डेंगुविरुद्ध सचेत बनौं
वर्षा मौसम भनेको पानीको मौसममात्रै होइन, रोगव्याधिको मौसम पनि हो। वर्षा लाग्यो कि डेंगुकै डर रहन्छ। पूर्वदेखि पश्चिमसम्म के हिमाल, के पहाड, के तराई लामखुट्टेको बिगबिगी छ। डेंगु रोग फैलिई अस्पतालमा बिरामीको चाप बढेको छ। सरकारी स्तरबाट खोज र नष्ट गर अभियान, सचेतना र सावधानी तथा तयारी भए पनि नागरिकहरू बढी सर्तक नभएकाले तथा आफूलाई नपरी नचेत्ने नागरिकको बानीले समस्या निम्त्याइरहेको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि डेंगु संक्रमण असारदेखि बढ्दै गई भदौ र असोजमा उच्च हुने प्रक्षेपण छ। संक्रमितको संख्यामा उतारचढाव भए पनि वर्षायाम लागेदेखि जाडो सुरु नभएसम्म डेंगीको जोखिम कायमै रहन्छ।
सन् २००४ मा १ जनामा देखिएको डेंगु सन् २००५ मा देखिएन र सन् २००६ देखि निरन्तर देखिँदै आएको छ। सन् २०१९ मा महामारी हुँदा १७ हजार ९ सय ९२ जना संक्रमित र ३ जनाको मृत्यु थियो। संक्रमितको संख्या सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४०, सन् २०२२ मा ५४ हजार ६ सय ३०, सन् २०२३ मा ५१ हजार १ सय ४३ मा देखिएको थियो। सन् २०२४ अर्थात माघयता डेंगु संक्रमितको संख्या जुम्ला, हुम्ला र मुस्ताङबाहेक ७४ जिल्लामा ४ हजार ९७ र मृत्यु २ छ। संक्रमणको ४९.१ प्रतिशत गण्डकी र १५.८ प्रतिशत बागमती प्रदेशमा छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेंगुबाट १ सय २८ मुलुकका ३ अर्ब ९७ करोड बढी मानिस जोखिममा छन्। बर्सेनि ५ करोडदेखि १० करोड बढीमा डेंगु संक्रमण हुने गर्दछ जसमा ५ लाख बिरामीमा कडा प्रकृत्तिको डेंगु हेमोरेजिक फिबर वा रक्तस्रावजन्य डेंगु हुने गर्दछ । वार्षिक २२ हजार बालबालिका तथा २४ हजार मानिसको मृत्यु हुने गर्दछ।
मानिसमा डेंगु विषाणुबाट संक्रमित लामखुट्टे एडिस एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट लाग्दछ। कालो रंगको लामखुट्टेमा सेतो थोप्ला वा छिर्केमिर्के रंगको वा बाघजस्तै टाटेपाटे यो लामखुट्टेले टोकेपछि मानिसलाई चिलाउ“छ। यसलाई हुर्कन ५ मिली जमेको पानी र तापक्रम १६ देखि ४० डिग्री भए पुग्छ। दिउँसोमात्र टोक्ने यस लामखुट्टे अप्राकृतिक भाडा, घरभित्र जमेर बसेको पानीजस्तै एसी, कुलर, खानेपानीको ट्यांकी, फूलदानी, गमला, फालेको टायर, मिनरल वाटरको खाली बोतलमा पाइने गर्दछ। सबैभन्दा खतरनाक टायरका हरेक पत्रपत्र वा तहतहमा पानी जम्छ। सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई एसियन टाइगर वा भीआईपी लामखुट्टे पनि भनिन्छ। संक्रमित लामखुट्टेले पारेका फुलबाट उत्पन्न हुने सबै लामखुट्टे जीवनभर संक्रमित रहन्छन्। तर लामखुट्टेबिना मानिसबाट मानिसमा डेंगु सर्दैन।
शरीरमा फलेबी विषाणु समूहमा पर्ने डेंगु विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरस पसेको ५ देखि ८ दिनमा लक्षणहरू देखिन्छन्। ज्वरो, बिमिरा र टाउको वा शरीर दुख्ने डेंगुको त्रिभुज हुन। मांसपेशी र हड्डीमा निकै पीडा हुने भएकाले ब्रेक बोन वा लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिन्छ। डेंगु रोग तीन दिनमै नरम हु“दै जाने भएकोले यसलाई तीनदिने ज्वरो पनि भनेको देखिन्छ।
