सहकारी ठग्दै विदेश भागेकाहरू कहिले पक्राउ पर्छन् ?

सहकारी ठग्दै विदेश भागेकाहरू कहिले पक्राउ पर्छन् ?

काठमाडौं : रगत र पसिनाको कमाईबाट दुई/चार पैसा ब्याज आउने आसमा सर्वसाधारणले सहकारीमा पैसा जम्मा गरे। तर, त्यही रकममा केहीको रजाई चल्यो। सहकारी डुबाए, आफू विदेश भागे। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले साउन २१ गते गृह मन्त्रालयलाई लिखित रूपमै निर्देशन दियो– विदेश भागेका सहकारीका सञ्चालक, अध्यक्ष र कार्यकारी निर्देशकहरूलाई उपस्थित गराउनु। तर, उनीहरू अझै पक्राउ परेका छैनन्। 

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले हुलाकमार्फत आफ्नो जवाफ पठाए। अन्य फरार व्यक्तिहरू समितिको सम्पर्कमा आएका छैनन्। नेपाल प्रहरीले भारतमा भएका बाहेक अरू देशमा रहेका नागरिकहरूलाई नेपाल ल्याउन त्यति सहज नदेखिएको बताएको छ। 

देश बाहिर भएकाहरूसँग सोधपुछ भएको छैन 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले देश बाहिर भएकाहरूसँग सोधपुछ गर्न नसकिएको प्रतिक्रिया दिए। ‘गृह मन्त्रालयले देशबाहिर भएका सबैलाई झिकाएर समितिमा ल्याउँछ भन्नेमा हामी आशावादी छौं’, थापाले भने, ‘फरार भएका २४ जनामध्ये एक जनाको हुलाकबाट पत्र प्राप्त भएको बाहेक अरू कोही पनि सम्पर्कमा हुनुहुन्न।’

विशेष समितिले साउन ७ गते गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक सहितको टोलीसँग छलफल गरेको थियो। साउन २१ गते गृह मन्त्रालयलाई विदेशमा फरार भएकाहरूलाई झिकाउन लिखित निर्देशन दिएको थियो। फरार भएकाहरूलाई समयमै ल्याउन पहल गर्ने गृहमन्त्री रमेश लेखक लगायतले प्रतिबद्धता जनाएका थिए। तर, अहिलेसम्म एक जनालाई पनि प्रहरीले समितिमा छलफलका लागि सम्पर्कमा ल्याएको छैन। 

समितिका सभापति थापाका अनुसार इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले हुलाकबाट आफ्नो जवाफ पठाएका छन्। त्यही जवाफलाई समितिले सोधपुछको अंग बनाएको छ। बुधबार रातिसम्म विशेष समितिले ४७ वटा बैठक सम्पन्न गरिसकेको छ। २६ वटा बैठक रायसुझावसँग सम्बन्धित र २१ वटा बैठक सोधपुछसँग सम्बन्धित छन्। समितिले विभिन्न जिल्लाका कारागारहरूमा रहेका व्यक्तिहरूलाई समेत झिकाएर सोधपुछ गरेको छ।

सहकारीको रकम दुरुपयोग र ठगीसँग सम्बन्धित ५० जना व्यक्तिहरूलाई सोधपुछ गरिएको समितिले जनाएको छ। संसदीय छानबिन समितिको इतिहासमा छोटो अवधिमा धेरैपटक बैठक बस्ने सहकारी विशेष छानबिन समितिले गरेको पाइएको छ। गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग रातको १ बजेसम्म सोधपुछ गरेको थियो। उनलाई १२ घण्टासम्म निरन्तर प्रश्न गरिएको थियो। 

nullसहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा जवाफ दिँदै गोर्खा मिडियाका तत्कालीन प्रवन्धक निर्देशक एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने। 

