ईभीमय नाडा अटो शो

अटो उत्सव

ईभीमय नाडा अटो शो

काठमाडौं : नाडा अटो शो २०२४। भृकुटीमण्डप भरिएको छ– नयाँनयाँ ब्रान्डका सवारीसाधनले। जहाँ १ सय ३० स्टलहरूमार्फत मुख्य ९५ प्रदर्शक छन्। २४ वटा चारपाङग्रे ब्रान्ड, १९ वटा दुईपाङ्ग्रे ब्रान्ड, १२ वटा हल्का व्यावसायिक सवारीसाधन ब्रान्डहरू, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू भदौ १६ गतेसम्मका लागि प्रदर्शन भैरहेका छन्। यी कम्पनीहरूबाट नयाँ ब्रान्डका सवारीसाधन धमाधम सार्वजनिक गरिएका छन्। त्यो पनि नाडा शोको विशेष छुट र बम्पर अफरसहित। 

प्रदर्शनमा विभिन्न ब्रान्डका ८० प्रतिशत गाडी (दुईपाङ्ग्रे, चारपाङ्ग्रे) ईभी (विद्युतीय सवारी)कै भएको आयोजकहरू बताउँछन्। यसअन्तर्गत पनि कमर्सियल ईभीहरूले बढी सहभागिता पाएको देखिन्छ। यसअन्तर्गत पनि बढी सिटका गाडी (११, १४, १९ सिट) र बढी ड्राइभिङ रेन्ज (१५० देखि ४०० किलोमिटरको) भएका गाडी छन्। विद्युतीय गाडीकै माग बढी देखिए पनि इन्धनका गाडी (अटो)मा पनि क्रेज भने घटिसकेको छैन। तर तुलनात्मक रूपमा सरकारले ईभी खरिदमा दिएको सहुलियतले पनि आम उपभोक्ताको रोजाइ त्यतातिर तानिएको देखिन्छ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थामार्फत ईभीमा मूल्यको ८० प्रतिशतसम्म र इन्धन सवारीमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन सकिन्छ। यही कारणले पनि पछिल्लो समय बैंकहरूको रेकर्डमै विद्युतीय सवारीको कर्जा अत्यधिक गइरहेको बैंकरहरू बताउँछन्।

प्रदर्शनमा रहेका नबिल बैंकका रिटेल लेन्डिङ युनिटका बिजनेस डेभलपमेन्ट अफिसर विवेक केसी राष्ट्र बैंकको निर्देशनले नै विद्युतीय सवारीमा बढी ऋण लिन पाइने सुविधा भएकाले त्यसतर्फ धेरै आकर्षण भएको सुनाउँछन्। ‘समग्र अटो लोनमै ईभीको हिस्सा बढी छ। ईभीको आकर्षणले गर्दा हामीले पनि २ वर्षदेखि यसैलाई केन्द्रित गरिरहेका छौं। वातावरणप्रति सचेत हुँदै पनि ईभी खरिदमा आकर्षक अटो लोन ल्याइएको हो,’ उनले अन्नपूर्णसँग भने। सो बैंकले ईभीमा पाँच वर्षका लागि ८.२५ प्रतिशत स्थिर ब्याजदर र इन्धन गाडीमा ७ वर्षको लागि ८.४९ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ। 

यसैगरी लक्ष्मी सन्राइज बैंकले प्रदर्शनमा कर्जाका लागि अफर दिएको छ। विद्युतीय गाडीमा जाने कर्जामा अटो शोका लागि बैंकले ८.९९ प्रतिशत ब्याजदर दिएको छ। बैंकले विद्युतीय गाडीका लागि कर्जा लिँदा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने र यो तीन वर्षसम्मका लागि निश्चित ब्याजदर कायम राख्छ। यो कर्जा लिनेलाई एक वर्षसम्म निःशुल्क भिसा एटीएम दिएको छ। सो योजना बैंकका सबै शाखामा मंसिर १५ गतेसम्म लागू हुने बैंकले बताएको छ। मेलामा नबिल र सन्राइजसँगै सानिमा, माछापुच्छ्रे, हिमालयन, एनआईएमबी, कृषि विकास बैंक र महालक्ष्मी विकास बैंक गरेर ७ बैंकले उपस्थिति जनाएका छन्। यी बैंकले पनि सवारी कर्जामा एकल अंकमै ब्याजदर दिएका छन्। तर बैंकले पनि ईभीलाई नै प्राथमिकता दिएका छन्।

