उपाधि लक्ष्यसहित साफ यु-२० च्याम्पियनसिपको फाइनल खेल्न नेपाल र बंगलादेश तयार
काठमाडौं : साफ यु-२० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बंगलादेश भिडदैछन्।
फाइनल खेल सातदोबाटोस्थित एन्फा कप्लेक्समा दिउसो साढे दुई बजे सुरु हुनेछ। नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक साफ यु-२० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन्।
फाइनल अघि मंगलबार एन्फा कप्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली यु-२० राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले फाइनलको तयारी निकै राम्रो भइरहको बताए। उनले बंगलादेशसँग समूहचरणमा निकै राम्रो खेल खेलेको भन्दै फाइनलमा पनि बलियो रणनीतिका साथ मैदान उत्रने बताए।
त्यस्तै नेपाली यु-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघिका सबै खेलका साथै अभ्यास पनि एन्फा कप्लेक्समा भएका कारण फाइनल सोही मैदानमा खेल्न थप सहज हुने बताए। फाइनलको दबाब झेल्न नेपाली टीम तयार रहेको उनको भनाइ छ।
त्यस्तै बंगलादेशका कप्तान र प्रशिक्षकले पनि फाइनलका लागि पूर्णरूपमा तयार रहेको बताएका छन्। सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। समूह चरणमा दुवै टोली समूह ए मा रहेका थिए।