विभागीय प्रमुखलाई मन्त्री पाण्डेको निर्देशन
कार्यतालिका बनाएर काम गरिरहेको छु, तपाईंहरू पनि नतिजा देखिने गरी काम गर्नुहोस्
काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन्। बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले जिम्मेवारीमा आएदेखि कार्यतालिका बनाएर आफू काम गरिरहेको बताउँदै कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरि काम गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन समेत दिए।
उनले कुन निकायमा कुन ऐन,कानुनको खाँचो छ ? यसलाई प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । 'मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु,' मन्त्री पाण्डेले भने,'तपाईंहरू पनि कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरि काम गर्नुहोस्।'
उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दबाब,प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरे। मन्त्री पाण्डेले मन्त्री,सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै इमान्दारिताका साथ काम गर्न समेत निर्देशन दिए।
मन्त्री पाण्डेले प्रत्येक बुधबार मन्त्रालय मातहतका सम्वद्व विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन्।