छानीछानी दुईपाङ्ग्रे बाइक र स्कुटर

नाडा अटो शोमा ब्रान्डअनुसार अत्यावश्यक प्रयोग गर्ने पारखीका लागि सोही मूल्यअनुसारका बाइक र स्कुटरहरू उपलब्ध छन्। बलियो, टिकाउ र अफरोडमा पुग्ने गजबका बाइक (मोटरसाइकल) पनि राखिएका छन्। ईभीदेखि पेट्रोल दुईपाङ्ग्रे नयाँ लन्च गरिएका छन्। यस्ता सवारीको मूल्य न्यूनतम २ लाखदेखि अधिकतम ७ लाख आसपासमा रहेको देखिन्छ। 

शोको पहिलो दिन सुजुकीले मात्रै थप ३ वटा बाइक लन्च गरेको छ। सुजुकीको बिक्रेता जेन्युुन एसेसरिजका मार्केटिङ प्रमुख समित सिंह सार्वजनिक गरेकामध्ये २५० सीसीको भिस्ट्रोम एसएक्स एडभेन्चर टुरिङ बाइक भएको दाबी गर्छन्। उनका अनुसार कच्ची रोडमा मज्जाले गुड्ने भएकाले यो लामो यात्राको लागि उपयुक्त छ। यसको मूल्य ६ लाख ९९ हजार ९ सय तोकिएको छ। 

यससँगै सार्वजनिक रेसिङ वाइक ‘जिक्सर २५० एसएफ’को मूल्य ६ लाख ३९ हजार ९ सय तोकिएको छ भने जिक्सर २५० को मूल्य ६ लाख ३५ हजार ९ सय हाराहारीमा छ। ‘शोबाट धेरै बिक्री गर्ने अपेक्षा छ। अझ भोलिको दिनमा भिस्ट्रोम प्रडक्सन गर्ने योजना छ। हाल एभेनिस उत्पादन भएरहेको छ। हामीसँग हालसम्म ६ प्रकारका बाइक र ३ प्रकारका स्कुटर गरी कुल ९ आइटम छन्,’ कम्पनीका मार्केटिङ प्रमुख सिंहले अन्नपूर्णसँग भने। 

ईभी स्कुटरका सफल बिक्रेता एथरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा टोयोटा नेपालका निर्देशक सूर्यान्स वैद्य नाडामा पहिलोपटक एथरको प्रडक्ट राखेकाले यसलाई अझै प्रचारप्रसारमा जोड दिने सोच भएको बताउँछन्। एथरका दुई मोडलका स्कुटरलाई प्रदर्शनमा राखिएका छन्। अब एथरको चार्जिङ स्टेसन थप्ने योजनामा भएको उनले जनाए। हाल देशका विभिन्न १५ ठाउँमा मात्रै भएकाले अब थप्ने योजना बनाएको र यसमा एथरका ग्राहकले निःशुल्क चार्ज गर्न पाइरहेको समेत उनले बताए। यो कम्पनीले यस पटकको नयाँ लन्च भने हेलो ब्रान्डको प्रविधि जडान गरेको सुविधायुक्त हेलमेट रहेको छ। हेलोको हेलमेटको प्रशंसा गर्दै भने, ‘यसमा ब्लुटुथ जडान छ। जसले सजिलै फोन उठाउन सकिन्छ। म्युजिक बजाउन मिल्छ। स्कुटरमा बसेका दुवै जनाले प्रयोग गरे माइकको सहाराले कुरा गर्न मिल्छ। कम्युनिकेसनलगायतको सुविधाले भरिपूर्ण र टिकाउ छ।’ 