७ सहकारीको १६ अर्ब ठगेर मलेसिया

सहकारी ठगीमा सबैभन्दा धेरै नागरिकहरूको रकम अपचलन गर्नेमा सर्वाधिक चर्चित नाम हो, जितेन्द्रबाबु अर्थात् जीबी राई। उनले विभिन्न जिल्लामा रहेका सातवटा सहकारीहरूमार्फत नागरिकको १६ अर्ब रुपैयाँ ठगी गरेको आरोप छ। तर, राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। उनी अहिले मलेसियामा रहेको सरकारी अधिकारीहरूकै दाबी छ।

राई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था काठमाडौं, सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवल, समानता बचत तथा ऋण सहकारी नेपालगञ्ज, सहारा चितवन बचत तथा ऋण सहकारी चितवन र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको मुख्य योजनाकार पनि उनै जीबी हुन्। यी सहकारीमा आबद्ध हजारौं नागरिकको रकम अपचलन भए पनि कतिपयको बिचल्ली भएको छ। 

परिवारै मिलेर १२ अर्ब ठगे अनि बेलायत गए

ललितपुरको सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक अध्यक्ष भरत महर्जनको परिवारै मिलेर १२ अर्ब अपचलन गरेका छन्। यो सहकारीको ललितपुरको धापाखेल र भक्तपुरको गठ्ठाघरमा छ।

महर्जनसहित उनकी श्रीमती राजमाया महर्जन, छोरा सचिन महर्जन, छोरी सरला महर्जन र ज्वाइँ निमित्तराज श्रेष्ठ मिलेर सर्वसाधारणको रकम दुरुपयोग गरेका हुन्। महर्जनको पाँचै जना परिवार अहिले बेलायतमा छन्। तर, उनीहरूलाई सम्पर्कमा ल्याउने काम प्रहरीले गरेको छैन। 

सबै सम्पत्ति बेचेर रकम फिर्ता गर्छु, सरकारले वातावरण बनाइदिनुपर्‍यो

इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङ र पोखराका संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो र श्रीमती छेला नेपालीको नाममा भएको सबै सम्पत्ति बिक्री वितरण गरेर नागरिकको रकम फिर्ता गर्ने लिखित जानकारी सहकारी विशेष छानबिन समितिलाई पठाएका छन्। त्यसका लागि सरकारले वातावरण मिलाइदिन् उनले आग्रहसमेत गरेका छन्। 

भारतमा रहेका नेपालीले साउन १६ गते हुलाकमार्फत छानबिन समितिलाई पत्र लेख्दै सम्पत्ति बेचेर पैसा फिर्ता गर्न तयार रहेको र त्यसका लागि उचित वातावरण सरकारले मिलाइदिन आग्रह गरेका छन्।

नेपालीले पत्रमा भनेका छन्, ‘काठमाडौंको सुकेधारा, पोखराको सिर्जनाचोक, पृथ्वीचोक, बागलुङको महेन्द्रचोक, बुर्तिवाङको दरबारचोक, तल्लो बजार र पुलचोकमा भएको म र मेरो श्रीमतीको नाममा भएको घर र जग्गा बिक्री गर्दा ३ अर्ब जति मूल्यांकन आउँछ’, उनले लेखेका छन्, ‘मैले कुल फिर्ता गर्नुपर्ने रकम करिब २ अर्ब छ। यी सबै सम्पत्तिको मूल्यांकन गर्दा दसौं गुणा बढी हुन्छन्। स्वतन्त्र मूल्यांकन गर्न पनि मैले समितिलाई आग्रह गर्छु।’

नेपाली ढोरपाटन नगरपालिका बुर्तिवाङका मेयरसमेत हुन्। सहकारीकै कारण आफूले सार्वजनिक जीवन ज्यून नपाएको गुनासो गरेका छन्। उनी त्यस नगरपालिकाको दोस्रो कार्यकालका मेयर हुन्। पटक–पटक बचतकर्ताको रकम फिर्ता गर्ने प्रयास गरे पनि सुरक्षित हुने खालको वातावरण हुन नसक्दा आफू देश छाड्न बाध्य भएको नेपालीले पत्रमार्फत जानकारी गराएका छन्। संघर्ष समितिलाई ६ महिनाभित्र रकम फिर्ता गर्नका लागि पटक–पटक सार्वजनिक प्रतिबद्धता जनाउँदा पनि सरकारले उचित वातावरण नमिलाएको उनको गुनासो छ। 

