नियमविपरीत विद्यार्थी बोक्ने धरानका स्कुल बस कारबाहीमा
धरान : नियमविपरीत विद्यार्थी बोक्ने धरान उपमहानगरपालिकाका स्कुल बस कारबाहीमा परेका छन्। स्कुल बसमा साना साना विद्यार्थीहरूलाई समेत उभ्याएर स्कुल लगेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले कारबाही गरेको हो।
नाबालिक विद्यार्थीहरूको सुरक्षालाई लापरबाही गरी सिटमा नराखी उभ्याएर बसमा यात्रा गराएको कारण एक सराकारी र तीन निजी स्कुल बसलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले जानकारी दिएका छन्। ट्राफिक नियम विपरीत विद्यार्थी बोक्ने धरानको सरकारी विद्यालय पब्लिक उच्छ मावि तथा निजी विद्यालय सियोन स्कुल, डिपोट स्कुल र बिजयपुर स्कुलका बसलाई कारबाही गरिएको उनले बताए।
नियमविपरीत स्कुल बसमा विद्यार्थी बोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाईसमेत विद्यार्थीहरूको सुरक्षामा लापरबाही नगर्न र उनीहरूको सुरक्षामा उच्च सतर्कता अपनाउन सचेत गराइएको प्रहरी निरीक्षक केसीले बताएका छन्।