ईभी क्षेत्रमा सांग्रिला मोटर्सले नयाँ प्रविधिलाई नेपाली ग्राहकमाझ चिनाउने काम गर्दै आइरहेको छ।
सांग्रिला मोटर्स प्रालि गोल्छा संगठनको अटोमोटिभ डिभिजन हो। देशमा अटो उद्योगमा समर्पित र पाँच दशकभन्दा बढीको विरासत भएको यस कम्पनीले विद्युतीय सवारी (ईभी) मा पनि आफ्नो स्थायित्व कायम गरिसकेको छ।
युरोपियन र चिनियाँ ब्रान्डका विकसित प्रविधियुक्त चारपांग्रे गाडी नेपाली बजारमा भित्र्याउन कम्पनीले योगदान गर्दै आइरहेको छ। नाडा अटो शो अवसर पारेर सांग्रिला मोटर्सका निर्देशक जय गोल्छासँग गरिएको कुराकानी ।
सांग्रिला मोटर्सले अहिलेसम्म कस्ता–कस्ता ब्रान्डहरू ल्याएको छ ?
१०–१५ वर्षदेखि निजी सवारी सेगमेन्टको व्यापार करिब १५ हजार गोटा पुगेको छ। कोभिड अघिसम्मको अवस्थामा पनि यही नै थियो। तर, अहिले कुल आयातको करिब ६० प्रतिशत हिस्सा विद्युतीय सवारी (ईभी) को छ। बजारको मागअनुसार नै सांग्रिला मोटर्स पनि अघि बढिरहेको छ। सुरुमा सांग्रिला मोटर्सले फ्रान्सेली ब्रान्ड पोजओबाट गाडीको आयात सुरु गरेको हो।
सन् २०१७ मा सांग्रिलाले यसको नेपालका लागि आधिकारिक बिक्रेता हुँदै आयात सुरु गरेको थियो। त्यतिबेला पोजओको प्रिमियम गाडी मात्र भएको भएर यसको व्यापारको भोलुम कम नै थियो। किनभने यसको बजार मूल्य नै १ करोडभन्दा माथि भएकोले व्यापारको भोलुम कम हुने नै भयो।
त्यसपछि २०२३ मा हामीले ईसीथ्री भित्र्यायौं। यो बजेट ईभी हो। त्यसमा व्यापारको भोलुम राम्रो न पायौं। अहिले आएर स्टेलान्टिसले लिप मोटर्ससँग सम्झौता गरेपछि प्रिमियम ईभीतिर पनि लागि रहेका छौं। नेपालको ईभी क्षेत्रमा सांग्रिला मोटर्सले नयाँ प्रविधिलाई नेपाली ग्राहकमाझ चिनाउने काम गर्दै आइरहेको छ।
सांग्रिलाले नेपाली बजारमा भित्र्याएका सवारीको मुख्य विशेषता के के हुन् ?
नेपाली बजारको कुरा गर्दा ईभीमा ५५ देखि ७० लाख भेरियन्ट गाडीहरू बढी लोकप्रिय छन्। कम्प्याक्ट एसयूभीदेखि लार्ज एसयूभीसम्मका यस्ता गाडी पाउन सकिन्छ। अहिलेसम्म भित्रिएका सबै ईभी गाडी १०० किलोवाट क्षमताभित्र पर्छन्। किनभने यसमा सरकारले लगाएको भन्सार शुल्क कम छ। तर, सांग्रिलाले त्यही मूल्यमा बसेर १६० किलोवाट पिकवापरको लिपमोटर सी १० नेपाली बजारमा भित्र्याएको छ।
हाम्रो गाडी ठूलो भए पनि अन्डरपावर भएको महसुस हुँदैन। हामीले मोटर वापरमा सम्झौता नगरी युरोप र चीनमा जस्तो छ, त्यस्तै नै नेपाली बजारमा ल्याएका छौं। ग्राहकहरूले गाडी चलाउँदा त्यो प्रिमियमनेस अनुभव हुन्छ। त्यसदेखि बाहेक चिनियाँ अरू गाडीमा भएको सुरक्षासम्बन्धी विशेषताहरू उस्तै नै छ। टन स्क्रिन सबैको उत्तिकै राम्रो छ। हाम्रो अर्को विशेषता भनेको लेन्थ र विथ वाइज हामी अलि फराकिलो छौं।
ईभीतर्फको आकर्षण बढिरहँदा सांग्रिला मोटर्सको नयाँ योजना के छ ?