नेपालीले सहकारी स्थापनाको १२ वर्षको अवधिमा २ अर्ब रुपैयाँ बचतकर्ताको बचत र ब्याज तिरिसकेको समेत जानकारी गराएका छन्। इमेजकै नाममा राष्ट्रिय सहकारी बैंकमा रहेको ९० करोड रुपैयाँ बचत पनि झिकेर बचतकर्तालाई फिर्ता गरिएको नेपालीले बताएका छन्। ‘रकम फिर्ता गर्ने बचतकर्ताको लाइन बढेपछि समस्या निम्तिएको हो’, नेपालीले पत्रमार्फत भनेका छन्, ‘फिर्ता गर्ने तयारीमै थिए तर म र मेरो परिवारलाई ज्यान मार्ने धम्की आउन थालेपछि जीवन जोगाउन घर छाड्न बाध्य भएको हुँ।’

प्रयास जारी छ तर गाह्रो छ

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सहकारीको रकम ठगी गर्ने विदेशमा भएकाहरूलाई झिकाउने प्रयास जारी रहेको प्रतिक्रिया दिए। ‘हामी प्रयासरत छौं’, कुँवरले भने, ‘भारतमा भएकाहरूलाई बाहेक अरू देशमा भएकालाई ल्याउन त्यति सहज देखिएको छैन्।’ उनले कूटनीतिक पहल भइरहेको पनि जानकारी दिए। कुँवरले भारतमा भएका एक जनालाई मात्र सम्पर्कमा ल्याउन सकिएको बताएका छन्। 

पीडितहरू सडकमा  

आफूले बचत गरेको पैसा फिर्ता माग्दा पनि कुनै सुनुवाइ नहुँदा पीडितहरूको बिचल्ली भएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका पीडित एवं संघर्ष समितिका संयोजक विजय नेपालले आक्रोश पोखे। ‘सुप्रिम सहकारी प्रदेश सरकार मातहत पर्छ’, उनले भने, ‘तर, लुम्बिनी प्रदेश सरकारले पीडितहरूको माग सम्बोधन गर्नतर्फ केही काम गरेन्।’ उनले बचतकर्ताहरू प्रदेशको राजधानी देउखुरीमा पुगेर आन्दोलन गरिएको समेत बताए। 

‘जति सडक आन्दोलन गरेपनि सरकारले पीडितहरूको माग सुनुवाइ गर्नेतर्फ केही चासो देखाएको छैन’, नेपाल भन्छन्, ‘यो देशमा सरकार छ कि छैन ? सहकारी पीडितहरूलाई कुनै महसुस भएको छैन।’ रुपन्देही क्षेत्रमा ९ हजार बचतकर्ता भए पनि प्रहरीमा २ हजार ८ सय ३१ जना बचतकर्ताहरूले जाहेरी दिएका छन्। १ अर्ब ३ करोड रुपैयाँ अपचलन भएको नेपालले बताए। 

nullदुई वर्षदेखि आन्दोलनरत सुप्रिम सहकारी बचत तथा ऋण सहकारी संस्था बुटवलका पीडितहरू लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा धर्ना दिँदै। तस्बिर : केशरराज क्षेत्री

पीडितहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। विगत दुई वर्षदेखि दुःख गरेर बचत गरेको रकम फिर्ता माग्नैका लागि सडक आन्दोलनमा उत्रनुपरेको पीडितहरूले गुनासो गरेका छन्।

आफूहरूको आन्दोलन र मागप्रति कुनै पनि राजनीतिक दलहरूले साथ नदिएको संयोजक नेपालले गुनासो पोखे। सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसीसहित ९ जना अहिले फरार छन्। 