दुईपाङ्ग्रेमा धेरै चर्चा बटुलेको हिरो ब्रान्डलाई नाडा अटो शोमार्फत ४ वटा मोडलको लन्च गरेको छ।  कम्पनीका सेल्स हेड सूर्य ओझा नेपाली बजारमा विद्युतीय सवारीसाधनको बढ्दो माग, ग्राहकहरूको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले चार विभिन्न नयाँ ब्रान्ड सार्वजनिक गरेको बताउँछन्। सुपथ मूल्यमा सबै स्पेयर्स पाट्र्सको सहज उपलब्ध हुने भएकाले हिरो ब्रान्ड ग्राहकका लागि उपयोगी हुने उनको तर्क छ। उनी भन्छन्, ‘हिरोको सबै प्रडक्टको म्यानुफ्याक्चर भारतमा छ र हामीले पनि नेपालमै एसेम्बल गरेर बेचेका छौं। सबै पाट्र्स सहज उपलब्ध गर्न सक्छौं। मुलुकभर अहिले हाम्रोमा ६५ वटा नेटवर्क छ। अब ३–४ महिनामा २५–३० वटा नेटवर्क बढाउँदै छौं। यसो हँुदा झन् सजिलै हिरोको प्रडक्टहरूको मर्मतलगायतको सुविधा पाइन्छ।’

डेल्टा अटो कर्पका वरिष्ठ बिक्री प्रबन्धक विभव कार्की नाडामा अप्रिला ब्रान्डबाट दुईपाङ्ग्रे स्कुटरलाई लन्च गरेको बताउँदै यो ब्रान्ड वाइक र स्कुटरको क्रस ओभरबाट बनेको बताउँछन्। उनका अनुसार यो दुवैको संयोजनबाट भएकाले यसलाई अफरोड स्कुटरमा पनि राख्न सकिन्छ। ‘यसअघिका प्रडक्ट पनि राम्रो बिक्री गरेको अनुभवले अब यसले पनि बजार तताउने अपेक्षा छ। 

प्रदर्शनीमा सवारीमात्रै होइन विद्युतीय सवारीको नयाँ ब्याट्री स्वापिङ स्टेसनहरूको पनि सार्वजनिक गरिएको छ। यो गोगोरो र नेबुला इनर्जीद्वारा काठमाडौंमा व्यावसायिक सुरुवातको घोषणाँगै ४५ ब्याट्री स्वापिङ गर्ने स्थान र स्मार्ट स्कुटरका तीनवटा मोडेलहरूको अनावरण गरेको छ। उनका अनुसार सहरहरूका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्न, ब्याट्री–स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक र नेबुला इनर्जीले आज पल्स र जेगोको साथ गोगोरोका विशेष प्रडक्ट रेन्जहरू लन्च गरेका छन्। उनका अनुसार गोगोरो स्मार्ट स्कुटरहरू खरिद गर्नेबारे सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन। गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्दछ। प्रयोगकर्तालाई ब्याट्री स्वामित्वको झन्झटबिना नै आफ्नो स्कुटर पावर अप राख्न सजिलो बनाउने उनको भनाइ छ। ‘अब प्रत्येक २–३ किलोमिटरमा एउटा स्टेसनको उपलब्धता सुनिश्चित हुनेछ। स्टेसनहरू रणनीतिक रूपमा पेट्रोल पम्प, मार्ट, मल र ग्राहकहरूको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रहरूमा रहनेछन्,’ उनले अन्नपूर्णसँग भने। 

छुटसहित ब्रान्डका गाडी

मेलामा नेपाली उद्योगले उत्पादन गरेका चारपाङ्ग्रे इन्धन (आइस भेहिकल)गाडीदेखि अन्तर्राष्ट्रिय ब्रान्डका ईभीलगायतका थरीथरीका ब्रान्डले रौनक छाएको छ। विभिन्न २३ प्रकारका नयाँ सवारी लन्च भएका छन्। अहिलेको प्रदर्शनमा पुराना ब्रान्ड गाडीहरूको उपस्थिति भने कमै छ। समग्रमा लन्च भएका मूल्यमै ३ लाख–४ लाख हाराहारीको छुट पनि दिइएको छ। उत्पादनअनुसार स्किम र बम्पर उपहार छन्।

