किन दुख्छ, टाउको ?
अस्पतालको आकस्मिक कक्षमा आउनेमध्ये एक÷दुई प्रतिशत सेवाग्राहीहरू टाउको दुख्नेहरू हुन्छन् । दीर्घकालीन एवं दोहोरिएर पैदा हुने र आफैं सञ्चो हुने प्रकृतिको भन्दा अचानक सुरु भएर टाउको बढ्दै गएको पनि हुन्छ । यसबाहेक अन्य लक्षणहरूसहित पैदा हुने टाउको दुखाइ बढी गम्भीर हुने भएकोले यसतर्फ सचेत हुन आवश्यक छ । यस्तो टाउको दुखाइ मस्तिष्क एवं अन्य रक्तसञ्चार प्रणालीमा पैदा भएको खराबीको कारण पनि पैदा हुन सक्छ ।
टाउको को बाह्य संरचना छाला मासु र हड्डी अर्थात् खप्परबाट बनेको हुन्छ । माथिल्लो भाग अर्थात् शिरभित्र तीन तह या पत्रहरूबाट बेरिएको मस्तिष्क हुन्छ भने तलको भागमा आँखाको खोपिल्टो, नाक र सँगै रहेका साइनसहरू एवं कान (बाह्य, मध्य र भितृ गरी तीन भागमा विभाजित ) सहित अनुहार रहेको हुन्छ ।
टाउको दुखेमा, मस्तिष्कमा ट्युमर भएको या उच्च रक्तचापका कारण मस्तिष्कघातको आशंका पैदा हुन्छ । न सामान्य उच्च रक्तचापको कारण न मस्तिष्कमा ट्युमर हुनेबित्तिकै टाउको दुख्छ । त्यसैले यस्ता रोगहरूका अन्य कारण र लक्षणहरू समयमै ठम्याउनु पर्छ ।
हाम्रो शरीरका सतहहरूमा पैदा हुने चिसो, तातोसँगै दुखाइको संवेगलाई मस्तिष्कसम्म प्रसारण गर्ने काम स्नायुहरूले सम्पादन गर्छन् । हाम्रो हड्डीले बनेको खप्परभित्र तीन तहको झिल्लीले घेरिएर मस्तिष्क (गिदी) रहेको हुन्छ । जसको तौल १ दशमलव ४ किलोग्राम जति हुन्छ । तर गिदीका तन्तुहरूमा त्यस्ता दुखाइसम्बन्धी चेतनाको प्रवाह गर्ने नसाहरू हुन्नन् । त्यसैले गिदीभित्र मात्रै पैदा भएको गडबडीले टाउको दुखाइ सिर्जित गर्दैन । तर त्यस्तो सुजन बढ्दै गएमा मात्रै टाउको दुख्ने गर्छ ।
टाउकोका रहेका त्यस्ता संरचना या तन्तुहरू रगत या स्नायुका नसाहरू थिचिँदा, सुजन हुँदा, सुन्निँदा, दाह हुँदा दुखाइ या पीडा पैदा हुन सक्छ । गिदीलाई चलाउँदा दुखाइ हुन्न । तर गिदीलाइ घेर्ने पत्र अर्थात् मेनिन्जससम्म तनाव नपुग्दासम्म टाउको दुख्दैन ।
सबैजसो व्यक्तिलाई जीवनकालमा टाउको दुख्ने गर्छ । वयस्कहरूमध्ये आधा जतिलाई वर्षमा कम्तीमा एक पटक टाउको दुख्छ । सात प्रतिशत वयस्कहरूमा पटकपटक सिर्जित भइरहने अर्धकपालको दुखाइ (माइग्रेन) पुरुषमा भन्दा महिलामा तीन गुणा बढी हुन्छ । ९० प्रतिशत टाउको दुखाइ यो वर्गमा पर्दछ जस्मा व्यक्तिलाई टाउको दुखाइबाहेक अन्य अवयव या प्रणालीसम्बन्धी रोगहरू देखिँदैनन् ।
