मिलबाट अवैध काठ बरामद

मिलबाट अवैध काठ बरामद

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा रहेको काठ मिलबाट अवैध काठ बरामद गरिएको छ।

हिमाल काठ उद्योगमा लुकाइछिपाइ राखेको सिसौ प्रजातिको चिरान काठ फेला परेपछि बरामद गरिएको वन कार्यालयले जनाएको छ। मिलमा अवैध काठ लुकाएर राखेको सूचना प्रहरीलाई आएको थियो। वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सोमबार साँझ ६:३० बजेतिर छापा हानेर काठ बरामद गरेको हो। 

सब डिभिजन वन कार्यालय लाटीझोडाका प्रमुख एवं वन अधिकृत अमृत पन्तले आवश्यक कागजात फेला नपरेपछि काठ बरामद गरिएको बताए। उनका अनुसार काठ सुनसरीको इटहरीबाट ल्याएर मिलमा राखेको पत्ता लागेको छ। वन कार्यालयको अनुमति बिना नै एउटा जिल्लाबाट अर्को जिल्लामा काठ ओसारपसार गरेको पाइएको पन्तले बताए। 

उनका अनुसार काठ अन्तरजिल्ला लैजाँदा राजस्व तिरेर चिरान आदेशसहितको छुट पुर्जी लिनुपर्ने हुन्छ। तर, प्रक्रिया पूरा नगरिकन इजाजत बिना ल्याएर राखेको पाइएपछि बरामद गरिएको जानकारी वन अधिकृत पन्तले दिए। उनका अनुसार प्रहरी र वन कार्यालयको टोली आएको थाहा पाएपछि काठ लिएर आएकाहरु फरार भएका थिए। 

चिरान काठ ९७ थान (१३५.१६ क्वीफिट) बरामद गरिएको वन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उक्त काठ लगभग ५ लाख ४० हजार मूल्य बराबरको छ। ‘सीटी सफारीमा राखेर काठ मिलसम्म ल्याएको पाइयो। तर, धुलिया लागेका पुराना काठहरु छन्,’ पन्त भन्छन्, ‘घरयासी प्रयोजनकै काठ हुनसक्ने देखिन्छ। अन्तरजिल्ला ओसारपसार गर्दा सम्बन्धित निकायबाट इजाजत लिनुपर्ने हुन्छ।’ 

मिलका सञ्चालक भेषराज राईले उक्त काठ इटहरीका सन्तोष लम्सालको भएको बताए। ‘म मिलमा थिइन। तर, काठ पठाइदिन्छु चिरेर राखिदिनु है भनेर लम्साल दाइले भन्नु भएको थियो,’ राई भन्छन्, ‘पहिल्यै चिरेर राखेका काठ फर्निचरको सामान बनाउन आवश्यक ‘साइज’ निकाल्नलाई पुन: चिरान गर्न ल्याइएको हो। आफ्नै बारीमा रोपेको सिसौबाट निकालेको काठ रहेछ।’

राईका अनुसार लम्सालले ५/६ वर्षअघि बारीको सिसौ चिरेर काठ घरमा राखेको बताएका छन्। त्यही काठ वन कार्यालयले बरामद गरेर लगेको उनको भनाइ छ। यस विषयमा थप अनुसन्धान भइरहेको वन अधिकृत पन्तले बताए। ‘चिरान काठ भएपनि ओसारपसार गर्न अनुमति चाहिन्छ। प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भने, ‘यस विषयमा मिलका सञ्चालकसँग थप कुरा बुझ्दैछौं। काठका धनी पत्ता लगाउँदैछौं।’ थप अनुसन्धान भइरहेको बताउँदै पन्तले यस घटनामा मुछिएकाविरुद्ध बिना इजाजत काठ ओसारपसार गरेको कसुरमा मुद्दा चल्नसक्ने जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.