सरकारप्रति प्रचण्डको आक्रोश : जनतालाई साथमा लिएर संसददेखि सडकसम्म खबरदारी र नियन्त्रण गर्छौं
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका एकएक अपराधलाई यही संसदमा नंग्याउने,खबरदारी गर्ने दाबी गरेका हुन्।
उनले भने,‘बरु,आवश्यक परे जनतालाई साथमा लिएर संसददेखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ। पछिल्ला चालीस दिनमा प्रतिपक्षको नैतिक शक्ति जनताले देखिसकेको छ।’उनले भने,‘धेरैलाई लागेको हुँदो हो, प्रतिपक्षको यति सानो संख्याले दुई तिहाइको सरकारलाई कसरी खबरदारी र नियन्त्रण गर्ला ? संख्यामा होला दुई तिहाइ तर सरकारको जगमा विश्वास होइन, डर थियो र छ। यो सरकार जहाँ, जतिखेर र जसरी बन्यो, गर्भदेखि नै जनताका बीचमा ‘एक्सपोज’ थियो र अझ भइरहेको छ।’
उनले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताए। उनले सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर भएको दाबी गरे।
प्रचण्डले भने,‘म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ। सरकारमाथि पहिलो वहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो। तर, चालीस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ। संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ। जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ।’
प्रचण्डले अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गरे। उनले भने,‘सत्ताको कुनै पनि अनैतिकता,बेथिति र बेइमानीको हामी निरीह साक्षी हुने छैनौं।’