टाउको दुखाइसँगै अन्य रोगका लक्षणहरू नभएका अर्थात् प्राथमिक टाउको दुखाइका विभिन्न कारणहरू छन् । लामो समय हर्माेन अन्य रसायन वा औषधिको प्रयोग, अल्कोहलको सेवन, खाली पेट, पानीको मात्रा कम हुनु, तनाव वा चिन्ता, मानसिक तनाव या चिन्ता यी सबै प्रकारको टाउको दुखाइको प्रमुख कारण हो । त्यस्तै अनिद्रा, मसला, कडा चिया कफी, कोकजस्ता पेयपदार्थहरू पनि कारक छन् ।
प्राथमिक टाउको दुखाइका दुई सयभन्दा बढी कारणहरू भए पनि ९० प्रतिशतमा अन्य कारण छन् । जस्तो, टेन्सन हेडेक (सामान्यतया तनाव या एक्लै रहँदा दुवैतिरको कञ्चट दुख्ने, अठ्याउँदा, दबाउँदा आराम लाग्ने यो किसिमको टाउको दुखाइ पहिलो श्रेणीमा पर्दछ । यो दुखाइमा नसा ब्लक ब्लक गरे जस्तो हुन्न । अन्य प्रकारको दुखाइ शारीरिक हलचल गरे झन् दुख्छ भने टेन्सन प्रकारको टाउको दुखाइ शारीरिक व्यायाम गर्दा आराम पुग्छ ।
माइग्रेन (अर्धकपाली) चाहिँ पुरुषलाई भन्दा तीन गुणा बढी महिलालाई हुन्छ । विशेषगरी किशोरीदेखि वयस्क उमेरका ७ प्रतिशत महिलाहरूमा पटकपटक टाउको दुख्छ । केही घण्टादेखि एक÷दुई दिनसम्म पनि रहन सक्ने माइग्रेन (टाउको दुखाइ)ले सताउने गर्छ । माइग्रेनका विशेष लक्षण र चरण हुन्छन् । पहिलो दुखाइ पूर्वको चरण हो । केही व्यक्तिहरूमा २५ प्रतिशत माइग्रेनको दुखाइ सुरु हुनु केही घण्टाअघि यस्ता लक्षणहरू देखिन्छन् । जस्तो, हाई लाग्नु, अत्यधिक भोक लाग्नु, पटकपटक पिसाब लागिरहनु, आँखा पोल्नु, मनोदशा बदलिनु, छटपटिनु, वाकवाकी लाग्नु आदि हुन् । दोस्रो, औडाहाको चरण हो । टाउको दुख्नु ५ देखि ६० मिनेटअघि यो लक्षण पैदा हुन्छ ।
यो चरणमा केही समय अन्धकार छाए जस्तो आँखामा बिजुली चम्के जस्तो अनुभूति हुने गर्छ । त्यस्तै झमझम गर्ने, बोली लर्बरिनु, कुनै अंग नचले जस्तो हुने गर्छ । त्यस्तै अर्धकपालीको टाउको दुखाइले पनि सताउँछ । माइग्रेनको टाउको दुखाइ चार घण्टादेखि तीन दिनसम्म कायम रहन्छ । माइग्रेनको बलकबलक गर्ने चडकने, पोलेजस्तो, सुइँ रोपेजस्तो अनुभूति हुने गर्छ । यस्तो दुखाइ एकापट्टि रहे पनि दुवैतिर पनि ४० प्रतिशत दुखाइ हुन सक्छ । काममा बाधा पर्ने, झिँजो लाग्ने चर्को आवाज वा प्रकाश सहन नसक्नेजस्ता समस्याहरू पैदा हुन्छन् । दुखाइ पनि हुन सक्छ । काममा बाधा पर्ने, झिँजो लाग्ने चर्को आवाज वा प्रकाश सहन नसक्ने जस्ता समस्याहरू पैदा हुन्छन् । मानसिक तनाव या चिन्ताले पनि माइग्रेनको समस्या बढाउँछ ।