एक्कासि चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आ“खाको पछाडिको भाग दुख्ने, खुट्टा मांसपेशी, हाड, ढाड र जोर्नीहरू दुख्न थाल्छ। डेंगु भनेकै दुखाइभन्दा फरक नपर्ने भएको छ। शारीरिक दुखाइ कम गर्न धेरैले फलेक्सन वा ब्रुफेन तथा एस्प्रिन औषधिको सहारा लिँदा झनै जोखिम बढछ। शरीरमा रातो बिबिरा, वाकवाकी, बान्ता पनि लक्षण हुन्। मुटुको चाल कम, मानिस चिन्तित, छालामा राता दाना, बिबिरा, फोका र डाबर देखिन्छ र क्रमशः हराउ“छ। नाक, गिजा, योनि र आन्द्राबाट रक्तस्राव हुने गर्दछ।
चार प्रकारको डेंगु विषाणुको संक्रमणपश्चात् लक्षण नदेखाउने वा छुट्ट्याउन नसकिने ज्वरो, डेंगु ज्वरो (डीएफ), डेंगु हेमोरेजिक ज्वरो (डीएचएफ) स“गै रगतको प्लाज्मा बाहिरिएर हाइपोभोलिमक सक डेंगु सक सिन्ड्रोम (डीएस एस) प्रकारको हुन सक्छ। डेंगु विषाणु संक्रमणको कडा रूपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तस्रावका लक्षण देखा पर्दछन् जसलाई डीएचएफ भनिन्छ। रक्तस्राव भई रक्तस्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, पेट दुख्ने, ढाड दुख्ने, मुख नीलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पार्न सक्दछ। जीवन्त तन्तुमा असर परी डीएसएस– सक हुन सक्छ। कलेजो बेकम्मा भई जन्डिस हुने, वंशानुगत मुटु रोग, थ्यालेसेमिया तथा दिमागको सुजन र इन्सेफेलोप्याथी हुन सक्छ।
उपचार
डेंगु विषाणुको संक्रमणबाट हुने रोग भएकोले रामवाण वा जादुको छडी झै तुरुन्तै ठीक पार्ने औषधि छैन। यसको उपचार लक्षणको आधारमा गरिन्छ। एस्प्रिन र बु्रफिनजस्ता औषधि सेवन गर्नु हुँदैन। प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खाँदा र छिट्टै उपचार गर्दा लक्षणमा कमी आउनुका साथै रोगका जटिलता र हुने मृत्युलाई १० प्रतिशतभन्दा कम गर्न सकिन्छ। क्लासिक डेंगु सामान्य प्रकारको हो र आफैं निको हुन्छ। यदि डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यु हुन्छ।
खोप
डेंगुको खोपले डेंगुको जटिलता ९० प्रतिशतले कम, अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ। विकसित देशमा उपलब्ध भए पनि हामीकहा“ किफायती छैन। भारतको अजय बायोटेकले निर्माण गरेको डेंगु फैलाउने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने बायोडेट एम कीटनाशक औषधि छ। लार्भाले खाएर मृत्यु हुने तथा अन्य जीव र मानिसलाई हानि नगर्ने बताइन्छ। हरेक १५ दिनमा छर्किन सकिन्छ।
अन्त्यमा, हरेक २० जना संक्रमितमध्ये एक जनालाई जटिलता हुन सक्ने र मृत्युदर १ देखि २ प्रतिशत देखिन्छ। गर्भवती, साना बच्चाहरू र दोहोरिएर भएको संक्रमणमा जटिल समस्या आउन सक्छ। सरकारले कार्ययोजनासहित प्रतिकार्य, निगरानी तथा स्वास्थ्य शिक्षा र सचेतनाका कामहरू गरिरहेको छ।
आम नागरिकले पनि कार्यस्थललाई शुक्रबार र परिवारलाई शनिबार १० बजे एक घण्टा छुट्याएर आफ्नो कार्यस्थल, घरभित्र र बाहिर लामखुट्टेको फुल पार्ने ठाउँलाई खोजौं र नष्ट गरौं भन्ने अभियान चलाउन सकेमात्र डेंगु नियन्त्रण गर्न सकिन्छ। डेंगु सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकोले, त्यसबाट जोगिनु र लामखुट्टेको निर्मूल गर्र्नु नै रोकथाम हो।
(डा. बुढाथोकी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन्।