प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयका मन्त्रीहरूले सांसदले सोधेका प्रश्नको जवाफ दिने
काठमाडौं : संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको बेपत्ता पारिएका व्यक्तिको छानविन ,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्।
बैठकमा तीन मन्त्रालयका मन्त्रीहरूले संसदमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूचीमा उल्लेख छ। स्वास्थ्य तथा जनसंख्या,वन तथा वातावर र ऊर्जा,जलस्रोत तथा सिचाइँ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'धितोपत्र सम्बन्धी ( पहिलो संशोधन) विधेयक, २०८१' माथि विचार गरियोस् ' भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वभूमिसुधार तथा व्यवस्था राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनको ७१ वर्षको उमेरमा गत साउन ०६ गते निधन भएो थियो।