रोकथाम एवं उपचारका रूपमा प्रशस्त पानी पिउने, अदुवाको रस पिउँदा पनि फाइदा हुन्छ । घरेलु उपचार गर्न सकिन्छ । सम्बन्धित विशेषज्ञसँग जाँच गराएर दुखाइ कम गर्ने औषधिहरू सेवन गर्न सकिन्छ । तर सावधान हुनु पर्छ । किनकि दुखाइ कम गर्ने औषधिहरूको अत्यधिक प्रयोगले मिर्गौला कलेजो खाने नली आदिलाई गम्भीर क्षति पुर्याउन सक्छन् । त्यसैले यस्ता औषधिहरू बिरामी स्वयंले अत्यधिक मात्रामा प्रयोग गर्नु घातक हुन सक्छ । माइग्रेनको टाउको दुखेमा अँध्यारो शान्त आवाज नआउने कोठामा आराम गर्न सकिन्छ । आँखामा पट्टी र कानको प्वाल प्लग गर्न सकिन्छ । बरफले टाउको गर्धन सेक्दा पनि फाइदा हुन्छ । चिया, कफी एवं मसलादार वस्तुको सेवन गर्नु हुँदैन । पर्याप्त र प्राणायाम एवं यौगिक अभ्यासहरू गर्नुपर्छ ।
माथि उल्लेखितभन्दा क्लस्टर प्रकारको टाउको दुखाइ बढी तिखो र आँखाको वरिपरि सुईंले रोपे जस्तो हुन्छ । नाक र आँखाबाट पानी बग्ने पनि हुन सक्छ । माइग्रेनको विपरीत यो प्रकारको दुखाइले ३०÷४० वर्षको उमेरसमूहका लोग्नेमानिसहरूमा बढी प्रभावित गर्छ । यस्तो दुखाइ कैयौं महिनाको अन्तरालमा हुने यस्तो दुखाउ एकैदिनमा केही मिनेटसम्म रहने गरी ८ देखि १० पटकसम्म दोहोरिन सक्छ । यो पनि विज्ञ चिकित्सकबाट परीक्षण गरी उपचार हुन्छ । ज्वरो र टाउको दुखाइमा भाइरलजन्य संक्रमण जस्तो रुघाखोकी, इन्फ्लुएन्जा, डेंगुदेखि मलेरिया, टाइफोइड, न्युमोनिया, पिनास, मेनिन्जाइटिस, इन्केफालाइटिसजस्ता संक्रामक रोगहरू लाग्दा पनि ज्वरो, जिउ मांसपेशीसँगै टाउको पनि दुख्ने गर्छ ।
त्यस्तै पिनास (साइनुसाटिस) मा पनि टाउको दुख्छ । रुघाखोकी जटिल भएर या अन्य संरचनात्मक एवं अस्वस्थताका कारण सिर्जित पिनासको कारण पनि नाक र त्यसको वरिपरि अनुहार, निधार, अनुहारमा एवम् दाँतमा समेत दुखाइ हुन सक्छ । सामान्यतया सात दिनमा सञ्चो हुनुपर्ने रुघाखोकी सँगै नाकबाट बाक्लो सिँगान, घाँटीबाट खकार, अनुहार, निधार एवं टाउकोमा दुख्ने, मध्याह्नतिर घाममा घोप्टो पर्दा पिनास (साइनुसाइटिस)को दुखाइ बढ्छ । सामान्य एक्सरेमा पनि अल्पकालीन पिनास देखिन सक्छ ।
मस्तिष्क एवं रक्तनलीसम्बन्धी गम्भीर टाउको दुखाइ, मेनिन्जाइटिस, इन्सेफ्लाइटिस, कुनै अंग नचल्ने, बाँगिने, चेतनामा ह्रास आउने, घाँटी अररिने, आँखा फुल्ने, बान्ता हुनु आदि लक्षणहरूले गम्भीरताको संकेत गर्छन् । यस्तो अवस्थामा तुरुन्तै सम्बन्धित विशेषज्ञलाई
परीक्षण गराउनुपर्ने हुन्छ ।
टाउको दुख्दा तत्कालै स्क्यानिङ (सिटी वा एमआरआई अथवा दुवै) गर्नुपर्ने अवस्थाहरू पनि आउन सक्छ । दृष्टिशक्ति कमजोर हुँदै गए, घाँटी अररिएमा, नाक बन्द हुँदा, टाउको दुखाइ बढेमा, अचानकको टाउको दुखाइ बढ्दै गए , शरीरको भाग या अंग कमजोर भए निल्न गाह्रो भए आदि अवस्थामा स्क्यानिङ गर्नुपर्ने हुन्छ । नत्र पटकपटक दोहोरिँदै सञ्चो हुने टाउको दुखाइमा स्क्यानिङ गर्नु अनावश्यक र हानिकारक पनि हुन सक्छ । यसमा सजग हुनुपर्छ ।
(डा. पौडेल, नाक, कान घाँटी रोग विशेषज्ञ हुन् )