नेपाल बंगलादेश र श्रीलंका बन्ने प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउँदै गगन थापाले भने- उत्तेजनाले तपाइँलाई पनि जलाउँछ
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकछिनको लाभको लागि उत्तेजनाको राजनीति नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुझाव दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुनसक्ने दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एकछिनको लाभको लागि उत्तेजनाको राजनीति नगर्न सुझाव दिए। उनले एकछिनको लाभको उत्तेजनाले आफैंलाई जलाउनसक्ने बताए।
प्रतिपक्षी दल समग्र प्रणालीको नभई सरकारको मात्रै प्रतिपक्षी भएको भन्दै थापाले प्रतिपक्षी दलले आफ्नो क्रियाकलापप्रति गम्भीर हुनुपर्ने बताए। उनले सहकारी ठगी प्रकरणमा आफूहरूकै कारण छानबिन समिति गठन भएको र प्रमाण पनि दिएको बताए। जसका कारण ९ मिनेटमा स्पष्ट पार्ने दाबी गरेका रवि लामिछानले छानबिन समितिमा ९ घण्टासम्म बयान दिनुपरेको उनले टिप्पणी गरे।
छानबिन समितिप्रति आफूहरूको पूर्ण विश्वास रहेको भन्दै थापाले तथ्य र प्रमाणको आधारमा फैसला आउने दिन कुरेर बसेको बताए। त्यस्तै थापाले नीतिगत निर्णयका आधारमा भ्रष्टाचारीलाई जोगाउने काम कुनै हालतमा स्वीकार्य नहुने बताए।