अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै
परराष्ट्रमन्त्री आरजुले भनिन् - ओलीजीले महिला प्रधानमन्त्रीको राम्रो कल्पना गर्नुभयो
धनगढी : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले महिला प्रधानमन्त्रीको कुरा नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताका लागि बोलेको हुनुपर्ने बताएकी छन् । बिहीबार धनगढीस्थित देउवा निवासमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले यस्तो प्रतिक्रिया दिएकी हुन् । काठमाडौंमा गत शनिबार आयोजित युवासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए।
‘महिला प्रधानमन्त्रीको कुरा ल्याइ दिएकोमा ओलीजीलाई धन्यवाद । यसले एउटा तरंग त ल्यायो तर, उहाँले मलाई प्रधानमन्त्री बनाउने कुरा गर्नु भएको होइन,आफ्नै पार्टीको महिलाका लागि होलाजस्तो लाग्छ’ देउवाले भनिन्।
उनले आफ्नो पार्टीभित्रको हैसियत आफूलाई थाहा भएको पनि बताइन । ‘नेपाली कांग्रेस ‘डिसिप्लेन’ मा चल्ने पार्टी हो । बाहिरबाट हेर्दा एउटा देखिएला तर, मलाई मेरो पार्टीभित्रको हैसियत कति छ ? मलाई थाहा छ । प्रधानमन्त्री बन्न संसदीय दलको नेता पनि बन्नुपर्छ । त्यो राम्रो कल्पना हो । प्रधानमन्त्री ओलीजीलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु किनकी उनले नेपाली समाजको एउटा राम्रो ‘इम्याजिनेस’गर्नु भएको छ,'परराष्ट्र मन्त्रीले भनिन् ।
उनले कांग्रेसको अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै रहेको बताइन् । परराष्ट्रमन्त्री राणाले भनिन्,‘हाम्रो पार्टीबाट अबको प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा नै हो । एमाले र कांग्रेसबीच सहमति नै भएको छ नि,दुई वर्ष ओलीजीले चलाउने।'
उनले आफ्नो भारत भ्रमणका क्रममा पश्चिमको महाकाली नदीमा दुईवटा पक्की पुल निर्माण गर्नेबारे छलफल भएको पनि जानकारी दिइन्। ‘बैतडीको झुलाघाट र डेडेल्धुराको परसुराममा पक्की पुलका लागि मोदी जिलाई भनेको छु। उहाँले आफ्नो उत्तराखण्ड राज्यको सरकारसँग कुरा गर्छु भन्नुभएको छ,'देउवाले भनिन्।
उनले कैलालीको गेटामा उपकरणका लागि बजेटमा पुनरावलोकन हुने बताइन् । ‘कैलालीको गेटामा बनिरहेको मेडिकल कलेजको पूर्वाधार बनिसकेको छ । डाक्टरहरूको टोली आएर बजेट कम भयो पनि भन्नुभएको छ । उपकरणहरूका लागि यसपालिको बजेटमा पुनरावलोकन गरिनुपर्छ,म त्यसमा प्रयास गर्नेछ,' देउवाले भनिन्।
उनले देशमा संकट पर्दा एमाले र कांग्रेस मिलेको इतिहास रहेको बताइन् । ‘देशमा जबजब संकट आउँछ,तबतब कांग्रेस र एमाले मिलेर देशलाई अगाडि बढाउँछन्,चाहे त्यो जनआन्दोनका बेला होस्,चाहे शान्ति प्रक्रियाका बेला होस,'देउवाले भनिन् ।
मन्त्री राणा बुधबार गौरा बिसर्जनका लागि धनगढी आएकी हुन् । उनले बुधबार नै गौरीको पुजन गरि बिसर्जन गरिसकेकी छन् । परराष्ट्रमन्त्री देउवा आजै काठमाडौं फर्किसकेकी छन्।