात्त, धीर–ललित, धीर प्रशात र धीरोद्धत गरी चार प्रकारका व्यक्तित्वको बारेमा उल्लेख गर्नुभएको छ । स्वभावैले जुन व्यक्ति शान्त, भद्र, क्षमाशील, कृपालु, दृढसंकल्प, विनीत, परमयोग्य, पराकर्मी र शारीरिक सुसंगठन एवं सौन्दर्ययुक्त हुन्छ जसलाई दृढत्त भनिन्छ । त्यस्तो व्यक्ति जो स्वभावैले बिनोद प्रिय नित्यतरुण परिहासपुट र सम्पूर्ण चिन्ताबाट मुक्त हुन्छ त्यसलाई धीर–ललितको रूपमा चिनिन्छ । एकदमै शान्त सहिष्णु विचारवान् र उपकारी जुन व्यक्ति छ त्यसलाई नै धीर प्रशान्त भन्न सकिन्छ ।
भगवान् श्रीकृष्णमा यो गुण पाण्डवहरूसँगको व्यवहारमा प्रष्टसँग देख्न सकिन्छ । अत्यन्तै ईष्र्यालु घमण्डी क्रोधी अशान्त व्यक्तिलाई धीरोदत्तको रूपमा चिनिन्छ । कृष्ण चरित्रमा यस्ता गुणहरू देख्न सकिन्छ । श्रीमद्भागवत गीता महाभारतको भीष्म पर्वमा पर्वमा पर्छ जुन भीष्मपर्वको २५औं अध्यायदेखि ४२औं अध्यायसम्म समावेश गरिएको छ । यसलाई गीतोपनिषद् भनिन्छ अर्थात् भगवान्ले गएको गीत, गीता रजविद्या अथवा विद्याहरूको राजा पनि हो ।
कुरुक्षेत्रको युद्धभूमिमा पाण्डव र कौरवबीचको रणमैदानमा कृष्णले सारथिको भूमिका निभाइरहनु जो कोहीलाई थाहा भएकै कुरा हो । उक्त अवस्थामा युद्धलाई ४५ मिनेट रोकेर भगवान् श्रीकृष्णबाट आफ्ना परममित्र अर्जुनलाई दिनुभएको भगवद् गीताको ज्ञान प्रवाह भएको थियो । सोही ज्ञान करिब २० लाख वर्ष पूर्व मनुले आफ्नो छोरा तथा शिष्यलाई यो भागवत् गीताको उपदेश दिएका थिए । मनुको जन्मभन्दा अगाडि नै भगवान्ले आफ्ना शिष्य विवस्वानलाई यो गीता सुनाएको ग्रन्थहरूमा उल्लेख छ । कालक्रममा गुरु शिष्य परम्परा छिन्नभिन्न भएपछि महाभारतमा यो ज्ञान पुन सुनाइएको हो ।
भगवान्का धेरै अवतारहरू छन् जसमध्ये पुरुषावतार, लीलाअवतार, शकत्यावेशावतार, मन्वन्तरावतार र युगावतार मुख्य हुन् । भगवान् रामचन्द्रले पुरुषा अवतारको रूपमा यस धराधाममा प्रकट हुनुभएको थियो । हरेक मनुहरूको अन्त्यमा हुने अवतारलाई मनवन्तर अवतार भनिन्छ । यस ब्रह्माण्डमा स्वयम्भूव, स्वारोचिष, औत्तम, तामस, रैवत, चाक्षुष, वैवस्वत, सावर्र्णी, दक्षसावर्णी, ब्रह्मसावर्णी, धर्मसावर्णी, रुद्रसावर्णी, रौच्य, भौत्य गरी १४ वटा मनुले शासन गर्छन् ।
वर्तमान मनु सातौँ मनु अर्थात् वैवस्वत मनु हुन् । शकत्यावेशावतार भगवान्को निश्चित योजना परिपूर्तिका लागि हुने गर्छ । गौतम बुद्धलाई भगवान् विष्णुको सत्यावेश अवतारको रूपमा मानिन्छ । तिरुभयमोलीमा अलवरहरूले, पद्म पुराण उत्तर खण्ड, ब्रह्मवैवर्त पुराण, श्री चैतन्य भागवत र चैतन्य मंगल ग्रन्थमा भगवान्को सत्यावेश अवतारको रूपमा सेनापति भक्त गौडिया वैष्णवका आचार्य अभयचरणारविन्द स्वामी प्रभुवाद, जसले भगवान् श्रीकृष्णको नाम विश्वभरि प्रचार गर्नुहुने कुराको भविष्यवाणी गरिएको छ ।
भगवान्को युगावतार हरेक युगको प्रारम्भमा हुने गर्छ । आजभन्दा करिब पाँच हजार वर्षअगाडि देवकी र वासुदेवका आठौं सन्तानको रूपमा मथुरामा कृष्णको जन्म भएको थियो । श्रीकृष्णले मखन चोरीको बाललीला, इन्द्रको मुसलधारे वर्षाबाट ब्रजवासीलाई बचाउन देब्रे हातको कान्छी औंठाले गोवद्र्धन पहाडलाई उठाएर गोवद्र्धन लीला, मणिग्रीव र नलकुवरको उद्धार, कंशको वध, प्रलम्बासुरको वध, अगासुरको वध, पुतना वध, कालिया दमन, तिनावर्तको उद्धार इत्यादिजस्ता लीलाहरू पढ्न पाइन्छ ।
पञ्चमहाभूत (पृथ्वी, जल, अग्नि, वायु, आकाश), पाँच ज्ञानेन्द्रिय, पाँच कर्मइन्द्रिय, पाँच विषय (शब्द, रूप, रस, गन्ध, स्पर्श), मन, बुद्धि, अहँकार, आत्मा र परमात्मा गरी २५ तत्व मिलेर बनेको जीव बनेको हुन्छ । यसरी हेर्दा ईश्वरका तीनवटा स्वरूप ब्रह्म, परमात्मा र भगवान्लाई बुझ्नु हरेक जीवको अस्तित्वको अर्थ हो ।