अघि बढ्यो भेरी लिफ्टिङ आयोजना, साढे तीन अर्ब लागतमा चिनियाँ कम्पनीसँग सम्झौता

अघि बढ्यो भेरी लिफ्टिङ आयोजना, साढे तीन अर्ब लागतमा चिनियाँ कम्पनीसँग सम्झौता
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगरमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि उपयुक्त विकल्पका रूपमा हेरिएको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण चरणमा अगाडि बढेको छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा चरम खानेपानी अभावको समस्या समाधान गर्न २०७३ सालदेखि चर्चामा रहेको भेरी लिफ्टिङ खानेपानी आयोजना बल्ल निर्माणको चरणमा अगाडि बढेको हो। 

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय सुर्खेत र चिनियाँ निर्माण कम्पनीबीच बुधबार सम्झौता भएसँगै अब भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण हुनेमा ढुक्क भएको हो। आयोजना कार्यालयले ग्लोबल टेण्डरमार्फत सिज्याङ टम्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को-अपरेसन कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनीलाई उक्त आयोजना निर्माणका लागि छनोट गरेको थियो। यही कम्पनीले आगामी तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी ३ अर्ब ५० करोड ८ लाख १५ हजार २ सय ८० रुपैयाँ लागतसहित निर्माण सम्झौता गरेको हो। 

आयोजना इकाईका प्रमुख सन्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र कम्पनीका प्रतिनिधि सुशिल श्रेष्ठबीच बुधबार औपचारिकरूपमा निर्माण सम्झौता गरिएको छ। आगामी ३० वर्षसम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई मध्यनजर गरी यहाँको चरम खानेपानीको अभावलाई पुर्ति हुने गरी सहज खानेपानी सुविधा आपूर्ति गर्ने लक्ष्यका साथ आयोजना निर्माण गर्न लागिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले बताइन्। 

उनका अनुसार संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा चालू आर्थिक वर्ष २०८१/०८२ बाट संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन लागिएको छ। 

नगर प्रमुख ढकालले यो आयोजना कार्यान्वयका क्रममा कुनै समस्या आउन नदिने बताइन्। उनले भनिन्, ‘यो आयोजना नगरपालिकाले गौरवको आयोजनाका रूपमा अपनत्व लिने गरी विशेष प्राथमिकतामा राखेको छ। यसमा तीनै तहका सरकारहरुले आपसी समन्वय र सहकार्य जरुरी छ। मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना भएकाले आशंकाका बीच आयोजना अघि बढाएका छौं। यसमा हामी सबै सफल बन्नुपर्छ।’

सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजना निर्माणमा विलम्ब गर्न नहुने बताए। उनले वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दिनानुदिन बढ्दै गएको खानेपानीको समस्या समाधानका लागि एकमात्र विकल्प भेरी लिफ्ट रहेकाले समयमै निर्माण सम्पन्न गर्नका लागि सबैको पहल जरुरी रहेको बताए। 

उनका अनुसार वीरेन्द्रनगरमा हाल दैनिक ३ सय २० लिटर प्रतिसेकण्ड पानीको माग भए पनि आपूर्ति भने प्रतिसेकेन्ड १ सय ५३ लिटर भइरहेको छ। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागू गर्दै आएको छ। तर, मागबमोजिमको पानी उपलब्ध गराउन भने सकेको छैन। हाल: २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको छ।

कसरी ल्याइँदैछ भेरीको पानी सुर्खेतमा?
भेरी लिफ्टिङ खानेपानी आयोजना पहिलो चरणमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ मिटर गहिरा दुई वटा इन्टेक निर्माण गरिनेछ। इन्टेकदेखि करिब ४०० मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, ७ किलोमिटर पाइपलाइन विस्तारसँगै वीरेन्द्रनगर वडा नं. ११ स्थित अमृतडाडाँमा मुख्य रिजर्भ ट्याकी निर्माण गरिनेछ । पहिलो चरणमै ट्याकीदेखि वीरेन्द्रनगरसम्म मुख्य प्रशारणलाइन विस्तार गरिनेछ।

दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत-जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ। त्यसपछि वितरण प्रर्णाली तथा डिस्ट्रिक मिटर्ड एरियाको बाँकी काम हुनेछ। पहिलो र दोस्रो चरणका लागि करिब ३-३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। भेरीको पानी चार मिटर उचाइमा प्रशोधन ट्याकीमा खसालिनेछ। करिब सात किलोमिटर लामो पाइपका माध्ययमबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्याकीमा पानी खसालिनेछ। ५ सय ५० मिलिमिटर प्रति सेकेण्ड क्षमताको पानी बोक्न सक्ने पाइप अमृतडाँडामा राखेर मुख्य ट्यांकीसम्म विस्तार गरिनेछ। अमृतडाँडामा ३० लाख क्षमताका ३ वटा रिजर्व ट्याकी निर्माण हुनेछन्।

सुर्खेतमा दैनिक २७ लाख लिटर पानी अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले दैनिक १ करोड १० लाख लिटर पानी उपलब्ध गराइरहेको छ। तर, यहाँका १ लाख ५० हजार जनसंख्याका लागि भने यो पर्याप्त छैन। नगरपालिकाको स्थायी र अस्थायी बासिन्ता गरी जम्मा ४ लाख बढी मानिसहरू बसोबास गर्दै आएको अनुमान छ। 

जनसंख्याको चाप दिन प्रतिदिन बढ्दै गइरहेको प्रदेश राजधानीमा पानीको समस्या कुनै दुर्गम गाँउको भन्दा कम छैन। उपत्यका खानेपानी उपभोक्ता संस्थाको तथ्यांक अनुसार वीरेन्द्रनगरमा अहिले नै प्रतिदिन २७ लाख लिटर पानी अपुग छ। गर्मीयाम सुरु भएसँगै दैनिक ४५ लाख लिटर पानी अपुग हुने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको आकलन छ। जनसंख्याको चाप बढेसँगै खानेपानी अभावको समस्या थप चर्को हुँदै जाने देखिन्छ। खानेपानीका अन्य पर्याप्त स्रोत नहुँदा र सुर्खेतमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पुगाउन नसक्दा उपभोक्तालाई समस्या भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.