यस्तो देखियो विराटनगरको राधाकृष्ण रथयात्रा (फोटोफिचर)
विराटनगर : विराटनगरमा केहीबेर अघिबाट यसवर्षको राधाकृष्ण रथयात्रा सुरु भएको छ। विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक रथयात्रा जारी छ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिन्छ। रथयात्रामा हजारौं भक्तजन सहभागी छन्। रथयात्राकै कारण विराटनगरमा आज मानवीय चहलपहल पनि अत्यधिक छ।
विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडीसहितको रथ निकालिएको हो। रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्ने छ।
रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ। यात्राका क्रममा रथलाई ४३ स्थानमा विश्राम गराइने छ।
विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिँदै आएको छ। यो विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो।
२०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो। आज निकालिएको रथयात्रा खटको ९३ औं र रथको ५६ औं संस्करण हो। रथयात्रालाई लक्षित गरेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ।