साफ यू–२० को उपाधि हात पार्ने लक्ष्यमा नेपाल, आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू–२० को उपाधि हात पार्ने लक्ष्यमा नेपाल, आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
सुन्नुहोस्

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

सेमिफाइनलमा नेपालले भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन्। दुवै टोली टाइब्रेकरमा भाग्यमानी बन्दै फाइनलमा पुगेका हुन्। टाइब्रेकरमा नेपालले भुटानलाई ४–१ र बंगलादेशले भारतलाई ४–३ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

मंगलबार आयोजित प्रिम्याच कन्फरेन्समा नेपाल र बंगलादेशका प्रशिक्षक र कप्तानले उपाधि भिडन्तका लागि तयार भएको बताएका छन्। नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अभ्याससँगै यसअघिका सबै खेल एन्फा कम्प्लेक्समा भएकाले फाइनल खेल्न सहज हुने बताए। उनले नेपाली टोली उपाधि जित्न आतुर रहेको बताए।

‘फाइनल खेलका लागि हामी तयारी अवस्थामा छौं’, उनले भने, ‘बंगलादेश हाम्रा लागि कठिन टिम हो। त्यसैले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुनेछ।’ नेपाली टोलीका कप्तान कुशल देउवाले फाइनलको तयारी निकै राम्रो भएको जनाउँदै बंगलादेशविरुद्ध समूह चरणमा जस्तै बलियो रणनीतिका साथ मैदान उत्रने बताए।

यसैगरी बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाइनलसम्मको यात्रा गर्दा धेरै उतारचढाव भोगेको बताउँदै आफ्नो टोली फाइनलका लागि तयार रहेको बताए। ‘हामीले धेरै उतारचढाव भोग्यौं। नेपाल निकै बलियो टोली हो। उसले घरेलु मैदानमै खेल्दै पनि छ। यसका बाबजुद हामीले पनि राम्रो तयारी गरेका छौं’, उनले भने, ‘हामी नेपाललाई चुनौती दिन तयार छौं।’

बंगलादेशका कप्तान मोहमद आसिफले उपाधि घडेरी तोड्दै यस पटक ट्रफी जितेरै घर फर्कने बताए। ‘नेपाली टोली निकै राम्रो छ। नेपालका दुई जना विंगर निकै छरिता छन्। तर, हामीले उनीहरूका विषयमा रणनीति बनाएका छौं’, उनले भने, ‘हाम्रो रणनीति सफल भएमा उपाधि जित्ने छौं।’

नेपाल र बंगलादेश जारी प्रतियोगितामा दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गरेको थियो। समूह ‘ए’को विजेता बन्ने क्रममा नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो भने बंगलादेशले श्रीलंकालाई २–० गोलले पाखा लगाएको थियो।

नेपाल र बंगलादेश साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। सन् २०१५ र २०१७ को उपाधि विजेता नेपाल सात वर्षपछि उपाधि नजिक पुगेको हो। बंगलादेशले भने तेस्रो पटक फाइनल खेल्न लागेको हो। यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो। तर, दुवै पटक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बंगलादेश उपविजेता बनेको थियो। तर, त्यसबेला राउन्ड रोविनका आधारमा प्रतियोगिता सञ्चालन भएको थियो। लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोली विजेता बनेको थियो। उमेर समूहमा नेपालले अहिलेसम्म हार बेहोरेको छैन। यसअघिका हरेक भेटमा नेपालले बंगलादेशलाई पराजित गर्दै आएको छ। सन् २०१५ र २०१७ मा नेपालले उपाधि जित्दा बंगलादेशलाई नै पन्छाएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.