भर्खरै लिपमोटर्स सी १० नेपाली बजारमा भित्र्याएका छौं। अब अहिले बजारमा भइरहेका ब्रान्डका अरू मोडल ल्याउने योजना कम्पनीको छ। लिप मोटरको योभन्दा अलि सानो गाडी आउँछ। त्यो बाहेक सिट्रोन भारतमा सार्वजनिक गरेसँगै यहाँ पनि ल्याउँछौं। पोजओ पनि ईभी ल्याउने सम्बन्धमा पेरेन्ट कम्पनीसँग छलफल भइरहेको छ। सम्भवत : २०२५ सम्म पोजओ पनि ईभी नेपालमा भित्र्याउँछौं।
ईभीको बजारमा भइरहेको प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?
प्रतिस्पर्धाको हिसाबले अहिलेसम्म स्वस्थ्य प्रतिस्पर्धा नै छ भन्ने लाग्छ। बजारमा जति धेरै ब्रान्ड आउँछन्, त्यसको फाइदा आखिरमा उपभोक्ताले नै पाउँछन्।
प्रतिस्पर्धी बजारमा आक्रामक रूपमा गइएन भने टिक्न गाह्रो हुन्छ। राम्रो आफ्टर सेल्स सर्भिस दिएन, राम्रो मूल्य राखेन, उपभोक्तासँग राम्रोसँग सम्बन्ध कायम गरेन भने हामी पछि पर्न सक्छौं।
चिनियाँ ब्रान्डप्रति ग्राहकहरूको अभिरुचि कस्तो पाउनु भएको छ ?
केही वर्ष अघिसम्म चिनियाँ सामान भन्नेबित्तिकै ग्राहकहरू माझ विश्वासको वातावरण कम थियो। तर, अहिले नेपालमा मात्र होइन विश्वव्यापी रूपमा नै चिनियाँ ब्रान्ड स्विकारिएको छ। अझ ईभीको सबालमा नेपालका सडकहरूमा चिनियाँ ब्रान्डका सवारी नै बढी देख्न सकिन्छ।
सांग्रिला मोटर्सले ग्राहकहरूको सुविधाका लागि चार्जिङ स्टेसन, वर्कसपलगायत आफ्टर सेल्स सर्भिसमा कत्तिको ध्यान पुर्याएको छ ?
हामीले ईसीथ्री बेच्न थालेको करिब एक वर्ष भयो। त्यो हिसाबमा ईभीको आफ्टर सेल्स सर्भिसमा निकै नै अघि छौं जस्तो लाग्छ। त्यो बाहेक हामीले २ वटा युरोपियन ब्रान्डको पनि प्रतिनिधित्व गरेका छौं। यसका साथै हामीले चाँडै नै ३० वटा फास्ट चार्जिङ स्टेसन स्थापना गर्दैछौं। छलफल हुँदै छ। काठमाडौं बाहिरका डिलरहरूमा फास्ट चार्जिङको कुरा भइसकेको छ।
अटोमोबाइल्स (पेट्रोलियम तथा विद्युतीय गाडी) उद्योगको सम्बन्धमा सरकारले बनाएका नीतिहरू कस्ता छन् ? यी नीतिले आगामी अटो बजार निर्दिष्ट हुन सक्ला ?
नीतिको हिसाबमा ईभी अनुकूल छैन। किनभने सरकार फेरिँदैपिच्छे भन्सार राजस्व चलाइने गरिन्छ। भन्सार सबैभन्दा बढी नै ईभी आयातमा लाग्ने करको दरको हेरफेर एकदम नै हुने गरेको देखिन्छ। यसले गर्दा ईभीमा आकर्षित भइरहेका ग्राहकहरू पेट्रोलियम उत्पादनतिर नै जाने हुन् कि भन्ने आंशका गर्न सकिन्छ।
त्यस कारण हामीले दीर्घकालीन भिजनका साथ योजना बनाउन एकदम नै गाह्रो भइरहेको छ। गाडी यातायातसँगै पूर्वाधारमा पनि धेरै लगानी गर्नुपर्ने हुन्छ। यसले हामीलाई मात्र होइन सबै आयातकर्ताहरूलाई नै असर गरेको छ।
नाडा अटो शोबाट तपाईंहरूको अपेक्षा के हो ? यसले सांग्रिला मोटर्सको बजार विस्तारमा कस्तो प्रभाव पार्न सक्छ ?
हाम्रो बारेमा कुरा गर्नुपर्दा अघिल्लो वर्षको नाडा अटो शो मा ईसीथ्री नयाँ आएको थियो। हाम्रो अपेक्षा प्रडक्टसँगै ब्रान्डलाई चिनाउने भन्ने थियो, त्यो पूरा पनि भयो। यो अटो शोका लागि लिपमोटर सार्वजनिक गरिएको छ। धेरै ग्राहकहरूसँग एकैपटक भेटघाट हुने यो अवसरले यसको ब्रान्डिङमा प्रत्यक्ष प्रभाव पार्छ भन्ने अपेक्षा गरेको छु।
प्रस्तुति : सुनिता कार्की