बसन्तबहादुर कुँवर
प्रहरी महानिरीक्षक, नेपाल प्रहरी
सहकारीको रकम ठगी गरेर विदेशमा भएकाहरूलाई झिकाउने प्रयास जारी छ। भारतमा भएकाहरूलाई बाहेक अरू देशमा भएकालाई नेपाल ल्याउन त्यति सहज देखिएको छैन। सरकारले कूटनीतिक रूपमा पहल गरिरहेको छ। भारतमा भएका एक जनालाई मात्र सम्पर्कमा ल्याउन सफल भएका छौं। अरूलाई पनि ल्याउने प्रयास निरन्तर चल्छ।
सूर्य थापा
सभापति, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति
गृह मन्त्रालयले देशबाहिर भएका सबैलाई झिकाएर समितिमा ल्याउँछ भन्नेमा हामी आशावादी छौं। फरार भएका २४ जनामध्ये एक जनाको हुलाकबाट पत्र प्राप्त भएको छ। हामी त्यसैलाई सोधपुछको अंग मानेका छौं। साउन २१ गते गृह मन्त्रालयलाई विदेशमा फरार भएकाहरूलाई झिकाउन लिखित निर्देशन दिइएको छ। समितिले अहिलेसम्म ४७ वटा बैठक सम्पन्न गरिसकेको छ। २६ वटा बैठक रायसुझावसँग सम्बन्धित छन् भने २१ वटा बैठक सोधपुछसँग सम्बन्धित छन्। समितिले विभिन्न जिल्लाका कारागारहरूमा रहेका व्यक्तिहरूलाई समेत झिकाएर सोधपुछ गरेको छ। सहकारीको रकम दुरुपयोग र गठीसँग सम्बन्धित ५० जना व्यक्तिहरूलाई सोधपुछ गरिएको छ। 
विजय नेपाल
संयोजक, सुप्रिम सहकारी , पीडित संघर्ष समिति, बुटवल
आफूले बचत गरेको पैसा फिर्ता माग्दा पनि कुनै सुनुवाइ नहुँदा पीडितको बिचल्ली भएको छ। सुप्रिम सहकारी प्रदेश सरकार मातहत पर्छ। तर, प्रदेश सरकारले पीडितहरूको माग सम्वोधन गर्नेतर्फ कुनै चासो देखाएको छैन। बचतकर्ताहरू प्रदेशको राजधानी देउखुरीमा पुगेर पनि सडक आन्दोलन गरेका छौं। दुई वर्षदेखि निरन्तर आन्दोलन गरिरहेका छौं। यो देशमा सरकार छ की छैन ? यदि छ भने किन जनताको पीडामा साथ दिँदैन् ? मकै पोलेर बचत गरेका भुइँमान्छेको बचत ठगी भएको छ। दैनिक गुजारा चलाउने नागरिकको पैसा दुरुपयोग भएको छ। हाम्रो आन्दोलन र मागप्रति कुनै पनि राजनीतिक दलहरूले साथ दिएका छैनन्। सरकार पीडितहरूको मागप्रति संवेदनशील हुनुपर्छ।

कहिले पूरा होलान् पीडितका माग ? 

  • दुई वर्षदेखि सडक आन्दोलनमा बचतकर्ता
  • आफ्नै पैसा माग्न पनि यति कष्ट
  • पीडित सोध्छन्, ‘सरकार छ कि छैन ? ’
  • प्रदेश सरकारले कामै नगरेको गुनासो
  • पीडितको आस सहकारी छानबिन विशेष समितिसँग
  • भदौ २३ मा सकिँदै छ समितिको म्याद
  • तोकिएको मितिमा प्रारम्भिक प्रतिवेदनको तयारीमा समिति
  • परिवारै मिलेर अर्बौं ठगी
  • नेपालमा ठगी, विदेश पुगेर मस्ती
  • सरकारले गरेन कूटनीतिक पहल
  • २४ मध्ये एक जना मात्र आए सम्पर्कमा
  • मकै पोलेका बचतकर्ताको पनि हिनामिना
  • पीडितहरू मानसिक तनावमा
  • न दलको साथ न सरकारको
  • सम्पत्ति बेचेर तिर्छुभन्दा पनि भएन वातावरण

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.