जलवायु परिवर्तनको असर खानेपानीमा देखियो,समाधानका लागि एकभएर लागौं : मन्त्री यादव
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले देशभरिका खानेपानी समस्याको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताएका छन्। सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरू सुक्दै जानु र यसले निम्त्याएका समस्याहरूको समाधानका लागि समग्र देशको सहभागिता नै अपरिहार्य रहेको बताएका हुन्।
मन्त्री यादवले सेता हिमाल काला हुँदै हिउँ पग्लनु,पहाडमा पानीका मुहान सुक्न थाल्नु र चुरेको दोहनले मधेशमा चापाकलहरू सुक्न थाल्नुलाई जलवायु परिवर्तनका गम्भीर प्रभाव रहेको बताए। उनले देशभर जलस्रोतको वैज्ञानिक अध्ययन गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।
'विश्वले निकट भविष्यमा पानीकै कारण ठूलो चुनौती सामना गर्नुपर्ने अवस्था आउने देखिन्छ । नेपालले समस्या गम्भीर बन्नु अघि नै सजग हुन आवश्यक छ,'मन्त्री यादवले भने । उनले खानेपानीसम्बन्धी ऐन, नियमावलीहरूमा कुनै समस्या भएमा समाधान गर्दै अगाडि बढ्न सकिने स्पष्ट पारे।
उपभोक्ता महासंघलाई जनताको घरसम्म पुगेर लाखौंलाई खानेपानी उपलब्ध गराएकोमा धन्यवाद दिँदै मन्त्री यादवले बिजुली र अन्य सुविधामा छुटको व्यवस्था आवश्यक रहेको बताए । साथै,उनले साना उपभोक्ता संस्थाहरूलाई एकीकृत गरी काम गर्नुपर्ने सुझाए।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिहरूलाई व्यावसायिक उद्देश्य राखेर अघि बढ्न आग्रह गरे। महासंघका अध्यक्ष राजेन्द्र अर्यालले कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने माग गर्दै खानेपानीका सबै पहलमा समन्वय आवश्यक रहेको बताए।
गोष्ठीमा विभिन्न निर्माण तथा मर्मत कार्य,पाइप बिछ्याउने समन्वय र अन्य चुनौतीहरूबारे चर्चा गर्दै विशेषज्ञहरूले गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिए । यसै अवसरमा,मन्त्री यादवले चितवनमा रहेका विभिन्न खानेपानी आयोजनाहरूको अनुगमन गर्दै वर्तमान स्थिति र चुनौतीहरूको अवलोकन गरे । उनले आयोजनाहरूलाई प्रभावकारी रूपमा सञ्चालनका लागि निर्देशन समेत दिए।