अग्नि ग्रुपका बजार प्रमुख निर्मल श्रेष्ठ केही समयअघि मात्रै लन्च गरेको महिन्द्राको ईभी नाडा शोमा राखिएको र ग्राहकले रुचाइरहेको बताउँछन्। यो सवारीलाई ग्राहकले टेस्ट ड्राइभिङ गर्ने पनि धेरै भएकाले यो उपभोक्ताको रोजाइमा पर्ने उनको भनाइ छ। महिन्द्राको ८ मोडलका गाडी भए पनि प्रदर्शनमा ४ वटा राखिएको छ। उनी भन्छन्, ‘महिन्द्राको पहिचान नेपालमा सय वर्षदेखि छ। हाम्रा सञ्जालहरू पनि बलियो छ। ग्राहकले जसरी स्कारपियोलाई माया गरेका छन्, त्यसैगरी हाम्रा अरू प्रडक्टलाई पनि माया गर्ने आशा छ।’

नाडामा दिपलको बिग ब्यांग अफर दिएको छ। नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितरक, एमएडब्लू वृद्धि अटोकर्प प्रालिले आफ्नो सफल दिपल एस०७ इलेक्ट्रिक एसयूभी तथा भर्खरै बिक्री सुरु गरिएको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानको लागि नाडा अटो सो केन्द्रित ग्राहक स्किम बिग ब्यांग अफर घोषणा गरेको हो। यसका साथै चांगानले नाडा अटो सोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई सात वर्षको लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा आफ्नो बनाउन सक्नेछन्। यो अफमार्फत ग्राहकले नेपालकै सबैभन्दा बढी फिचरले भरिएको दिपल ईभीहरूको अनुभव लिन पाउनेछन्।

जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल प्रदर्शनीमा नेपाल भित्रिएको प्रिमियम एसयूभीमध्ये स्काइवेल सबैभन्दा लामो रेञ्ज दिने सवारी भएको दाबी गर्छन्। उनका अनुसार यसले ६ सय २० किलोमिटर रेन्जको छ। सो ब्रान्डको दुई वटा मोडलका गाडी स्टलमा छन्। प्रदर्शनमा बुक गर्नेलाई मूल्यमा छुट दिएको उनले बताए। 

यस्तै, एमएडब्लू वृद्धि मोटर्स प्रालि बिजनेस प्रमुख प्रशान्त पन्त सयभन्दा बढी देशमा उपस्थिति जनाइसकेको नामी ब्रान्डका ईभी गाडीहरू उत्कृष्ट भएको बताउँछन्। यसको मूल्य कम गरेर अफर गरिएको छ। ‘यसपटक प्रदर्शनमा उक्त ब्रान्डका तीन वटा मोडल सार्वजनिक गरेको छ। ग्राहकलाई गुनासो हुँदैन। लुक्सदेखि सबै फिचर्स अब्बल छ। यो विलासीयुक्त सवारी छ। करोड मूल्यमा पाइने फिचर्स भएको गाडी कम मूल्यमै उपलब्ध गरिएको छ।’ उनले अन्नपूर्णसँग छ। यसैगरी, प्यारामाउन्ट मोटर्स प्रालिको मार्केटिङ प्रमुख सन्दीप क्षेत्री यस पटक एमजी ग्रुपको एक सय वर्ष पुगेको उपलक्ष्यमा सेलिब्रेसन गरिरहेकाले स्किमस्वरूप एमजी जेड एस डिलक्समा मूल्यमा छुट दिएर ४६ लाख ९९ हजार रुपैयाँमा दिइएको छ। यो नाडा र दसैंका लागि अफर दिएको उनले बताए। दिन १ करोड ६८ लाख रुपैयाँबराबरको गाडी बिक्रीमा समेत राखिएको छ।

एसपीजी अटोमोबाइल्स प्रालिका वरिष्ठ प्रबन्धक निलन बज्राचार्य ओमोडा ब्रान्डको ईभी नयाँ भर्जन डिलक्स ५५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको बताए। यससँगै अर्को ओमोडाको एसयूभी सार्वजनिक गरेको छ। नाडाभरी बुक गर्नेलाई प्रडक्टअनुसार १–३ लाख छुट छ। प्रडक्टअनुसार केहीमा बिमा र चार्जर पनि छुट छ,’ उनले भने। प्रदर्शनमा ईभीको भिडमा आइस भेहिकल (इन्धन सवारी) सायद आफूमात्रै भएको बताउँछन् सिजी होल्डिङ्सका एसिस्टेन्ट जनरल म्यानेजर करण शाक्य। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.